– राम सुवेदी
व्यवस्थापकीय गुणको थिती बसाल्ने पाटो राजनीति हो । नीतिको व्यवस्थापक राजनीति हुन् । राजनीतिशास्त्र अध्ययनमा राजनीति, राज्यको अब्बल नीति हो । राजनीति, राज्य सञ्चालनको गर्ने उपयुक्त साधन पनि हो । स्वशासित राष्ट्रको खम्बा राजनीति र त्यस मार्फत परिचालित व्यवस्थाका माध्यमबाट जनताका आवश्यकता पुरा गर्ने उचित विधि राजनीति हो । हामीले बिग्रदो राज्य व्यवस्थाको विकल्प खोज्दा कुनै बेला, धर्म अफिम हो भन्ने राजनैतिक दर्शन घोक्यौ । दाहिने र देब्रे राजनीति पनि जान्यौ । कोही दाहिने तिर लोकतन्त्रका कुरा ग¥यौं, कोही देब्रे फर्केर गणतन्त्रका गफ चुट्यौं । तर, आजकल त्यही कक्षा पढाउनेहरु वर्तमान राजनीतिमा अफिम लागेका देखिन्छन् ।
दाहिने र देब्रे सिद्धान्त घोकाउनेहरु, हिजोका आज दाहिनेतिर सामेल हुन्छन् । देब्रेका दाहिनेमा भोलि मिल्छन् । यसकारण हाम्रो राजनीति, किचनको आलु हो । जहाँ मिसाए पनि, उसको स्वार्थ देखिहाल्छ । राज्यको व्यवस्थापक बन्न सङ्घर्ष सिकाउनेहरु, राष्ट्रका लागि रगत अर्पणको सिद्धान्त घोकाउनेहरु नै आज परनीति, घरनीतिको राजनीतिमा डुबुल्किएका छन् । रणनीति, कार्यनीतिका सवालहरु, आज नेतृत्व स्वार्थसँग संशोधन हुन्छन्, परिस्कृत र परिमार्जित मानिन्छन् । यि सबै समस्याको जड बहुरुपीहरुको अप्ठ्यारो प्रवेश राजनीतिमा उपस्थिति हो । नीति सिद्धान्तका कुरामा धोकाधडी गर्छन् । स्वार्थले नीतिको तिलाञ्जली दिएर जनभावनामा गरिबीको व्यापार गर्छन् । जनजीविकाको सवाल सत्तामा नपुग्दा खरो हुन्छ, सत्तामा पुगे उनै नागरिकको आवश्यकता टर्रो हुन्छ । यही थिती विग्रेको राजनीति हो । जसले देश बनाएर नेता मात्र बनायो ।
वर्षौ भयो । देशमा राजनीति सङ्लिएको छैन । आज पनि अस्थिरता यथावतै छ । हाम्रो राजनैतिक नीतिमा खोट होईन, खोट बहुरुपी नेताहरुमा हो । जनतालाई आफ्नो पोल्टामा पार्न अनेकन जालझेलहरु छरिरहने स्वार्थी राजनैतिक विधिले नीतिको होस हवास उडाएको छ । हाम्रो नेता, बडो मज्जाले देशको मुहार फेर्ने भन्छ । गरिबको घरमा बास बसेर, आफ्नै जस्ता गरि भविश्यका कृतेकुरा जनताको मनभरी छिराइदिन्छ । विकासका कुरा, दैनिक अप्ठ्यारो सहज बनाउने कुरा, औषधि नपाएको विरामीलाई सहज उपचारका कुरा, खान लाउन समस्या भएकालाई गरिवी निवारणका कुरा, शिक्षा चेतनाका लागि सस्तो, जीवन उपयोगी शिक्षा नीतिका कुरा, अन्ततः तिनै मान्छेहरु, आफ्नो स्वार्थका लागि दश कुरा झुठ बोलेर आफ्नो नीजि जीवनको समृद्धि तर्फ डोरिन्छन् । यहाँ भन्दा फरक शैलीको नेता छ भने त्यसले आफ्नो छाति डडाल्न पर्छ । कारण, असत्यलाई सत्य सावित गर्ने हजारको भीड हाम्रो राजनीतिमा छ । पत्याउन पर्ने खास ठाउँनै छैन । हाम्रा नेताहरु सही कुरा बाँडेर गलत लतको सिकार भइरहेका छन् र पनि जनताका अप्ठ्यारा जस्ताको तस्तै हँुदा, पाँच वर्षमा कायापलट गर्ने कपटी भाषणको चाँङमाथि गरिबीको सुकुटी सुुकाइ दिएकै छन् । कुनै आन्दोलन र राजनैतिक परिवर्तनले मात्र, राष्ट्र बन्दो रहेनछ । राजनैतिक चरित्र सही छैन भने राजनीतिक अस्थिरता पनि सकिंदैन, हट्दैन रहेछ । सत्य नजिकको अत्यास लाग्दो कुरा, हाम्रो पुस्ता यस्तैमा बित्ने भयो । जसले चुनावमा दुई÷चार लाख फ्याक्छ, त्यसको तमासामा रल्लिनेहरुले पनि यसको जिम्मा लिन सक्नुपर्दछ । नेताको दलाली गर्ने कार्यकर्ता यो राजनैतिक विसंगतिको गतिलो पात्र हो । सिद्धान्त, विचार, समय काल परिवेशलाई सिमित स्वार्थसँग साटेर अरु तथानाम जनतामा भ्रमको खेति लगाउनेहरु, आफ्नो चोला त झोलामा हालेर सुत्यौ । सुत्यौ, तिम्रा नानीहरुको सपना समेत निचोरेर मर्दैछौ ।
देशलाई अलमलाएर राजनैतिक अंक गणितका हिसावले जनता बेवकुफ बनाएका, स्वार्थका हिमायतीहरु देश लुटेर हिनामीना पार्दा एक ढिक्का भएर जीवन काट्दै गरेको सत्तापक्ष र प्रतिपक्ष सायद मेरो देश बाहेक अन्त होला जस्तो लाग्दैन् । मिलेमतोमा राज्यको स्रोत दोहन भएको हेरेर परिवर्तनको आशा गर्ने जनता पनि मेरो देशमा प्रशस्त रहेछन् । राष्ट्रवादका लागि एकथान राष्ट्रिय झण्डा उठाएर, सयौंका सयौं राष्ट्रघात हुँदा सम्म निम्छरो आस्थाको हुलिया बताउने नेपाली पनि सायद मै हो जस्तो लाग्न थाल्यो । छिमेकीले ७० ठाउँमा आफ्नो भूमी चिथोर्दा, गणतन्त्रको अब्बल राज्य व्यवस्थाका व्यवस्थापकहरु चाम कसेर बस्छन् । गरिवको पसिना निचोरेर, कालो शिसामा थुनिएका राज्य व्यवस्थापक र सञ्चालकहरुको उत्ताउलो रजाई हेरेर मनमा अशान्ति बाकेर शान्तिसँग सुत्ने नागरिक पनि मै हो । हुन त, जहाँ जे–जे भएपनि यो देश पनि मेरै हो । हिजो राज्यको बेथिति देखेर आन्दोलन, क्रान्ति, विरोध जनाउनेहरु राज्य आफ्नो हातमा लिएपछि ऐठन परेको मैले देखेको छु । हिजो गलत काम हुँदा शरमको धज्जी उठाउनेहरु, आज लाजै खुस्किदाँ ईच्च हाँस्ने गरेको फेरि यो आँखाले हेर्दैछ । जनसहभागीताबाट, जनताको अपेक्षा अनुसार राज्य सञ्चालन हुनुपर्दछ भन्दै, वर्गसंघर्ष, जनयुद्ध, समानता, समावेशिता, न्याय, अवसर, संस्कार सहितको व्यवस्थाको सवालमा एक थान संविधानमा जोड्यौ भनेर राजनैतक हैसियतबाट व्याज खान जति सजिलो छ, त्यति परिणाम दिन असजिलो । कुनैवेला राज्य विरुद्धको आन्दोलनमा जेलनेल परेको हिसाव कितावको चाङमा पुनः वेथितियुक्त राज्यले राष्ट्रको व्यवहार बिगारेको भोग्नु पर्दछ भन्ने नेपाली जनतालाई लाग्दैन होला । आन्दोलनमा जेल जान तयार हुने, गोली पड्किदा रगतको भेल सम्ममा होमिने, वर्षौसम्म जेलनेल लगाउँदा जिन्दगीको प्रवाह नगर्ने, राष्ट्रको अब्बल माया गर्ने, माक्र्सवाद, लेनिनवाद र माओवादका सिद्धान्तसँग जीवन र जगत देख्नेहरु आज लपस्तरो कम्युनिष्ट आचरण बिगारेको क्याडरको रुपमा विचार, सिद्धान्त र व्यवहारबाट च्युत हुनु हुँदैन्थ्यो । त्याग, समर्पण र बलिदानको रक्षा गर्दै परिणाम दिने बेला तिनै लालजोडाहरु वर्गिय मुक्तिको दर्शन सिरानी हालेर, पूजिवादी व्यवस्थाबाटै समाजवाद सम्मको टेढो बाटो समातेर, न्यून पूँजीवादी चरित्रबाट सौदावाजीमा कुस्ती खेलेको यि आँखाले देखिरहेको छ । लाखौंका संख्यामा हँसिया हथौडावाल मजदुर वर्गको लोगो उचालेर मालिक बन्ने, सामन्तवादको चिहान खनेर नयाँ निर्मित राज्य व्यवस्थामा, सामन्ती संस्काको क्रियापुत्री स्वयम् आफै बनेर श्राद्ध गर्ने, प्रगतिवादी माक्र्सवादका संरक्षकहरु, अझै कम्युनिष्ट नै मान्दा रहेछन् मेरो देशमा । सायद, नजान्नेलाई अंगेराको ठेटो, श्रीखण्ड बताएर भ्रममा राजनीति गर्नुको कर्तुत जान्नेहरुले राम्रो मानेका छैनन् ।
देशमा परिवर्तन नचाहिएको होईन । परिवर्तनकै लागि अनेकन आन्दोलन र बलिदानीहरुमा जनताको, राजनैतिक पार्टीहरुको योगदान अवश्य छ । तर, त्यसको सही व्यवस्थापन नगर्नु बेइमानी त पक्कै हो । यो अवस्था सम्म आइपुग्दा हजारौं नेपालीजनको बलिदानीपूर्ण भूमिका रह्यो । धेरैले सिउँदो पुछे, धेरैले रगत बगाए । धेरै अपाङ्ग, अशक्त बने । त्यत्रो बलिदानको औचित्य कहाँ पुष्टि गरियो । आज पनि भ्रष्ट्राचार, अनियमितता, अशान्ति, अनेकन फण्डा र काण्डहरु के यही अवस्था स्वीकार गरिएकोले त्यो बलिदान ठिक भएछ भन्न सकिन्छ ? कि अब अर्को समर्पणको खाँचो हो देशलाई ? अहिलेका शासकले यही सन्देश दिएका हुन् ?
गणतन्त्र ल्याएको मुलुकमा उत्साह लाग्दो बातावरणको सिर्जना हुनुपर्दथ्यो । स्थानीय स्तरमा जनतामा आशा भरोसा पलाएको हुनुपर्दथ्यो । आसा भरोसा त नेता र केही स्वार्थले उपभोक्ता समिति वा ठेकेदार कार्यकर्ताको अनुहारमा बाहेक मरि जानु अन्त देखिएन । जता हे¥यो त्यतै, राज्य व्यवस्थाको गतिलो प्रणाली देखिंदैन । जनताको सेवामा राखिएका सरकारी निकायमा जता जाऊ, उतै ज्यान टकटक्याएर पैसा तिर्नुपर्छ । न्याय दिन बसेको न्यायालयले न्याय दिन आनाकानी गर्छ । आज पनि गरिबले न्याय खोज्न अदालत नगए पनि हुन्छ । न्याय सेवा, शिक्षा, स्वास्थ्य र दैनिक जीवनसँग जोडिएका सवालहरु गरिव जनताको पहुँच बाहिर छ । सेवा प्रदायक सरकारी कार्यालयमा सेवाको पहुँच सजिलो छैन । गणतन्त्रमा जनताले चुनेका जनप्रतिनिधिहरु सामन्ति सोंचले ग्रसित छन् । जसको पहुँच छ, त्यसको काम छिटो हुन्छ । परिपाटी यस्तो छ । राजनैतिक सिद्धान्तका दृष्टिले पनि लोकतन्त्रमा यसो नहुनु पर्ने हो । राजनीतिले यसलाई सहज र सरल बनाउनुपर्ने हो । यो सिद्धान्तमा मात्र सीमित छ । राजनीतिक दल विनाको न लोकतन्त्र सम्भव छ न लोकतन्त्र विनाको राजनीतिक दल । यी दुई एक आपसका परिपूरक त हुन । तर स्वरुपको राजनीति भयो, रुपको भएन । शिद्धान्तको भजन बज्यो, व्यवहारिक बैतरणी राजनैतिक दलका नेता चढ्ने प्रयासमा देखिन्छन् ।
राजनीतिको प्रयोग
आज राजनीति भनेको स्कुलमा गरिन्छ । धारा पँधेरामा गरिन्छ । अर्काको खुट्टा तान्नमा गरिन्छ । स्कुल कलेजमा सबभन्दा बढी राजनीति शिक्षामा देखिन्छ । स्वास्थ्यमा, सडकमा, जतिपनि सार्वजनिक र सामाजिक स्थानहरु छन्, त्यहाँ गरिन्छ । त्यहाँ त नीतिको प्रकार गरिनुपर्ने हो । सिस्टम माथि बहस हुनुपर्ने हो । व्यवस्थापनका कुरा हुनुपर्ने हो । अप्ठ्याराहरुको सरलता खोजिनुपर्ने हो । मानौं,अहिलेको राजनीतिको लहर नै त्यस्तो छ कि म राजनीति विना चुप लागेर बस्छु भनेर कोही सुख पाउँदैन । यसकारण राजनीति भनेको सामान्य मान्छेले फोहोरी खेल हो भनेर नबुझ्नका लागि राजनीतिक आचरण सुध्रिनुपर्छ । हाम्रा राजनैतिक आचरण र स्वभाव भ्रष्टीकरण भएको प्रष्टै देखिन्छ । व्यक्तिगत स्वार्थ र गुटगत अतिवादका कारण राजनीति फोहोरी बनेको पक्कै हो । आजको राजनीतिमा अपराधिकरणको कुतत्व छिरेको छ । ठिकलाई बेठिक र वेठिकलाई ठिक भन्नुपर्ने सँस्कारको अन्त्य गरिनुपर्छ । विकास र विचारले जनताको मन जित्नुपर्छ ।
त्यसैले राजनीतिमा हिरो बन्न राष्ट्र र समाजले खोजेका एजेण्डा अघि सार्नुपर्छ । अघि सार्ने मात्र हैन, गरेर पनि देखाउनुपर्छ । आजको जस्तो समाज, समाजवाद, विकासवाद, मुकुण्डोवाद, अतिवाद आदि वादहरूको पहिचान र पौरख गर्नु जनताको कर्तव्य हो । जनता सचेत नभएकै कारण राजनीतिमा बेथिति भित्रिएको हो । नीजि स्वार्थसँग आफ्नो अभिमत र स्वाभिमान अन्जानमा बेचेर जिन्दाबाद गरिरहँदा जुगजुग बेथितिपूर्ण राजनीतिले हामी आफैलाई मुर्दाबाद भनेकै छ । सानो स्वार्थसँग राजनैतिक नेताका ठूला स्वार्थ प्रमाणित गरिदिने हामी जनताको कमजोरी हो । राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखिन्छ । अब भन्न के डर भो ? हाम्रा भन्दैमा राम्रा देख्न हुँदैन, यो त सत्य हो ।
जनताको संघर्ष र सफलतामा धमिलोपन मानिसका सम्पूर्ण सफलताको साधक संघर्ष हो । मागेर वा रोइधोई या याचना गरेर पाएको सफलतालाई संघर्ष मान्न कदापी सकिँदैन । उत्साह, हिम्मत, साहस, आटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ । आजको राजनीतिले ह्रदयभित्र उर्लेका भावलाई गहकिला शब्दमा पोखेर मात्र सम्भव छैन । व्यवहारिक रुपले त्यसको कडा प्रतिवाद चाहिन्छ । राजनीति नै धमिलाएर, जनताको संघर्ष बलिदानीलाई तिलाञ्जली दिने परिपाटी जनताको संघर्षमा धोका हो ।
गरिबीको गित गाउँदै राज्य तहमा पुगेर एक नेताको जीवनलाई चिरिच्याँट्ट पारेर सजाउन समुन्नत र विकसित बनाउन कठोर परिश्रम र सक्रियतारूपी युद्ध स्वच्छ विद्रोह वा स्वच्छ प्रतिस्पर्धारूपी लडाई आवश्यक पर्दछ । के यही हो, हामी जनताको महानता ? सभ्यताको मिर्मिरेदेखि वर्तमानसम्म मानिसले जे जति उपलब्धि हासिल गरेको छ । त्यो निरन्तर परिश्रम र सक्रियतारूपी कठोर संघर्षको प्रतिफल हो । सम्पूर्ण उन्नति र विकास बीचको तत्व नै संघर्ष हो । यसलाई त हामी मान्छौं । तर, यसको संघर्षमा साथ दिएकालाई लात दिएर हाम्रो स्वाभिमान ठिक छ भन्दै बस्नु जस्तो मुर्खता गिदिमा अटसमटस हुँदैन ? वास्तविकताको धरातल भासिएको छैन, जसरी इमान्दारिता र समर्पणमा दाग लागेको राजनीति छ ।
राजनीति यस्तै हो भन्नेहरु हिजो किन बर्बराएको उसो भए । उसबेलाका सत्तासिनहलाई पनि त उनीहरुको सँस्कार, परिपाटी, व्यवस्थापन ठीक थियो होला त । जनताको अवस्था त हिजो भन्दा आज यहाँ फरक छ भन्ने केही उपलब्धी देखिन्छन र ?
होईन भने गफले जिन्दगी चल्देन नेताजी, समृद्धिका लागि राजनीतिका शुशासन चाहिन्छ, नेतामा त्याग र इमान्दारिता चाहिन्छ न कि ललिता निवासमा किचलिएका गिद्धे आँखा, सामन्तवादी चिन्तनका राता कार्पेट, काला शीसावाल पजेरा, राज्यबाट तिमीले भोगेका नीजी सुख–सुविधा, ऐश, आरमले समाजवाद आउँदैन । यो नीति, थिति र राजनीति विगारेकाहरुले स्वीकार गर्न सक्नु पर्दछ ।