आदर्श सञ्चार, बागलुङ
पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलन गर्ने भएको छ । शनिवार महासंघको ७० औ स्थापना दिवसको कार्यक्रमलाई सांकेतिक विरोध कार्यक्रम गरी मनाएको महासंघको केन्द्रीय कार्यसमितिको आकष्मिक वैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
शुक्रवार काठमाडौंमा प्रदर्शनकारीले आगलागीमा पारी पत्रकार रजकको हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो ।
सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले जनाएको छ ।
घटनाको विरोधमा आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न महासंघले आह्वान गरेको छ ।
सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
आक्रमणमा परेका सञ्चारगृहमा गएर स्थलगत अवलोकन तथा निरीक्षण गर्ने, घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, पत्रकार सुरेश रजक कार्यरत रहेको सञ्चार संस्थालाई समेत उनको परिवारलाई राहत तथा क्षतिपूर्ति, सेवासुविधा भुक्तानी लगायतका विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शुक्रवार भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न महासंघका उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरुमा सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन रहनु भएको छ ।