काठेखोलाका कृषकको उत्पादन खेर जान दिदैनौ : अध्यक्ष थापा

आदर्श सञ्चार, बागलुङ
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले कृषकले उत्पादन गरेको उत्पादनलाई खेर जान नदिन संकलन केन्द्र सञ्चालन गर्न लागेको जानकारी गराउनु भएको छ ।
काठेखोला गाउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङले बुधवार आयोजना गरेको सहकारी व्यवस्थापन तालिमको शुभारम्भ गर्दै अध्यक्ष थापाले यस्तो बनाउनु भएको हो ।
गाउँपालिका भित्रका सबै सहकारीका सदस्यहरुलाई उत्पादनमा क्रियाशिल बनाउने, कृषक सदस्यहरुले उत्पादन गरेको वस्तु सहकारीले संकलन गर्ने तथा पालिका र हेफर प्रोजेक्टको साझेदारीमा सञ्चालन गर्न लागिएको संकलन केन्द्रबाट बजारीकरण गर्न लागेका छौ, अध्यक्ष थापाले भन्नुभयो,–‘कृषकले उत्पादन गरेका सबै वस्तु विक्री गर्ने गरी योजना बनाएका छौ ।’
दुध, सुन्तला, खसी बोका उत्पादन तथा मौरीपालन व्यवसायमार्फत काठेखोलाका किसानले वर्षमा करोडौ रकम गाउँ भित्र्याएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
दुध, सुन्तला, खसी बोकामा मात्रै होइन, अब कृषकका सबै उत्पादनलाई खेर जान नदिने गरी बजारीकरण गर्दैछौ, अध्यक्ष थापाले भन्नुभयो,–‘उत्पादन भएकोलाई विक्री वितरण गर्ने मात्रै होइन, थप उत्पादनका लागि समेत प्रोत्साहन गर्छौ ।’
गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा मगरले सहकारी समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो भएकाले सहकारीमार्फत उत्पादन बढाउने, उत्पादित वस्तु संकलन र बजारीकरणमा गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
विवाइसी बागलुङले पालिका र हेफर प्रोजेक्ट नेपालसंगको समन्वयमा काठेखोला गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित युवा उद्यमशिलता विकास कार्यक्रम अन्तरगत स्थानीय उत्पादन संकलन केन्द्र सञ्चालन गर्दैछ ।
काठेखोला गाउँपालिकाका कृषकले उत्पादन गर्ने वस्तुहरु संकलन गरी अक्षेते बजारमा बहुउद्देश्यीय संकलन केन्द्र मार्फत बजारीकरण गर्न लागिएको पालिकाले जनाएको छ ।
सहकारीमार्फत उत्पादन बढाउने कार्यमा सहकारीका सदस्यहरुलाई उत्प्रेरित गर्न, सहकारीहरुलाई थप व्यवस्थित र प्रभावकारी योजनाका साथ अगाडि बढ्नका लागि तालिम सञ्चालन गरिएको काठेखोला गाउँपालिका सहकारी शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।
तालिममा प्रशिक्षक राम बहादुर जिसीले सहजीकरण गर्दै काठेखोलाका सहकारीले उत्पादनका क्षेत्रमा गरेका महत्वपूर्ण कार्यसंगै थप उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न संस्थागत क्षमता बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले संकलन लगायत वित्तीय लगानीमा सहयोग गर्ने तथा पालिकाले बजारीकरणमा सहयोग गर्न सके उत्पादनमा वृद्धि हुने बताउनुयभो ।
काठेखोला गाउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा भीमापोखरा युवा क्लव (विवाइसी) बागलुङको सहजीकरणमा काठेखोला गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित युवा उद्यमशिलता विकास कार्यक्रम अन्तरगत स्थानीय उत्पादन संकलन केन्द्र बनाउने अन्तिम चरणमा पुगेको छ ।
कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष लक्ष्मण पुनको अध्यक्षता, सहकारी शाखा प्रमुख प्रकाश पौडेलको सञ्चालन र विवाइसी बागलुङका कार्यक्रम संयोजक चुडामणी उपाध्यायको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्