आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । जन्मेदेखि १५ महिनासम्मका १६८ जना र १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरुले पूर्णखोप पाएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बालकृष्ण शर्माले बताउनुभयो ।
बालबालिकाहरुले जन्मेपश्चात पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।
मंगला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न बराङ्जा, कुहुँ, बाबियाचौर, तथा अर्मनसहित ५ वटै वडालाई यसभन्दा अगाडिनै पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा भइसको थिए ।