कृषिता अधिकारी (निशा)
साँच्चिकै शिक्षाले मानिसमा रहेकोे अज्ञानता हटाइ एउटा सजग आदर्शवान व्यक्ति बनाउन अहम् भुमिका निभाइरहेको हुन्छ । जसले मानिसलाई के सहि र के गलत छुट्याउन सहयोग गरिरहेको हुन्छ । भनिन्छ नि, जीवनको प्रत्येक पाइला–पाइलामा शिक्षा अति महत्वपूर्ण गहना हो । जसले विकास र सभ्यतालाई पनि प्रतिबिम्बित गर्छ । शिक्षा त्यो ज्ञान हो, जहाँ विकासको मूल फुटाइरहेको हुन्छ । देशका कुनै पनि विकास निर्माणका कार्यहरुमा दक्ष जनशक्तिको आवश्यकता पर्दछ । जस्तो कि डाक्टर, इञ्जिनियर, शिक्षक, प्रशासक तथा स्वास्थ्य, यातायात, सञ्चार, उद्योग आदिको विकासका लागि शिक्षा अपरिहार्य छ ।
इतिहास तर्फ मोडिनु पर्दा शिक्षा प्रणाली परम्परागत हिसाबले चलेको थियोे । बौद्धिक कालदेखी भारतीय उपमहादिपमा व्यक्तिलाई चेतना भर्ने र ज्ञान दिने खालको शिक्षा दिइन्थ्यो रे । जसमा विश्व ब्रह्माण्ड, समाज, मानिसले यसका गतिविधिबारे बताउन सक्ने मानिसलाई पढे लेखेको मानिन्थ्यो रे । त्यस्तै गुरु र चेलाको सम्बन्ध पनि प्रगाढ हुन्थ्यो । सत्कार, संस्कार जस्ता कुराहरुलाई विशेष ध्यान दिइन्थ्यो । आफुलाई ज्ञान दिने गुरुलाइ निकै सम्मान हुन्थ्यो तर वर्तमान परिस्थितिमा हेर्दा शिक्षा प्रणाली नितान्त फरक पाउन सकिन्छ । यसैगरी नेपालका विश्व विद्यालयहरुमा राजनीति, समाज, कानुन, दर्शन, इतिहास जस्ता विषयवस्तुहरुकै बढि पढाइ हुने गरेको थियोे । तर समयसंगै आजभोलि यी र यस्ता विषयहरु सुस्ताउदैछन् । जसले समाज सञ्चालनका लागी चाहिने सुझवुझको विकास, सभ्य समाजको लागि नैतिकवान समुदायको निर्माणमा यस्तो शिक्षाले योगदान पु¥याउँछ ।
तर, यस्तो शिक्षाले व्यक्तिलाई प्राविधिक सिपयुक्त भने कदापी पनि बनाउन सक्दैन किन त ? देशको दुत्र विकास गर्न र व्यक्तिलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको आवश्यकता छ । कारण नेपाल अतिकम विकसित मुलुकमा पर्छ । जहाँ भौतिक पूर्वाधार र औद्योगिक विकासका दृष्टिले नेपाल अन्य देशहरुको तुलनामा निकै पछि रहेको छ ।
देशको आर्थिक र भौतिक विकासको निम्ति उल्लेखित क्षेत्रमा विकास हुनु अनिवार्य छ । जब भौतिक पूर्वाधार निर्माण र औद्योगिक विकासको कुरा आउन पुग्छ, त्यसका लागि त चाहिने सिपयुक्त दक्ष जनशक्तिको खाँचो पर्दछ होइन र ? साधारण शिक्षा प्राप्त गरेको जनशक्तिले नीतिगत कार्य गर्न त सक्ला तर उत्पादन र निर्माणको क्षेत्रमा भने प्राविधिक काम गर्त सक्दैन । जस्तो की स्वास्थ्य विषयको बारेमा नपढेको विद्यार्थीले बिरामीको उपचार गर्न सक्दैन । त्यस्तै कम्प्युटर विषयमा दक्ष नभएको व्यक्तिले त्यस सम्बन्धि कुनै काम गर्न सक्दैन । आजको विज्ञान र प्रविधिको जमानामा सामान्य विषय पढेर काम छैन, त्यसैले पनि मेरो विचारमा देशका युवाहरुलाई बढि भन्दा बढि प्राविधिक शिक्षा दिनु आवश्यक छ । जसले गर्दा छिटो दक्ष एवम् क्षमतावान बन्न सक्छन् र रोजगार पनि आज कतिपय युवावर्ग वेरोजगार भएका छन् । कतै शिक्षाको महत्व नबुझ्नाले त कतै साधारण विषय छनोट गर्नाले पनि पछिल्लो समयमा धेरै मानिसहरु बेरोजगार छन् भने नेपालको शिक्षा प्रणाली प्रभावकारी नभएको अवस्थाले पनि अधिकांश विद्यार्थीहरु पढ्नकै लागि विदेशिएका छन् ।
जसले गर्दा नेपालको समग्र शिक्षा विकास प्रक्रिया कयौं समस्याबाट ग्रसित छ । कारण समय सापेक्ष व्यावहारिक र वैज्ञानिक शिक्षाका लागि राज्यको पहल नगन्य मात्रामा छ । जसमा आन्तरिक र बाह्य स्रोतबाट प्राप्त साधन स्रोतको सदुपयोग हुन सकेको छैन । उपलब्ध सेवा सुविधाहरु प्रतिस्पर्धी, सेवामुखी र प्रभावकारी छैन । त्यस्तै अधिकांश शिक्षक पेशा प्रतिको इमान्दारिता र कर्तव्यबोधको न्यूनता रहेको पाइन्छ । कि त सरकारी जागिर तर्फ रहेको अवस्था छ । सरकारले शिक्षा नीति बनाउदा प्राथमिकता शिक्षा चेतनामूलक, माध्यमिक शिक्षा रोजगार दिने सिपमूलक र उच्च शिक्षा अनुसन्धान मूलक बनाउने कुरामा जोड दिनुपर्छ ।
अहिले शिक्षा प्रणालीमा परिवर्तन भएको छ । यदि माध्यमिक तहदेखि नै विद्यार्थीहरुलाई विभिन्न प्राविधिक सिपयुक्त बनाउन सके रोजगारीको अभावमा युवाहरु विदेशिनु पनि पर्ने अवस्था सिर्जना हुने थिएन होला । न त जागिर पाउने आशामा शक्ति केन्द्रहरुको चाकरी, हेलत्व, योग्यता हुँदा पनि रोजगारको लागि बिन्तिपत्र बिसाउन पर्दैनथ्यो । अहिलेको परिस्थिति त्यस्तै भइरहेको छ, जतिसुकै योग्यता प्राप्त गरेता पनि रोजगारको अभाव खेपिरहेका र खेप्दै आइरहेको अवस्था छ । त्यसैगरी राज्य र नीजि क्षेत्रले लगानी गर्ने ठूला उद्योग र आयोजना बनाएर माग अनुसार जनशक्ति भर्ना गर्ने व्यवस्था मिलाउनु पर्छ भने स्वनिर्भर हुने खालका कृषि वा अन्य क्षेत्रसँग सम्बन्धित साना घरेलुु पेशा अपनाउन सक्ने शिक्षा आम रुपमा दिलाउनु जरुरी छ । जसले गर्दा सबै व्यक्तिहरु कुनै न कुनै सिपले युक्त भए भने बेरोजगारीको समस्या धेरै हदसम्म हल हुनसक्छ ।
तसर्थ, विश्वका विकसित राष्ट्रहरुमा प्राविधिक शिक्षालाई राज्यले निकै जोड दिन्छ भने ती देशहरुको अनुभवबाट सिक्ने हो भने नेपालमा पनि प्राविधिक शिक्षालाई आमरुपमा शिक्षा प्रणाली भित्र प्रवेश गरि राज्यले सहुलियतमा पढ्न सक्ने वातावरण बनाउनुपर्छ भन्ने यस लेखको मुख्य आशय हो । विशेषगरी बेरोजगार हटाउन र दक्ष बनाउनुपर्छ भन्ने उद्देश्य बोकेको छ ।