गणेश शर्मा, बागलुङ
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सहकारी मार्फत समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि कृषि, पशुपालन लगायतका कामलाई केन्द्रीत गर्नु पर्नेमा जोड दिनु भएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङको टोलीसंग सोमबार गाउँपालिका कार्यालयमा भएको छलफलका क्रममा अध्यक्ष शर्माले यस्तो बताउनु भएको हो ।
सहकारीलाई उत्पादनमा लैजाउ भनेर केही नयाँ योजना ल्यायौ, सहकारीको संस्थागत विकासमा साथ दिन खोजियो, अध्यक्ष शर्माले भन्नुभयो,–‘उत्पादनमुलक सहकारीलाई स्थानीय तहले सहज रुपमा साथ दिनका लागि कतिपय कानुनी झण्झटहरु छन्, तिनलाई केन्द्रले सच्याउनु पर्छ ।’
ग्रामिण क्षेत्रका जनतालाई वित्तीय पहुँच पु¥याउन, पूँजि परिचालन गरी व्यवसाय सञ्चालनमा योगदान गर्ने विषयमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान छ, सहकारीका सवल पक्षहरु ओझेलमा पर्ने र केही सहकारीले गरेका कमजोरीको प्रचार धेरै हुनाले समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।
सहकारीप्रति आम समुदायको नकरात्मक भावना छ, सहकारी भनेका सबै खराव हुन कि ? भन्ने सोचको विकास भएको छ, अध्यक्ष शर्माले भन्नुुभयो,–‘सहकारीका सवल पक्ष उजागर गर्ने र कमजोरी सुधार गर्नका लागि सबैको ध्यान जान आवश्यक छ ।’
जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले स्थानीय तहले पालिका भित्रका सहकारीहरुको अवस्था पहिचान गरी शिक्षा तालिमका कार्यक्रम सञ्चालन गर्न, समय समयमा अनुगमन गरी कमजोरीहरु सुधारका लागि निर्देशन गर्न सके सहकारीका धेरै समस्या समाधान हुने बताउनुभयो ।
बरेङ गाउँपालिकाले सहकारीको प्रवद्र्धनका लागि गरेका गतिविधि लगायतका विषयमा अध्यक्ष शर्माले जानकारी गराउनु भएको थियो । संघका अध्यक्ष जिसीको नेतृत्वमा रहेको जिल्ला सहकारी संघको टोलीमा सचिव तेज प्रसाद शर्मा, सञ्चालकहरु खीम बहादुर कार्की र जगन्नाथ सापकोटा, संघका सल्लाहकार राम बहादुर जिसीको सहभागिता रहेको थियो ।