दुई वर्षमा सकिनु पर्ने अस्पताल भवन चार वर्षमा ६५ प्रतिशत मात्रै

अमृत बास्कुने, म्याग्दी
पहिलो सम्झौता मिति सकिएको दुई वर्ष पुग्नै लाग्दा पनि गाउँपालिका स्तरीय पाँच शैयाको अस्पताल भवन निर्माणको काम सकिने टुंगो नै छैन । म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकममा निर्माणाधिन अस्पताल दोश्रो पटक थपिएको समयमा पनि निर्माण सम्पन्न हुनेमा संका देखिएको छ ।

नेपाल सरकारले सबै स्थानीयतहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको ताकम म्याग्दीको निर्माणधिन अस्पताल भवन हालसम्म ६५ प्रतिशत मात्रै भौतिक प्रगती देखिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार छ करोड ७१ लाख ५७ हजार दुई सय ६९ रुपैयाँ लागत स्टमेट गरेर टेण्डर आह्वान गरिएको थियो ।

उक्त भवन निर्माणका लागि बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङको बिएम–आइएस–एसी जेभी  निर्माण कम्पनिले चार करोड ८८ लाख ७२ हजार एक सय २३ रुपैयाँमा २०७८ बैशाख १२ गते सम्झौता गरेको थियो । उक्त सम्झौता बमोजिम २०८० को जेठ भित्र निर्माण सम्पन्न गरि सक्नु पर्ने भएता पनि हालसम्म पनि निर्माण सम्पन्न नभएको अर्यालको भनाइ छ । हालसम्म भौतिक प्रगति ६५ प्रतिशत र आर्थिक प्रगति करिब ५० प्रतिशत भएको देखिन्छ । गाउँपालिकाले निर्माण कम्पनीलाई दुई करोड ३४ लाख ५९ हजार सात सय ८२ रुपैयाँ भुक्तानी गरि सकेको छ ।

गाउँपालिकाका सब इन्जिनियर लोकेन्द्र बहादुर रावलले अस्पताल भवन निर्माणका लागि भएको सम्झौता बमोजिमको म्याद सकिएपछि दुई पटक एक/एक वर्ष म्याद थप गरिएको बताउनुभयो ।  पहिलो पटक म्याद सकिएपछि २०८० जेठ २५ गते थपिएको थियो भने त्यस पछि पुनः थप गरेको म्याद २०८२ असार २५ गते सकिने उहाँको भनाइ छ ।

आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण हुनेछ ।

यो पनि पढ्नुहोस्