म्याग्दीका ग्रामीण क्षेत्रमा म्याद गुज्रेका सामग्री विक्री वितरण

आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको ग्रामीण क्षेत्रमा बढी मात्रामा म्याद गुज्रेका सामग्रीहरु फेला परेका छन् । पश्चिम म्याग्दीका विभिन्न गाउँमा अनुगमन गर्दा म्याद गुज्रेका सामानहरु पाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य नेतृत्वमा भएको अनुगमनमा म्याद गुज्रेका सामग्रीहरु भेटिएको हो । मालिका गाउँपालिका–२ रुममा बजार अनुगमनका क्रममा पेय पदार्थ तथा खाजाका प्रकारहरु म्याद गुज्रेको पाइएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दी तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त बजार अनुगमनमा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, मालिका गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर सहायक सन्तोष ढुङ्गानालगायतको सहभागिता रहेको थियो । रुम गाउँको विभिन्न स्थानमा सञ्चालित किराना तथा खुद्रा पसल, होटल तथा रेष्टुरेण्ट, बेकरी र मेडिकलसहित १७ वटा पसलको अनुगमन गरेको सहायक प्रजिअ आचार्यको भनाइ ।

अनुगमनको क्रममा पसलहरु दर्ता नगरिकनै सञ्चालन गरेको, कतिपय पसल गाउँपालिकामा दर्ता भए पनि स्थायी लेखानम्बर नलिएको, एउटा पसल दर्ता गरेर अर्कै प्रकृतिको पसल सञ्चालन गरेको, किराना र फेन्सी पसलका सामानहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको भेटिएको थियो ।

त्यसैगरी एकथरी पसल दर्ता गरेको तर उद्देश्य फरक राखेको, पसलमा मूल्यसूची नटाँसेको, साईनबोर्ड नराखेको, म्याद सकिएका सामानहरु टाँसीमा राखेर बिक्री गरेको जस्ता कमीकमजोरीहरु भेटिएका छन् ।

अनुगमनमा भेटिएका कमी कमजोरीहरुलाई सुधार गरी आउँदो २१ गतेभित्र पसल दर्ता गरेर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउन निर्देशन जारी गरिएको सहायक प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्