आदर्श सञ्चार, बागलुङ
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङले भेटौ सदस्य अभियान शुरु गरेको छ । संघमा आवद्ध सदस्य सहकारी संघ संस्थामा पुगेर संस्थाका पदाधिकारीहरुसंग सहकारीको पछिल्लो अवस्था, सञ्चालक र व्यवस्थापनको भूमिका थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न शुरु गरिएको संघले जनाएको छ ।
राष्ट्रिय सहकारी महासंघले भेटौ सदस्य अभियान सञ्चालन गर्न देशभरका संघ संस्थाहरुलाई आव्हान गरेको छ, सहकारी अभियानलाई राम्रो बनाउनका लागि सदस्यहरु सचेत हुनुपर्छ, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसीले भन्नुभयो,–‘सदस्यहरुको समस्या बुझ्न तथा थप प्रभावकारी योजना बनाउनका लागि भेटौ सदस्य अभियान शुरु गरेका छौ ।’
संघको सञ्चालक समितिले सहकारी दिवसको सन्दर्भ पारेर भेटौ सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरे अनुरुप आइतवार ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाका केही सहकारीहरुमा पुगेर छलफल गरिएको संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।

संघको टोलीले आइतवार ताराखोला गाउँपालिका वडा नं. ४ स्थित ताराखोला वचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नंं ३ स्थित जन एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेड, गलकोट नगरपालिका वडा नं. ५ स्थित गलकोट वचत तथा ऋण सहकारी संस्था लिमिटेड र बडिगाड गाउपालिका वडा नं. २ स्थित दिदी बहिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुगेर छलफल गरेको थियो ।
छलफलका क्रममा संस्थाका पदाधिकारी तथा प्रवन्धकहरुले पछिल्लो समय सहकारीको ऋण असुली र लगानीमा समस्या रहेको बताउनु भएको थियो । सदस्यहरुका बीचमा राम्रो कारोबार गरेका छौ, सदस्यहरुको साह्रो गाह्रोमा सहकारीले सदैव साथ दिदै आएको छ, हाम्रो संस्थामा कुनै समस्या छैन, तर बजार क्षेत्रका केही सहकारीहरुमा देखिएको समस्याको असर आफुहरुलाई पनि परेको संस्थाका प्रवन्धकहरुले बताउनुभयो ।

पछिल्लो समय सहकारीबाट ऋण लगेकाहरुले ऋण तिर्न आलटाल गर्ने, सहकारीप्रति नकरात्मक प्रचार गर्ने लगायतका गतिविधि नियन्त्रणका लागि स्थानीय तह, प्रदेश तथा संघ सरकार र अभियानको प्रभावकारी भूमिका हुनु पर्नेमा संस्थाका पदाधिकारी तथा प्रवन्धकहरुको सुझाव रहेको छ ।
सहकारीप्रति देखिएको नकरात्मक धारणामा परिवर्तन ल्याउनका लागि सदस्यहरुसंग नियमित भेटघाट गरी यथार्थ अवस्था जानकारी गराउन तथा अन्य सरोकारवालाहरुसंग समेत नियमित परामर्श गर्न संघको टोलीले संस्थाका पदाधिकारीहरुलाई सुझाव दिएको छ ।

सहकारी सम्बन्धी अध्यादेशले सहकारीलाइ पनि कर्जा सूचना केन्द्रमा जोडेकोले अबका दिनमा सहकारीका ऋण नतिर्नेहरु कालो सूचिमा पर्ने बारेमा टोलीले संस्थाका पदाधिकारीहरुलाई जानकारी गराएको थियो ।
दिदी बहिनी वचत तथा ऋण सहकारी संस्था बडिगाडका अध्यक्ष विष्णु माया अर्याल, ताराखोला वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रण बहादुर पाण्डे, जनएकता वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक अमर प्रसाद न्यूरे, गलकोट वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक चेत नारायण अर्यालले संस्थाको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुका साथै सहकारी अभियानका सकारात्मक विषयहरुलाई आम समुदायका बीचमा लैजानका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।
जिल्ला सहकारी संघले यस वर्षको सहकारी दिवसमा भेटौ सदस्य अभियान अन्तरगत सदस्य संस्थाहरुसंग भेटघाट गरी संस्थाहरुको अवस्था र आगामी योजनाका बारेमा छलफल गर्ने, सहकारीहरुलाई आफ्ना सदस्यहरुलाई नियमित भेट्न तथा उनीहरुका सल्लाह सुझाव लिन आग्रह गर्न शुरु गरेको छ ।
संघले जिल्लाका १० वटै पालिकाहरुलाई सहकारी दिवस प्रभावकारी रुपमा मनाउन, पालिका भित्रका सहकारी संस्थाहरुका लागि नियमित प्रशिक्षण प्रदान गर्न, अनुगमन गरी सल्लाह सुझाव दिन आग्रह गरेको छ ।