महिलाहरु व्यावसायिक बाख्रापालन गर्दै

आदर्श सञ्चार, म्याग्दी
मंगला गाउँपालिकाका २५ जना महिलाहरुले व्यवसायीक रुपमा बाख्रा पालन सुरु गर्न लागेका छन् । एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुले आफ्नो सीप वृद्धि गरेर व्यवसायीक तबरले नै बाख्रा पालन गर्न लागेका हुन् ।

समुदायमा विभिन्न कारणले पछाडि परेका महिलाहरुलाई आर्थिक रुपमा स्वरोजगार बनाउने हेतुले मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बाख्रापालन तालिम लिएपश्चात उनीहरुले व्यवसायीक तबरले बाख्रा पाल्ने भएका हुन् ।

‘राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम’ अन्तर्गत एक हप्तासम्म चलेको तालिमपछि मंगला गाउँपालिका बाख्रापालन समूहकी अध्यक्ष बुधिकला रोकाले अब व्यवसायीक बाख्रा पालन गरेर आत्मनिर्भर हुने धारणा राख्नु भएको थियो ।

तालिममा महिला हिंसाको अवस्था, आर्थिक सशक्तिकरण, व्यावसायिक उत्प्रेरणा, बाख्राको परिचय, महत्व र आवश्यकता, स्थानीय प्रजातिको बाख्रापालन तथा वातावरणीय अनुकुलता, बाख्रालाई खोरको तयारी तथा व्यवस्थापन, खोरको सरसफाइ, बाख्रापालनमा ध्यान दिनुपर्ने विषयहरु, आवश्यक सामग्रीको परिमाण र व्यवस्थापन, नजिकका बाख्रा खोरको अनुगमन, खोर तयार गर्ने कार्यको अभ्यास, लक्षित समुदायले प्राप्त गर्ने अनुदानसहित राज्यबाट पाउने सेवासुविधाहरु, बाख्रापालनमा आउने जोखिमका विषयमा सहजीकरण गरिएको थियो ।

बाख्रापालन व्यवसायको जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनको साथै बीमाको प्रावधान, बाख्रालाई लाग्न सक्ने रोगका प्रकारहरु, रोगबाट बचाउने उपाय र विधिहरुका बारेमा सहजिकरण गरिएको थियो । पोषिलो खाना तथा उत्पादनको तरिका, व्यावसायिक योजना, बजार व्यवस्थापन तथा नाफा र घाटा निकाल्ने तरिका, व्यवसाय प्रवद्र्धन र बजारीकरण लगायतका विषयमा बाख्रा पालक कृषकलाई ज्ञान दिइएको थियो ।

तालिमको मंगला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुदर्शन पौडेल, पशु विकास अधिकृत सगुन बराल, पशु सेवा प्राविधिक रबि विष्ट, नायव पशु स्वास्थ्य प्राविधिक विजयकुमार ठाकुरले सहजीकरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्