आदर्श सञ्चार, म्याग्दी
अन्नपूर्ण गाउँपालिका–३ दानालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रमा रहेका पाँच वर्ष मुनीका ७२ जना तथा १५ महिना भित्रका २२ जनाले पाउनु पर्ने खोप सबै पाएकोले पूर्णखोप दिगोपना घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा वडा नम्बर ३ क्षेत्रमा १७ जना गर्भवती रहेको दाना स्वास्थ्य चौकीकी अहेव जानकी घर्तीमगरले जानकारी दिनुभयो ।
पूर्ण खोप सुनिश्चितता कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक ओम फगामीले गाउँपालिकाले स्वास्थ्यलाई निकै महत्वका साथ हेरेको र समग्र पालिकाको उचाइ बढाउन पनि स्वास्थ्य क्षेत्र पनि राम्रो हुन पर्ने बताउनुभयो । उहाँले ३ नम्बर वडाले दिएको ध्यान र दाना स्वास्थ्य चौकीका कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेवीकाको मेहनतले नै यस्तो कार्यक्रम सम्भव हुने बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख एवम् पालिका स्तरीय खोप समन्वय समितिका सदस्यसचिव समुन्द्र बरुवालले अन्नपूर्ण गाउँपालिकाले बनाएका योजना अनुरुप स्वास्थ्य शाखाले गरेको कार्यले नै पूर्ण खोप सुनिश्चितताका लागि मजबुत बनाएको बताउनु भयो ।
उहाँले पछिल्ला दुई वर्षहरुमा अन्नपर्ण गाउँपालिका शुन्य होमडेलीभरी रहेको भन्दै सबैको मेहनत उत्कृष्ट रहेको तर्क गर्नु भयो । अहिले कसैले के गरीस् भनेर सोधेको खण्डमा हामीहरुले गरेको मेहनतकै कारण घरमै सुत्केरी हुने कोही पनि छैन भनेर सगर्व भन्ने अवस्था सृजना भएको छ बरुवालले भन्नुभयो । उहाँले यही र यस्तै मेहनतले नै स्वास्थ्य क्षेत्रमा अन्नपूर्णको प्रगति हुने उहाँको दावी थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका सामाजिक विकास शाखा संयोजक ओम फगामीले पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखा प्रमुख गणेश कटुवाल, वडा नम्बर ४ का सदस्य दुर्गादत्त सुवेदीलगायतले बोल्नु भएको थियो ।