आदर्श सञ्चार म्याग्दी
म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई निमन्त्रण दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको टोली अहिले सक्रिय भएको छ । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको टोली अहिले एसईईपरीक्षा सञ्चालन भएका केन्द्रमा पुगेर निमन्त्रण गर्ने गरेका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियनका नवनिर्वाचित सचिव मञ्जुर कटुवालको नेतृत्वमा विद्यार्थी टोली एसईई परीक्षा केन्द्रमा पुगेर परीक्षा हलबाट बाहिर निस्कने विद्यार्थीहरुलाई क्याम्पसमा पढ्न आउन निमन्त्रणा दिएका हुन् ।
म्याग्दी क्याम्पसको शैक्षिक क्यालेण्डर सहित पुगेका स्ववियु टोलीले विद्यार्थीहरुलाई क्यालेन्डर दिनुका साथै क्याम्पसको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा समेत बताउने गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको टोलीले परीक्षा हल सम्म पुगेर विद्यार्थीहरुलाई क्याम्पसको बारेमा जानकारी गराउने र क्यालेण्डर तथा ब्रोसर दिने कार्यमा क्याम्पसका प्राध्यापकहरुले पनि सघाएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।
म्याग्दी क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षा संकायमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न सकिने समेत उहाँको भनाइ छ ।