प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन आज बैंकक पुगेका छन्। उनी मंगलबार साँझ त्यहाँ अवतरण गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री तथा यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट, उनकी पत्नी, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ र उनकी पत्नीले स्वागत गरेका छन्। साथै, थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितका अधिकारीहरू पनि स्वागतमा सहभागी थिए।
यो नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्यान्ड भ्रमण हो, जसका लागि थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले मैत्रीपूर्ण निमन्त्रणा दिएका थिए।