सहकारीका अचल सम्पत्तिलाई चलमा रुपान्तरण गर्नु पर्छ–नगर प्रमुख केसी

आदर्श सञ्चार, म्याग्दी
बेनी नगरपालिकामा तीन दिने कार्यशाला सम्पन्न गरेको छ । बुधबार सकिएको कार्यशालामा बेनी नगरपालिका कार्यक्षेत्र भएका सहकारीका सञ्चालक समिति तथा व्यवस्थापनका कर्मचारीको सहभागिता रहेको थियो ।

बेनी नगरपालिका भित्र कार्यक्षेत्र भएका सहकारीका प्रबन्धक तथा पदाधिकारीहरुको सहभागिता रहेको सहकारी संस्थाहरुका लागि विनियम, कार्यविधि नीति निर्माण सम्बन्धी तीन दिने कार्याशालामा ६० भन्दा धेरै सहभागी रहेका थिए । तालिमको समापनको क्रममा सहभागीहरुले सहकारीको खराब ऋण असुलीका लागि नगरपालिकाले सहजीकरण गरि दिनका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सुरत केसीले सहकारीहरुले खरिद गरेका अचल सम्पत्तिलाई चलमा रुपान्तरण गर्न आग्रह गर्नुभएको थियो । सहकारीले घर गाडी खरिद गरेर प्रयोग गर्ने होइन यदि आवश्यक नै हो भने भाडामा लिएर प्रयोग गर्न सकिन्छ आवश्यक समयमा अन्यथा अचल सम्पत्ती सबै चल गर्नु पर्ने उहाँले तर्क गर्नुभयो । अनुत्पादक क्षेत्रमा गरिएको लगानी र कार्यक्षेत्र बाहिर गरेको लगानीले सहकारीलाई समस्या बनाएकोले यस्तो कार्यलाई आवश्यक सहजीकरण गरिनु पर्ने उहाँको भनाई थियो ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले सहकारी व्यवस्थीत गर्न नगरपालिका चिन्तित रहेको बताउनुभयो । उहाँले दायित्वबाट नगरपालिका नचुकेको तर सहकारी संस्थाहरुले नै कतिपय अवस्थामा आफ्नो दायित्वबाट चुकेको आरोप लगाउनु भयो । सहकारीले कोपोमिसमा गर्नुपर्ने अपडेट पटक-पटकको ताकेतामा पनि नगर्ने तर अन्य बहाना बनाउनु भनेको दायित्वबाट भाग्नु रहेको उहाँको तर्क थियो । सहकारीबाट हुने लगानीहरु कतिपय आफ्नो पार्टीलाई भोट हाल्ने, छिमेकी वा नाता भन्दै गरिएको लगानीहरु नै अहिले खराब ऋणका रुपमा सहकारीले भोगेको बताउनुभयो । सहकारीहरु बिग्रनु भनेको नगरेर नभै गर्नु भन्दा पनि आँखा चिम्लेर बसेरै बिग्रेका हुन् ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले सहकारी क्षेत्रमा पहिला पनि समस्या भए पनि सतहमा अहिले आएको बताउनुभयो । उहाँले भन्नुभयो मुलुकमा पाँच देखि ७ खर्ब सहकारीबाट ऋण लगानी भएको छन् । अधिकांस सहकारीहरुले गैर सदस्यलाई ऋण लगानी गर्दा समस्यामा परेको हुनाले यस्तो कार्य रोक्न पर्ने उहाँको भनाई थियो । नगरपालिका सहकारीको सुशासन र सहजीकरणमा कटिबद्ध रहेको प्रमुख प्रशासकिय अधिकृतको भनाई थियो ।

समापन कार्यक्रममा बेनी नगरपालिकाकी सहकारी शाखा प्रमुख प्रभा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीका तर्फबाट चेतनामुलक महिला सहकारी सिंगाकी व्यवस्थापक सन्दिपा शर्मा र राष्टसेवक बचत तथा ऋण सहकारीका अध्यक्ष यामबहादुर चोखालले मन्तव्य राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्