कालिका मन्दिरमा चैते दसैँमा ४२ लाख भेटी संकलन

आदर्श सञ्चार, बागलुङ
चैते दसैँ अवधिभर कालिका भगवती मन्दिरमा रु.४२ लाख ६३ हजार भेटी संकलन भएको छ । नवरात्रको अवधीभर रु.४२ लाख ६३ हजार १५५ रकम संकलन भएको छ । गत वर्षको तुलनामा यस वर्षको भेटी दुई लाखले बढी भेटी संकलन भएको हो । गत वर्षको चैते दसैँमा रु. ४० लाख भेटी संकलन भएको छ ।

गण्डकी प्रदेशको प्रमुख शक्तिपीठ मध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा यस वर्ष आएका ७ लाखभन्दा बढी दर्शनार्थीहरूले उक्त रकम भेटी स्वरुप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

अध्यक्ष खड्काका अनुसार नवरात्रको पहिलो दिन चैत १७ गते रु.तीन लाख ४९ हजार ८०६, १८ गते रु.दुई लाख ३१ हजार ४७०, १९ गते ५ लाख २० हजार १६५, २० गते दुई लाख ८१ हजार ७५९ संकलन भएको छ ।

२१ गते रु.चार लाख ८२ हजार ३३५, २२ गते रु.५ लाख ६८ हजार ७५० संकलन भएको थियो । यस्तै चैते दसैँको मुख्य दिन चैत २३ गते रु.११ लाख ८१ हजार ५९० संलकन भएको अध्यक्ष खड्काले बताउनुभयो । नवमीको दिन रु. ४ ११ हजार ५१० र दशमीको दिन रु. २ लाख ३५ हजार ७७० संकलन भएको छ ।

“चैते दसैँको मुख्य दिनमा अहिलेसम्मकै धेरै भक्तजन र अहिलेसम्मकै भेटी संकलन भएको छ विगतका वर्षहरूको तुलनामा पनि यो वर्ष धेरै भक्तजनहरु आएका थिए” खड्काले भन्नुभयो “अष्टमीमा एकै दिन तीन लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा समेत हम्मे–हम्मे प¥यो ।”

बागलुङ कालिका मन्दिरमा वडा दसैँ र चैते दसैँ अनि शनिबार र मंगलबार विशेष पूजा हुन्छ । मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्