ढोरपाटन नगरपालिकाको आग्रह : ‘सहकारीहरु नियमित सम्पर्कमा आउ’


आदर्श सञ्चार, बागलुङ

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले पालिकाभित्रका सम्पूर्ण सहकारीहरुलाई नियमित रुपमा पालिकाको सम्पर्कमा आउन आव्हान गर्नु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको टोलीसंग सोमवार नगरपालिकामा भएको छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले पालिका भित्र सञ्चालित सहकारीहरुलाई नियमित विवरण पठाउन तथा अनिवार्य रुपमा सम्पर्कमा आउन आव्हान गर्नु भएको हो ।

पालिका भित्र सञ्चालनमा रहेका सबै सहकारीहरुलाई संस्थागत अवस्था जानकारी गराउन, नियमित सम्पर्कमा आउन आव्हान गरेका छौ, पटक पटक आग्रह गर्दा पनि वेवास्ता गर्ने सहकारीलाई कार्वाही प्रक्रिया अगाडि बढाउन वाध्य हुनेछौ, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो,–‘सहकारीको यथार्थ अवस्था सदस्य तथा नियमनकारी निकायलाई जानकारी गराउने जिम्मेवारी सञ्चालक र व्यवस्थापनको हो ।’

ढोरपाटन नगरपालिकाले सहकारीको प्रवद्र्धनका लागि विगतदेखि नै काम नगरेको जिल्ला सहकारी संघको टोलीले गुनासो गरेपछि उहाँले पछिल्लो समय सहकारी शाखा हेर्नका लागि एक जना कर्मचारीलाई पूर्णकालिन रुपमा जिम्मा दिएको र छिटै सहकारीहरुको अद्यावधिक लगायत प्रवद्र्धनका गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

म आएको धेरै भएको छैन, यस वर्षका लागि सहकारीको प्रवद्र्धन र विकास गर्न बजेट कत्ति पनि छुट्टिएको रहेन्छ, उहाँले भन्नुभयो,–‘आगामी वर्षको बजेटमा सहकारी शाखालाई थप व्यवस्थित गराउने तथा सहकारीको प्रवद्र्धन, विकास र अनुगमनका लागि बजेट विनियोजन गर्न पहल गर्नेछु ।’

सहकारी दर्ता, प्रवद्र्धन, विकाससंगै नियमन अनुगमनको जिम्मेवारी पाएका पालिकाहरुले सहकारीका लागि बजेट विनियोजन नगर्ने, कर्मचारीको व्यवस्था नगर्ने जस्ता कारण पनि सहकारीमा समस्या सिर्जना हुने गरेको सहकारीकर्मीहरुले बताएका छन् ।

पालिका भित्र दर्ता भएका सहकारीहरुलाई नियमन अनुगमन मात्रै होइन, तिनीहरुको प्रवद्र्धनका लागि पनि स्थानीय तहले काम गर्नु पर्ने जिम्मेवारी रहेको छ ।

जिल्ला सहकारी सघले सहकारी दिवसलाई सहकारीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने अवसरका रुपमा मनाउन, सहकारीका सञ्चालक तथा व्यवस्थापक र शेयर सदस्यहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न तथा नियमित अनुगमन गरी सहकारीको विकासमा योगदान गर्न पालिकाको सहकारी रजिष्ट्रार समेत रहनु भएका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आग्रह गरेको थियो ।

संघका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), सचिव तेज प्रसाद शर्मा, सञ्चालकहरु खिम बहादुर कार्की र जगन्नाथ सापकोटा, संघका पूर्व अध्यक्ष एवं सल्लाहकार राम बहादुर जिसी सहितको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसंग सहकारीका विविध विषयमा छलफल गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *