सबै पालिकामा सहकारी दिवस मनाउन जिल्ला संघ बागलुङको आग्रह

आदर्श सञ्चार, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्लाका १० वटै पालिकाहरुलाई ६८ औं राष्ट्रिय सहकारी दिवस प्रभावकारी रुपमा मनाउन आग्रह गरेको छ ।

स्थानीय तह अन्तरगतका सहकारी संस्थाहरुका बीचमा रचनात्मक, सिर्जनात्मक तथा सन्देशमुलक कार्यक्रम गरी दिवस मनाउन सबै पालिकाहरुलाई आग्रह गरिएको संघले जनाएको छ ।

संघको सञ्चालक समितिले गरेको निर्णय अनुसार १० वटै पालिकाहरुमा पुगेर सहकारी दिवस मनाउन आग्रह गरिएको संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

संघको टोलीले आइतवार ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र निशीखोला गाउँपालिकामा पुगेर दिवस मनाउन आग्रह गरेको छ ।

आइतवार संघका अध्यक्ष हुमा कुमारी जिसीले ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल विक, गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमलाई सहकारी दिवस मनाउन आव्हान गरिएको पत्र बुझाउनु भएको थियो ।

निसीखोला गाउँपालिकाका सहकारी शाखा प्रमुख भक्ति रेग्मीलाई संघका सल्लाहकार चण्डीप्रसाद शर्माले पत्र बुझाउनु भएको थियो । निसीखोला गाउँपालिकाले चैत २० गते सहकारी दिवस मनाउने तयारी गरेको सल्लाहकार शर्माले जानकारी दिनुभयो ।

सहकारीका सञ्चालक तथा व्यवस्थापनका कर्मचारीलाई जिम्मेवार बनाउन, सदस्यहरुलाई सचेत बनाउन तथा सहकारीमार्फत समुदायको आर्थिक उन्नतीमा योगदान गर्नका लागि स्थानीय तहले समन्वकारी भूमिका निर्वाह गर्नका लागि संघले नियमित समन्वय गर्दै आएको अध्यक्ष जिसीले जानकारी दिनुभयो ।

सदस्य संघ संस्थाहरुलाई पनि आ–आफ्नो स्थानीय तहमा समन्वय गरी सहकारी दिवस मनाउन, सहकारी शिक्षा तालिमहरु सञ्चालन गर्न सुझाव दिएको संघका सचिव तेज प्रसाद शर्माले बताउनुभयो ।

जिल्ला सहकारी संघ बागलुङले ६८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा भेटौ सदस्य अभियान सञ्चालन गर्नुका साथै १० वटै पालिकामा पुगेर सहकारी दिवस मनाउन आग्रह गर्ने, सदस्यहरुलाई सक्रिय बनाउन संघ संस्थाहरुलाई सुझाव दिनुका साथै चैत २० गते बागलुङ बजारमा बृहत प्रभातफेरी सहित मुख्य समारोह गर्न लागेको सचिव शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

2 thoughts on “सबै पालिकामा सहकारी दिवस मनाउन जिल्ला संघ बागलुङको आग्रह

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *