घाँसादेखि कोरालासम्म सरसफाइ अभियान

आदर्श सञ्चार, मुस्ताङ
मुस्ताङका पाँच वटै गाउँपालिकाको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा चीनसँगको सिमाना कोरला नाकादेखि मुस्ताङ र म्याग्दीको सिमाना घाँसासम्म सरसफाइ गर्न थालिएको छ ।

कोरला नाकाबाट सुरु भएको सरसफाइमा पाँच वटै स्थानीय तहका प्रमुख तथा २५ वटै वडाका अध्यक्षहरुको पनि सहभागितालाई जोड दिइएको बताइको छ । लोघेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छेम्बेल(राजु) विष्टले जलवायु परिवर्तनलाई न्यूनिकरण गर्दै पर्यटन प्रवद्र्धनका लागि यो कार्य उत्कृष्ट हुने बताउनुभयो ।

बैशाख ३ देखि सुरु भएर पाँच दिनसम्म हुने सरसफाइ कार्यक्रममा जिल्ला भित्रका धार्मिक स्थलहरुको सरसफाइ गरिने छ । जनतामा सरसफाइको चेतना वृद्धि गर्दै उनीहरुकै सहभागितामा काम भएको खण्डमा दिगो हुने भएकाले पनि यस्तो कार्य गर्न लागिएको बताइएको छ ।

गएको कार्तिक १३ गते भएको अन्तरपालिका समन्वयात्मक बैठकले सरसफाइको निर्णय गरेको र चैत २५ गतेको बैठकले पुनः त्यसलाई कार्यान्वनयको पाटोमा लैजाने निर्णय गरेकोले सरसफाइ शुरु भएको बताइएको छ ।

पाँच वटा स्थानीय तहका कार्यपालिकाका सबैको सहभागिता रहने गरी थालिएको कार्यक्रममा पहिलो दिन नेपाल चीन सीमानाको २४ नम्बर पिल्लरबाट सरसफाइ थालिएको हो । सवारी व्यवस्थापन लगायतका काम हरेक पालिकाले आफै गरेको र अन्य केही खर्च भएमा दामासाहीले व्यहोर्ने सहमती भएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्