–राम सुवेदी
क्षमता अनुसारको राय, सुझाव र सत्य बाटो देखाउनेलाई सल्लाहकार भनौं । नेपाली समाजमा कसले कसलाई कस्तो सल्लाह दिने भन्ने खास मतलव नराखिने भए पनि, जो जहाँ छौं, रचनात्मक, आलोचनात्मक र भावनात्मक सरसल्लाह फ्रिमा दिने हो । दिनेले दिंदै गरौं, लिनेले लिन सिकौं । हामी अलिकति जान्ने जस्तो, बोल्न सक्ने र विभिन्न सवालमा चासो राख्नेलाई, सुझाव वा राय व्यक्त गर्न सक्ने सल्लाहकार भन्ने ठानौं । हजुर, हजुर भन्ने र वरपर लखर–लखर गर्नेहरु मात्र सल्लाहकार हुँदैनन् । बिग्रिएको भत्किएकोमा यसो भयो भन्नु पनि गज्जबको सल्लाह नै हो । मान्नेले मानौं, नमान्नेले आँफै जानौं । जो सामाजिक उत्तरदायित्वमा रहेका छन्, उनीहरुलाई आवश्यक परामर्श दिएर कार्य सम्पादनमा सहजता ल्याउन कुनै न कुनै माध्यमबाट सजग, सहज र चेतनशील गर्छ, खासमा त्यही त सल्लाहकार हो । हाम्रा बीचमा रहेका आधिकारिक संस्था र व्यक्तित्वहरुले जबसम्म सुझावलाई गुलाफ, सल्लाहलाई साक्षात उपयोगको जग सम्झिँदैन वा मान्दैनन् । तबसम्म सबै सल्लाहकारहरु वास्तविक सल्लाह दिनेमा पर्दैनन्, हनुमानका उपमामा सिमित हुन्छन् । जसका आलोचना, राय, सुझाव र उचित योजनालाई मनन्कर्ताले अन्तरआत्मबाट हृदयले स्पर्श गर्दै प्रयोगमा ल्याउँदैनन्, तब सम्म हिसाबी सल्लाहकारहरु हिसाव बुझे जस्तो गरि मुन्टो हल्लाउने इमान्दार हुन सक्लान, उही बुझाउन सक्ने दमदार रहने छैनन् ।
राज्य तहका जिम्मेवार व्यक्तिहरु यसखालका सल्लाहकार राख्ने काम गरेको पाईन्छ । उनीहरु आँफै राखेका सल्लाहकारलाई वा विज्ञका रुपमा नियुक्ति गरेका व्यक्तिका राय सुझाव गम्भिरतापूर्वक मनन गर्दैनन् । अर्कोतिर सल्लाहकार भनेको कार्ययोजना, नीति र शैलीमा आँफ्नो अनुभव, विश्लेषण पछिको लाभ र असर तथा त्यसको सही प्रतिफलको सवालमा जानकार रहिरहनुपर्दछ । तर, हामीले देख्ने गरेका र व्यवहारतः अभ्यासमा आएका सल्लाहकारहरु उनीहरुको क्षमताले नभ्याएर हो वा क्षमता भए पनि त्यसको उपयोग गर्न सक्ने क्षमता नराखेर के हो । हो मा हो, मिलाउने खालका हुन्छन् । जहाँ त्रुटी, कमजोरी भए पनि आँफ्ना विचार प्रकट गर्दछन् । राज्य तहले यसरी राखेका वा नियुक्त गरेका सल्लाहकारहरुका प्रवृत्ति र उनीहरुको वर्तमान कार्यशैलीले सल्लाहकारको ओझ राख्न सकेको देखिंदैन ।
अभ्यासमा विशेष संघ संस्था र राज्य तहबाट यस्ता सल्लाहकारहरु राख्ने गरेको पाईन्छ । कानुनी विज्ञता भएको व्यक्ति, प्राविधिक पक्षको जानकार व्यक्ति प्राविधिक सल्लाहकार, नीति, निर्माणमा योग्यता राख्ने, राजनैतिक संकट टार्न सक्ने क्षमता राख्ने, प्रेस जगतमा राम्रो क्षमता राख्ने, सामाजिक औचित्य बुझ्ने जान्ने व्यक्ति उसको क्षमता योग्यता अनुसारको आवश्यक सल्लाहकार पदमा रहेर आवश्यक परेको ठाउँमा सुझाउन, समस्यामा राय, सुझाव राख्न र कार्यान्वयनमा सघाउन सक्छ । तर, कतिपय ठाउँमा योग्यता क्षमताका आधारमा सल्लाहकार पदमा नियुक्त गरिएको भए पनि उनीहरुको कार्यसम्पादनका कारण जसका लागि जे ठाउँमा सल्लाहकार राखिएको हो, तत्तत् ठाउँमा समस्या आउँदा उनीहरुको क्षमता माथि प्रश्न उठिरहेको हुन्छ । यसो हुनुमा खास समस्या के हो त ? यसको चर्चा आवश्यक छ ।
सल्लाहकारबाट सल्लाह लिइदैन :
सल्लाहकार भनेर जसले, जहाँ, जसलाई राख्ने गरेका हुन्छन् । त्यहाँ त्यो विषयमा सरसल्लाह नै नहुने परिपाटि रहेको कतिपय सल्लाहकारहरुको गुनासो देखिन्छ । सल्लाहकारले आफ्नो राय, विचार र विषयमा विश्लेषण गर्ने हो । त्यसो गरिने परिपाटिको अभ्यास नभए पछि, केका लागि सल्लाहकार भन्ने सवाल उठ्नु जायज छ । विषयवस्तुको विज्ञता छैन भनेर हो वा आवश्यक नठानिएर के हो, सल्लाहकारहरुसँग कम परामर्श हुन्छ भन्ने धेरै ठाउँहरुबाट कुरा उठिरहेको हुन्छ । आवश्यक परेको बखत सल्लाह लिनका लागि भन्दा पनि तलव वा भत्ता खुवाउन राखिएका सल्लाहकारहरुसँग सरसल्लाह लिने कुरा भएन, यो सवाल पो हावी हो कि ? त्यसकारण पनि उनीहरुको औचित्य माथि प्रश्न उठेको हो । जो राम्रो विषय होईन ।
सल्लाहकारको मापदण्ड :
सल्लाहकार भनेको एक खालको विज्ञता देखाउने, क्षमता देखाउने र समस्याको हल गर्ने पहलकर्ता हो । को व्यक्ति, के विषयको दक्षता, क्षमता राख्छ भन्ने थाहा नभइकन, आवश्यकता नहेरी हचुवाकोभरमा पदमा व्यक्ति नियुक्त गर्ने गलत प्रवृत्तिका आज राज्य निकायमा हावी छ । यसकारण पनि ति निकायले नियुक्त गरेका विभिन्न ओहोदाका सल्लाहकारहरु प्रति नै प्रश्न उठ्ने गरेको पाईन्छ । अझ राज्यमा पुगेका राजनैतिक दलबाटै आँफु इतरको नेता, कार्यकर्तालाई सल्लाहकार भर्ती गर्ने र उनीहरुलाई राज्य कोषको पैसा पोस्ने गलत परिपाटिले वर्तमानका जनप्रतिनिधिहरु बढ्ता आलोचित छन् । जसले नियुक्त गरे उनीहरुनै त्यसको औचित्य पुष्टि गर्न सक्ने अवस्थामा छैनन् । यसले गर्दा सल्लाहकारको मापन कसरी गर्ने भन्ने सवाल उठेको हो । विषयको दक्षता, तोकिएको व्यक्तिको क्षमता र कार्य दक्षतालाई मापदण्ड बनाउन सकिएन भने, ति सल्लाहकार हुँदैनन्, हल्लाकार हुन्छन् ।
सल्लाहकारको औचित्य :
कतिपय कामको परिणाम दिन सकिएन भने त्यो कामको औचित्य माथि विचार गरिनुपर्ने अवस्था आउँछ । खासगरी स्थानीय तहमा, साँसद र मन्त्रीहरुले राख्ने गरेका सल्लाहकारहरुको औचित्य माथि पछिल्लो समय राम्ररी प्रश्नहरु उठान हुने गरेका छन् । सही समयमा सही सरसल्लाह दिन नसक्ने, विषयको ज्ञान नै नभएका मान्छेहरुलाई सल्लाहकार बनाएर चुली चढाउँदा, त्यही सल्लाहकार चुलीबाट वास्तविक धरातल सम्म आइ नपुग्दै कहालिने अवस्था प्रशस्त छन् । क्षमता र विज्ञता विनाको जो कसैले पनि परिणाम दिन सक्ने कुरा भएन । कोही मान्छे, कुनै जनप्रतिनिधिबाट आश गर्छ, पासमा घुम्छ र गाँस खोज्दै हिँड्नेछ भन्दैमा त्यो सल्लाहकार नहुने होला । यदी त्यस्तो मान्छेलाई सल्लाहकार भन्ने पद र आसनमा नियुक्ति कर्ता संस्था र व्यक्तिको समेत लेखाजोखा समाजले नगरेको पनि होईन । खास अर्थमा सल्लाहकारले आफ्नो ओहोदा, काम, कर्तव्य र जिम्मेवारीको बोध नजान्ने बेलासम्म उनीहरुको औचित्यमा सधै प्रश्नहरु उठिरहन्छन् । नागरिक स्तरबाट त्यस्ता काममा जब प्रश्नहरु उठ्छन् त्यसको सत्य जवाफ नदिनु नागरिकको जवाफदेहिताको हक माथि जनप्रतिनिधिको बल मिचाई हो । कतिपय स्थानमा त जसलाई सहज होस् भनेर सल्लाहकार राखियो उनीहरुका कारण उल्टो समस्या पैदा भएका उदाहरण पनि देखिए । सल्लाहकारको भूमिका राय राख्ने, विचार व्यक्ति गर्ने, आएका नीति कार्यक्रममा सहजता ल्याए दिनुपर्ने हुनुपर्नेमा अप्ठेरो पार्ने, औकात भन्दा माथि उभिएर प्रस्ताव नै पेश गर्ने, यसो भनेको भए हुन्छ नभए मेरो आपत्ति छ, असहमति छ जस्ता कुराहरु पनि सुनिएका छन् । यसो हुनु, आफ्नो औचित्य र अस्तित्वको हद भन्दा तल ओर्लनु हो ।
विश्वसनीयता :
सल्लाहकार भनेको राय दिने, विषयको सटिक र सबैको चित्त बुझ्दो विश्लेषण गर्ने, कार्य सम्पादनमा सहजता ल्याउन सकरात्मक पहल गर्ने, भरोसायोग्य दायित्व हो । उनीहरुको काम, व्यवहार र प्रतिनिधित्व सिंगो संस्थाको साझा बन्न सक्नुपर्दछ । यहाँ, आसपास र गास खोज्नेहरुलाई सल्लाहकार बनाईन्छ । त्यहाँबाट उचित राय आउँदैन । यसो गर्दा उपयुक्त हुन्छ भन्ने ओझिलो विचार आउँदैन । हो हो भन्ने र मुन्टो हल्लाउने वा हजुर हजुर भनेर तलब थाप्नेहरु कसरी सल्लाहकारको भूमिकामा भए भन्ने मूल प्रश्न हो । जस्ले सल्लाहकार जस्तो गरिमामय पदको भरोसा आम नागरिकमा त के स्वयं नियुक्ति गर्ने निकाय र व्यक्तिलाई भरोसा छैन । यसरी आफ्नै हैसियत र दपमाथि विश्वसनीयता नभएको अवस्थामा सल्लाहकार पदको अर्थ पुष्टि हुँदैन ।
हुनुपर्ने के हो ?
कुनै निकायको सल्लाहकार भन्ने वित्तिकै ऊ सँग फरक क्षमता छ अर्थात अनेक बाधा अल्झन र समस्याको नयाँ विकल्पमा रचनात्मक राय राख्ने जनशक्ति हामीसँग छ भन्नु हो । कार्ययोजना वा नीति निर्माण गरिंदा त्यसको कार्यान्वयनमा कहाँ–कहाँ असजिला आउनेछन् । त्यसको सहजीकरण यो–यो कारणले सम्भव छ भन्ने राय दिने हो । बनेका कार्यक्रम वा नीति सही तरिकाले कार्यान्वयन भयो भएन त्यसको बेला बेला समिक्षा गर्ने हो । पद, हैसियतको मोलमोलाई गर्नु सल्लाहकारको नैतिक रहस्य होईन । मलाई यति देऊ, उति लेऊ, नभए हुन्न भनेर आफ्नो उचाई छोटो बनाउने सल्लाहकार हुँदैनन होला । उनीहरुबाट नियुक्तकर्ताको आसा, भरोसा राखेको हुन्छ । गलत नियतले त्यो हैसियतमा जानेहरुबाट पक्नै आवश्यक राय, सुझाव र सहजीकरण पाउने, निकायले न्याय पाउँदैन । विचार, विवेक र शैलीका हिसावले पनि सल्लाहकार नियुक्त गरेको संस्था वा व्यक्ति भन्दा उपल्लो हैसियतबाट आफ्नो कार्यसम्पादन गर्ने क्षमला सल्लाहकारहरुले राख्न सक्नु पर्दछ । नियुक्त गर्ने निकाय र व्यक्तिका लागि मात्र होईन । साझा संस्था र साझा व्यक्तिका सल्लाहकारका हैसियतमा उनीहरु आँफुलाई उच्च छविका साथ उभ्याउन सक्नुपर्दछ । सबैखाले विचार, सबैका राय, सुझाव र चिन्तनलाई आत्मसाथ गर्ने क्षमता राख्नसक्नु पर्दछ । हिसाव र हैसियत भन्ने अरुले मिलाउने कुरापनि होईन । आफै मिलाउने क्षमता राख्ने हो । त्यसकारण स्वयंमको जिम्मेवारी, कर्तव्य र उपस्थितिमा ठेस नपुगोस् भनेर सचेत रहनसक्ने व्यक्तिमात्र त्यो विषय विज्ञताका आधारमा सल्लाहकार रहन सक्छ । यो रहरले गर्ने कुरा होइन, ओहोदा देखाउन, तलव भत्ताको आसाअपेक्षा र कसैको आग्रह अनुग्रहले आसिन हुने पदपनि होईन । कार्यशैली आफ्नो ठीक पार्दै, सम्बन्धित निकायको कार्यशैलीमा आमूल परिवर्तन गराउन सक्ने औकात कायम गर्न सक्नुपर्दछ । त्यसो भएन भन्ने प्रशन अहिले पदासिन सल्लाहकारको जिम्मेवारीमा रहेका प्रति उठेको होला ।