आदर्श सञ्चार, म्याग्दी
उपचारका लागि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा ल्याइएका सात कुकुरको मृत्यु भएको छ । केन्द्रमा उपचारका लागि ल्याइएका एक सय ५० कुकुर मध्ये सातको मृत्यु भएको हो ।
उपचारका लागि आएका अधिकांश कुकुरमा पार्वो रोग सँग मिल्दो जुुल्दो लक्षण देखिएको छ । पछिल्लो समय दिनमा १० भन्दा बढी कुकुरहरु उपचारका लागि आउने गरेकोमा अधिकांशमा पार्वोकै संक्रमण जस्तै लक्षण देखिने गरेको हो । पार्वो रोगको ठ्याक्कै उपचार नभए पनि कुकुरमा देखिने लक्षणको आधारमा औषधोउपचार गर्दा निको हुने तथा कम हुने भएकोले त्यही रोग भएको अस्पतालले भन्ने गरेको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पशु सेवा प्रावाविधिक गणेशप्रसाद सुवेदीका अनुसार अहिले अस्पतालमा म्याग्दीको बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाबाट उपचारका लागि आउने गरेका छन् । त्यस्तै पर्वतको जलजला गाउँपालिकाबाट पनि कुकुरको उपचारका लागि आएको उहाँको भनाई छ । मौसम परिवर्तन सँगै रोगको प्रकोप बढेको र अहिले पछिल्लो एक महिना हाराहारीमा उपचारकै क्रममा ७ वटा कुकुर अस्पतालमै मरेको उहाँको भनाई छ ।
हाल सम्म भेटेरीनरी अस्पतालले एक सय ५० हाराहारी उपचार गरेको र ७ वटा कुकुर अस्पतालमै मरेको भए पनि कुकुरको मृत्यु धेरैभएको हुन सक्ने अस्पतालले जनाएको छ । घर फर्केपछि मरेकाहरुले अस्पतालमा जानकारी नगराउने भएकोले मृत्युको संख्या एकिन नभए पनि अस्पतालमै मरेको संख्या हेर्दा पनि मृत्युको संख्या धेरै भएको हुन सक्ने अनुमान लगाउन सकिने प्राविधिक सुवेदीले बताउनुभयो ।
पार्वाेको सङ्क्रमण भएका कुकुरमा खान मन नलाग्ने, पखाला लाग्ने, रगतमासी पर्ने जस्ता लक्षण देखापर्ने अस्पतालले जनाएको छ । कुकुरमा यो भाइरसको सङ्क्रमण भएमा, झोक्राएर कुनामा बस्ने, अल्छी हुने, कमजोर हुने, पटक पटक बान्ता र पातलो तथा गन्हाउने दिसा गर्ने जस्ता लक्षण देखिन्छन् ।
पार्वाे भाइरस सङ्क्रमण भएपछि अत्यधिक झाडापखाला भई डिहाइड्रेसनको कारणले कुकुरको मृत्युसमेत हुने हुँदा हेलचेक्राइँ नगरी तुरुन्त उपचार गर्नु पर्ने पशुस्वास्थ्य विज्ञको भनाई छ ।