आदर्श सञ्चार, म्याग्दी
म्याग्दी उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई आर्थिक सहयोग गरेको छ ।
३१ औं वार्षिक साधारण सभाको अवसरमा पत्रकार महासंघलाई ५० हजार सहयोग गरेको हो । गतको पुसको २८ देखि माघ ८ सम्म संचालन भएको म्याग्दी महोत्सवको आयव्यय सार्वजनिक गर्नुका साथै विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
बेनीबजारस्थित खुलामञ्चमा आयोजना गरिएको १०औं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलामा प्रवेश टिकट बिक्रीबाट प्राप्त आम्दानीमध्ये सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको संघका महासचिव नारायण जिसीले बताउनुभयो ।
टिकटबाट भएको आम्दानीबाट नेपाल पत्रकार महासंघलाई ५० हजार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल म्याग्दीलाई ३५ हजार र नेपाल बाल सङ्गठनलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
व्यवसायी हितकोषबाट गएको १ वर्षको अवधिमा क्षति बेहोरेका उद्योगी, व्यवसायी तथा आफन्त गुमाएका संघका सदस्यहरुलाई पनि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
म्याग्दी बहुमुखी क्याम्पसको बिबिएसतर्फ उत्कृष्ट अङ्कसहित स्नातकोत्तर तह उत्तीर्ण हुन सफल पर्वतको जलजला गाउँपालिका–२ निवासी राजेश कार्की र म्याग्दीको बेनी नगरपालिका–६ निवासी सुष्मा उपाध्याय पौडेललाई पाँचपाँच हजार रुपियाँसहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो ।
साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले संस्थागत, महासचिव नारायण घर्ती क्षत्रीले प्रगति र कोषाध्यक्ष सुमन श्रेष्ठले गएको आवको आयव्यसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बेनी नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा व्यावसायिक कर सङ्कलनको कार्य अगाडि बढाइएको बताउनुभयो ।