बाह्र वर्षपछि फर्केको खोला र आलमको अपराध

–राजेशचन्द्र राजभण्डारी

पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएका मध्ये १३ जनालाई नजीकैको ईटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । सानालाई ऐन ठूलालाई चइन भन्ने नेपाली उखान यतिबेला अलिकति नमिल्दो देखिन थालेको छ । महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको भन्ने आरोपमा देशको उच्च ओदाहाका सभामुख समेत रहेका कृष्णबहादुर महरा पक्राउ परेपछि कानुन भन्ने कुरा सबैलाई बराबरी नै हो भन्ने कुरा यतिबेला स्थापित बन्न पुगेको छ ।

अघि पछि ठूलो लोकतन्त्रको वकालत गरेर नथाक्ने नेपालको सबैभन्दा प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सांसद समेत रहेका आलमलाई पक्राउ गरे पश्चात बचाउमा उत्रिएपछि कांग्रेसको लागि कानुन बिधिको शासन भनेको सबै हात्तीको देखाउने दाँत मात्रै हो अरू केही पनि होइन भन्ने कुरा छर्लङ्ग भएको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा काँग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी नेपाली कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई “टार्गेट’ गर्न थालेको बताएर गाईजात्रा प्रर्दशन गरेका थिए । अघि पछि नेपाली कांग्रेस भनेको बिधिको शासन मान्ने पार्टी लोकतन्त्रको हिमायती कम्युनिष्ट भनेको अधिनायकवादी हुन्छन् मान्छे मार्छन् भनेर आरोप लगाउने पार्टी यतिबेला आफ्नो सांसद नै जघन्य अपराधमा भएको सत्य तथ्य कुरा सार्वजनिक भएपछि यसलाई पनि षड्यन्त्र भनेर तमासा देखाएपछि नेपाली कांग्रेस कस्तो खालको प्रजातान्त्रिक पार्टी हो ? अब बुझ्न धेरै टाढा पुग्नुपर्छ भन्ने लाग्दैन ।

नेपाली कांग्रेसका सभापति देउवाले “१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गर्न पाइन्छ ? त्यतिबेला के हेरेर बसेको ?’, भन्दै आक्रामक प्रश्न गरेपछि देउवाको नियत के हो, भन्ने कुरा घामझै छर्लङ्ग भएको छ । यसै विषयमा टिप्पणी गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आलमको कांग्रेसले संरक्षण गर्नु शोभनिय नहुने बताएर कांग्रेसलाई ब्यग्य गरेका छन् । “कांग्रेस जस्तो विधिको शासन, मानवअधिकार र उदार लोकतन्त्रको पक्षधर पार्टीले दर्जनौं निर्दोष व्यक्तिलाई निजी स्वार्थको लागि जिउँदै जलाउने र न्यायिक प्रक्रियालाई अबरोध गर्ने व्यक्तिलाई संरक्षण गर्नु शोभनीय भएन ।’,भट्टराईले भनेका छन् । अहिले चौतर्फी आलोचना भएपछि शेरबहादुर देउवाले आफुले बोलेको अभिब्यक्ती सच्याउन बाध्य भएका छन् । अहिले देउवाले सच्चाएको कुरालाई सकारात्मक रूपमा लिनुपर्छ तर नेपाली कांग्रेस पार्टीको एकजना जिम्मेवार मान्छेले बोल्ने अभिब्यक्ती कस्तो खालको छ र उनले कसलाई संरक्षण गर्दै हिडेका छन् भन्ने कुरा दुनियाँ सामुन्ने छर्लङ्ग भएको छ ।

बम विस्फोटमा घाइते भएकालाई सुई लगाई बेहोस बनाएर जिउँदै इँटाभट्टामा हालेर २० जनाभन्दा बढीको सामूहिक हत्या गरिएयता १२ वर्षमा रौतहटमा मात्रै प्रहरी प्रमुखका रूपमा १६ जना एसपी सरूवा भइसकेका छन् । घटना लगत्तै प्रहरीले उजुरी लिन समेत मानेन । जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे । सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो । तर, पटक पटक ताकेता गर्दा पनि प्रहरी हाकिम सर्वोच्चको आदेशको सम्मान होइन, आलमको संरक्षणमा लागिरहेको तथ्य कहि कतै पनि छिपेको छैन । ढिलै भएपनि नेपाली कांग्रेसका सांसद एंवम पूर्व मन्त्री आलमलाई पक्राउ गरेर प्रक्रिया अगाडि बढाउने काम भएको छ यसलाई हेर्दा देशमा कानुनी राज अब चल्छ कि भन्ने आभाष मिल्न थालेको देखिन्छ । साँच्चै अहिले आलम पक्राउ घटना मात्रै नाटक मंचन नहोस भनेर पीडित जसले अहिलेसम्म न्याय पाउन सकेनन् परिवारले त्यो नहोस भनेर कामना गरिरहेका छन् । साँच्चै अहिले देशमा गणतन्त्र आएपनि बिधिको शासन नहुँदा अराजकता बढेको हो । राजनीतिमा अपराधीकरण अपराधमा राजनीतिकरण भएको कारणले पनि बेथिति बढेको हो । जहिल्यै पनि गुण्डाको भरमा चुनाव लड्ने गुण्डाकै भरमा चुनाव जित्ने भएपछि जेपनि गर्ने गराउने संस्कार र संस्कृति झन संस्थागत भएर गएको कारणले आलम जस्ता मान्छे राजनीतिमा हावी भए यस्तै अपराधीलाई सबैले संरक्षण गरेको कारणले अपराधीलाई कार्वाही हुनुको साटो यस्ताको जय जयकार भएको हो । ढिलै भएपनि अदालतले प्रहरी प्रशासनले केही काम गरेर देखाउन खोजेको देखिन्छ । यसलाई निरन्तरता दिन जरुरी छ । साँच्चै तानाशाह भनेको हामीले हिटलरलाई चिन्ने गरेका थियौं । आलमले हिटलरलाई पनि बिर्साउने घटना घटाएका छन् । यस्ता जल्लाद अपराधीलाई सिधै फाँसी दिनुपर्छ यस्ता अपराध गर्ने मान्छेलाई सिधै टुडिखेलमा हजारौं जनता जम्मा गरेर गोली ठोकेर नमार्दा सम्म समाजमा हुने अपराधमा कमी आउने देखिदैन ।

अहिले आलमले १२ बर्ष अगाडि त्यो जघन्य घटना नघटेको भनेर बताइ रहेका छन् । अदालत बाहिर जघन्य अपराधी आलमको जय जय कार गर्दै जिन्दावादको नारा गरेको दृश्य हेर्दा हिन्दी फिल्मको झझल्को आयो । अहिलेसम्म जसरी घटनाको ढाकछोप गरे–गरे भएको सबै शक्ति पैसा तागत लगाएर १२ बर्षसम्म बच्न सफल भए तर जस्तो सुकै होस पाप धुरी बाट कुर्लन्छ भन्ने कुरा अहिले आएर देखिएको छ । अब सरासर अपराधलाई स्विकार्दै अदालतले गरेको फैसलालाई मान्नु भन्दा अर्को बिकल्प आलम संग छैन । अझै पनि चलखेल गरेर केही गर्न सकिन्छ कि भन्ने जुन सोच राखेका छन् त्यसलाई त्याग्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *