राङ्खानीमा नागरिकसँग अन्तरक्रिया

आदर्श सञ्चार, बागलुङ
जैमिनी नगरपालिका-१० राङ्खानी वडा कार्यालयको आयोजना र लेखन नेपाल मिडिया प्राली बागलुङको आयोजनामा राङ्खानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रीप्रसाद थापाले राङ्खानीको विकासमा नागरिकको सहभागिता र सुझावका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयोनुभयो ।

‘हामीले आफ्नो पक्षबाट राम्रै काम गरिरहेको छौं जस्तो लाग्छ, तर हामीले गरेको कामप्रति नागरिकको बुझाई कस्तो छ, गुनासो र सुझावहरु छन् कि भनेर नै हामीले यो कार्यक्रमको आयोजना गरेका हौं,’उहाँले भन्नुभयो ।
उहाँले नागरिकको सुझाव सल्लाह अनुसार वडाले सम्पादन गर्ने कार्य र योजनाहरुलाई अझ प्रभावकारी बनाएर अगाडि लैजाने बताउनुभयो । कार्यक्रममा वडा कार्यालयले सम्पादन गरेको काम र योजनाको बारेमा वडा सचिव सुरेश ओलीले जानकारी गराउनु भयो ।

कार्यक्रममा स्थानीय नागरिक नरबहादुर श्रीसले वडामा व्यवसायी दर्ता गर्न वडाले चासो राख्नुपर्ने, योजना र कार्यक्रमहरुमा सबैलाई समेट्नुपर्ने बताउनुभयो । टिकाराम आचार्यले पानीको मुहान मर्मत हुन नसकेको गुनासो गरे । जयराम आचार्यले टोल समितिले निर्धारण गरेको योजना वडा कार्यालयले कार्यान्वयन नगरेको गुनासो गरे । हिउँदमा खनिएको बाटो बर्खामा थुनिने समस्या रहेको बताउनुभयो ।

उहाँले डोके व्यापारीहरुका कारण आफुहरुलाई अप्ठ्यारो परेको र व्यवसायीको वर्गीकरण नभएको गुनासो गर्नुभयो । उहाँले उपभोक्ता समितिमा गैरजिम्मेवार व्यक्तिहरु बस्ने र पेश्की लिने तर काम नगर्ने समस्या देखिएको बताउनुभयो ।

स्थानीय छबिलाल श्रीसले हाँडीकोट सामुदायिक वनमा रुख मासिएको कारण खोजे । कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको वडाध्यक्ष थापा र सचिव ओलीले जवाफ दिएका थिए । लेखन नेपाल मिडिया प्रालीका अध्यक्ष विजय रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नवराज नेपालीले गरेका थिए ।

सोही अवसरमा स्थानीयहरुलाई नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढा मगरले भाषण कला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने कोषाध्यक्ष खेमराज गौतमले स्थानीय तहमा सञ्चारको भूमिका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *