आदर्श सञ्चार दोहा,कतार
कतारमा रहेका नेपाली समुदायलाई खेलमार्फत एकताबद्ध गर्दै स्वस्थ्य जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कतारमा जिल्ला स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको छ ।
पर्वत समाज कतारको आयोजना, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार खेलकुद विभागको सहकार्यमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आइतबार रातीदेखि भलिबल प्रतियोगिता सुरु गरिएको हो ।
कतारको सानिया ५२ लेफ्ट साईड स्थित भलिवल ग्राउन्डमा नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले भलिबल प्रतियोगिता उदघाटन गर्नु भएको छ ।

प्रतियोगिता उदघाटन गर्दे सुवेदीले विदाको सदुपयोग गर्दे आयोजना गरिएको कार्यक्रममा खेलाडीलाई अनुशासन सहित खेल कौसल देखाउन आग्रह गर्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमले नेपालीहरू बीच भाइचारा अभिवृद्धि गर्ने, खेलकुदको माध्यमबाट मानसिक र शारीरिक स्वस्थता बढाउने तथा नेपाली बिच आपसी सद्भाव झल्काउने भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराईले समाजले विभिन्न मानविय सेवामासँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर भलिबल प्रतियोगिता गर्नु अनुकरणिय कार्य भएको बताउनु भएको थियो । प्रतियोगितालाई सफल बनाउन खेलाडी र दर्शकको ठूलो भुमिका रहेन भन्दै अनुशासन पुर्वक सहभागी भएर प्रतियोगितालाई सव्य एवं भब्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष लगाएत कतारमा स्थापीत विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षत्रीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष टिकाराम भुसालले गर्नुभएको थियो भने संचालन सचिव सेवक विक र सह –सचिव कृष्ण दर्लामीले गर्नुभएको थियो ।
प्रतियोगितामा विजेता टिमले कतारी रियल तिन हजार पाँच सय तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई कतारी रियल दुई हजार तथा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई कतारी रीयल एक हजार तथा शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्तवना पुरस्ककार नगद करी पाच सय तथा शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै, प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत पुरस्कारहरू समेत प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट सर्भर विधामा उत्कृष्ट ठहरिने खेलाडीहरूलाई विशेष सम्मान गरिनेछ ।
पर्वत समाज कतारका खेल संयोजक कुमार सुनारले प्रतियोगिताको बाकी खेल सोमबार साझ देखि पुन सुरु गरिनेभएकोले सम्पुर्ण खेलप्रेमीहरूलाई खेल स्थलमा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन आग्रह गर्नुभएको छ ।


