आदर्श सञ्चार, म्याग्दी
गत वर्ष माघ ११ गते भएको सामुहिक झडपमा घााइते भएर उपचारका क्रममा मृत्यु भएका सुशील गर्बुजाको हत्या आरोपमा थुनामा रहेका १४ जना विरुद्ध कसुर कायम भएको छ ।
जिल्ला अदालत म्याग्दीका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजालसले कसुर कायम गर्दै सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको हो । आइतबार जिल्ला अदालतमा पेसी रहेको उक्त मुद्दामा कसुर कायम गरेर सजाय निर्धारणका लागि चैत २७ गतेको मिति तय भएको जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।
२०८० माघ ११ गते रघुगंगा गाउँपालिका १ बेगखोला घर भै बेनी नगरपालिका ८ बस्ने २१ वर्षिय सुशील गर्बुजाको समूह र धौलागिरी गाउँपालिका ४ मुदी घर भै बेनी नगरपालिका ७ बस्ने २१ वर्षिय अमृत पुर्जाको समूह बीच झडप हुँदा धारिलो हतियार प्राहारबाट सुशील गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि बेनी अस्पताल पुगाउँदा उहाँलाई अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । सुशीलकी आमा रमायाँ गर्बुजाले माघ १२ गते प्रहरीमा १७ जना बिरुद्ध जाहेरी दिनुभएको थियो ।
उजुरी पछि गिरफ्तार भएकाहरुको हकमा कसुर कायम भएको र फरार रहेका २ जनाको हकमा मुद्दा मुल्तबीमा रहेको जिल्ला अदालत म्याग्दीले जनाएको छ । २०८० माघ ११ गते भएको घटना पछि अनुसन्धान पश्चात २०८० फागुन ३ गते विभिन्न एक सय ४९ प्रकारका कागजातलाई प्रमाणका आधारमा राख्दै १८ वर्ष भन्दा कम उमेर भएका ७ जना बिरुद्ध ज्यान सम्बन्धी कसुर अन्तरगत कर्तव्य ज्यान शिर्षकमा जिल्ला सरकारी वकिल कार्याँलयले जिल्ला अदालत म्याग्दीमा आभियोजन गरेको थियो ।
त्यस्तै एक सय २७ प्रकारका प्रमाणहरु सहित १८ वर्ष भन्दा माथि उमेरका १०जना बिरुद्ध फागुन ६ गते जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका तत्कालिन जिल्ला न्यायाधिवक्ता खेमराज पाठकले अभियोजन दर्ता गराउनु भएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा १ बमोजिम जन्मकैद माग गर्दै अभियोजन दर्ता भएको थियो ।