स्वास्थ्यकर्मीनै गर्दैनन् स्वास्थ्य बीमामा

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीमा स्वास्थ्यकर्मीहरु नै स्वास्थ्य बीमा कार्यक्रममा नजोडिएको पाइएको छ । नवौं स्वास्थ्य बीमा दिवस तथा विश्व स्वास्थ्य दिवसको अवसरामा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालका अनुसार जिल्लामा रहेका ४७ प्रतिशत महिला स्वास्थ्य स्वयंसेवीकाहरु नै स्वास्थ्य बीमा कार्यक्रममा नजोडिएको पाइएको हो ।

म्याग्दीमा रहेका तीनसय ७२ मध्ये एक सय ९८ जना मात्रै स्वास्थ्य बीमामा जोडिएकोले हालको अवस्थामा करिब ५३ प्रतिशत मात्रै स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका हुन् । सरकारले समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बीमाको सुविधा दिएको भए पनि अहिले सम्म जिल्लामा खटेका मध्ये ४७ प्रतिशत हाराहारीले सेवा प्रयोग नै गरेका छैनन् ।

म्याग्दीमा चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म १४ हजार ६ सय २४ परिवारका ४० हजार छ सय ४८ जनाले स्वास्थ्य बीमा गरेका हुन् । म्याग्दीमा प्रदेश अस्पताल बेनी र आधारभूत अस्पताल दरबाङबाट स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिन सकिन्छ ।

चालु आर्थिक वर्षको चैत २४ गते सम्मको तथ्यांक अनुसार जिल्लामा स्वास्थ्य बीमाको नवीकरण दर ७२ प्रतिशत छ । अति गरिब बीमित सङ्ख्या २२, ज्येष्ठनागरिकहरु ६ हजार ३ सय ९६ जनाले सेवा लिइ रहनु भएको छ ।

९२ जना एचआइभी संक्रमितहरुले प्रदेश अस्पताल बेनीबाट नियमित औषधी सेवन गर्ने भए पनि ५३ जना संक्रमितहरुले स्वास्थ्य बीमाको सेवा प्रयोग गरी रहेका छन् । अति अशक्त अपाङ्गतर्फ बीमितको सङ्ख्या १ सय ५१ जना, कुष्ठरोग संक्रमित २ जना र जटिल खालको (एमडिआर) टिबी २ जनाले सेवा प्रयोग गरि रहेका छन् ।नेपालमा वि.सं. २०७२ सालमा सुदुरपश्चिमको कैलाली जिल्लाबाट स्वास्थ्य बीमा लागू गरिएको थियो । अहिले ५ जनासम्मको परिवारले ३५ सय रुपैयाँ र ५ जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति थप सातसय रुपैयाँको दरले शुल्क तिरेर स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था रहेको छ ।

‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’, ‘सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नारासहित नवौं स्वास्थ्य बीमाको वार्षिकोत्सव मनाइएको हो ।

बेनीमा भएको कार्यक्रममा प्रदेश अस्पताल बेनी म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले आर्थिक अभावकै कारण उपचार सेवाबाट बञ्चित कुनै पनि बिरामी हुन नपर्ने बताउनु भएको थियो । पैसा नै नभएको कारणले गर्दा कसैले पनि बेनी अस्पतालबाट सेवा नपाउने हुँदैन उनीहरुलाई निःशुल्क रुपमा उपचार गर्ने प्रवन्ध मिलाउने गरिएको उहाँले भन्नुभयो ।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकृत विनिता जिसीले स्वागत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्