भीमापोखरामा काठेखोलाको सार्वजनिक सुनुवाई

आदर्श सञ्चार, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले बुधबार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित कामका बारेमा वडा नम्बर २ भीमापोखरामा सार्वजनिक सुनुवाई गरेको हो ।

सार्वजनिक सुनुवाईमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । सडक, खानेपानी, कृषि, पर्यटन, पशुपालन लगायतका क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको उहाँको भनाइ छ । उहाँले जनताको सुझाव ग्रहण गरेर नै काम गर्ने बताउँदै कर्मचारीहरुले पनि जनतालाई सहजरुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाको योजनालाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्याङ्कनलाई तीव्रता दिएको बताउनुभयो । सीमित स्रोत साधनका बीच जनताको असीमित आवश्यकतालाई पूरा गर्न एकै पटक नसकिने भन्दै विस्तारै क्रमैसँग काम गर्दै जाने उहाँको भनाइ छ ।

चालु आर्थिक वर्षको हालसम्म काठेखोला गाउँपालिकामा १९२ वटा योजना सम्झौता भएकोमा ९९ वटा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पुँजीगत खर्च ४९ प्रतिशत, चालु खर्च ६४ प्रतिशत र कुल वित्तिय प्रगति ५९ प्रतिशत भएको छ ।

कार्यक्रममा स्थानीयहरुले पालिकाको भवन अहिलेसम्म बन्न नसकेको प्रति गुनासो गरेका थिए । उनीहरुले एक पटक सम्पन्न भएको योजनालाई गाउँपालिकाले पुनः मर्मत गर्न तर्फ ध्यान नदिँदा करोडौँका योजना काम नलाग्ने भएको गुनसो गरेका थिए । पछिल्लो समय काठेखोलाबाट बसाइँसराइ बढ्दै गएको भन्दै गाउँपालिकाले यसलाई रोक्नका लागि ध्यान दिनु पर्ने उनीहरुको जोड थियो ।

कृषिमा गाउँपालिकाले अनुदान दिए पनि त्यसको सदुपयोग हुन नसकेको कार्यक्रममा सहभागीहरुको भनाइ छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको उनीहरुले बताए ।

सार्वजनिक सुनवाई कार्यक्रमको पत्रकार विजय रानाले टिप्पणी गर्नु भएको थियो भने पत्रकार संगम घर्ती मगरले काठेखोला गाउँपालिकाका नागरिकहरुको सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको । नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले सार्वजनिक सुनुवाईको आचार संहिताको विषयमा जानकारी गराउनुभएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम काठेखोला गाउँपालिकाका सुशासन समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष वृहस्पती कँडेलको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढा मगरको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्