आदर्श सञ्चार बागलुङ
नेकपा एमाले बागलुङले जागरणसभा सम्पन्न गरेको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा नेकपा एमाले जिल्ला कमिटी बागलुङले बागलुङ बजारको लोकतान्त्रिक चोकमा जागरण सभा आयोजना गरेको थियो ।
जागरणसभालाई एमाले पालिटव्यूरो सदस्य मनकुमारी केसीले सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा उहाँले गणतन्त्र र संविक्षधनको रक्षाका लागि जनतालाई सुसुचित गर्न आवश्यक रहेको बताउदै जागरण अभियान चलाइएको बताउनुभयो ।
उहाँले गण्तन्त्रको विकल्प नभएको बताउनुभयो ।

बागलुङ बजारको मुख्य मुख्य चोक र टोलहरुमा जनप्रदर्शनपछि लोकतान्त्रिक चोकमा सभा आयोजना गरिएको थियो ।
राजाको आवरणमा प्रतिगामी शक्तिहरुले लोकतन्त्र, गणतन्त्र, संविधान, संघीयता र धर्म निरपेक्षताको विरुद्ध षडयन्त्र गरेर राजतन्त्र पुर्णस्थापना गर्न लागेकोले त्यसको विरुद्ध सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनु पर्ने वक्ताहरुले बताउनुभयो ।
जागरणसभामा एमालेका केन्द्रिय सदस्यहरु इन्द्रलाल सापकोटा र डा. सूर्य पाठकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एमालेको केन्द्रीय कमिटीले गणतन्त्रको पक्षमा देशका सबै सदरमुकाममा सभा गर्न सर्कूलर गर्न जारी गरेको थियो । प्रतिगमन विरुद्ध र गणतन्त्रको पक्षमा जागरण सभा आयोजना गरिएको एमाले बगालुङका अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।