आदर्श सञ्चार, म्याग्दी
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा बिजय परियार चयन हुनु् भएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
जसको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव बोहोरा, कोषाध्यक्षमा मनिका पुन, सह–सचिवमा भुवन विश्वकर्मा र सह–कोषाध्यक्षमा अस्मिता रोका चयन हुनुभएकोछ । समितिको सदस्यमा सन्दिप मल्ल, गरिमा परियार, अनुपमा घर्ती, हरिकला सापकोटा, झरना विक, मार्कस विक, अभि बोहोरा र बाबुराम सुवेदी चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवास मल्लले संगीतकर्मीहरु देशको अवस्था र व्यवस्था परिवर्तनको संवाहक भएको बताउनुभयो । कला, साहित्य र संस्कृतिको विकासका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताउँदै अबको संगीत परिवर्तन र विकास उन्मुख हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापाले जनजीवनका गीत र सृजनाहरु कालजयी बनेको उदाहरण प्रस्तुत गर्दै कलाकारहरुले लोकप्रियताका लागि भन्दा पनि जनताहरुलाई परिवर्तन र रुपान्तरण गर्ने खालका गीतहरु गाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक प्रमोद श्रेष्ठ, सचिव थमसरा पुन, सचिवालय सदस्य टकसरा राना लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल म्याग्दीका अध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र शिव वोहोराको संचालनमा सम्पन्न भएको थियो ।