आदर्श सञ्चार, म्याग्दी
१६ महिनादेखि ५९ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएपछि म्याग्दीको धवलागिरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।
गाउँपालिका भित्र रहेका कुल ६३१ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चिता भएपछि पालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको हो । पालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरुले पनि नियमित खोप लगाइरहेको स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले बताउनुभयो ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक समारोहबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेका थिए । त्
यस्तै खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रुपमा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको उहाँको भनाइ छ ।
गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नका लागि गएको चैत १७ गतेबाट वडास्तरमा कार्यक्रम गरी वडालाई पूर्णखोप सुनिश्चित वडाको रुपमा घोषणा गर्ने कार्य गरिएको थियो । पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप सुनिश्चित दिगोपना कायमसहित खोप कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप पालिका हाम्रो प्रतिबद्धता’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो ।
कार्यक्रममा धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल र गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।