कोरोना भयावह र नेपाली अटेरी प्रवृत्तिको जोखिम

-सोम शर्मा
यतिखेर म देशको राजधानी काठमाण्डुमा छु ।यो लेख लेख्ने बेलासम्म काठमाण्डुमै कोरोनाको तीन जनामा संक्रमण भेटिएको छ भने एक जना पुर्ण रुपमा निको भैसकेका छन् । यतिखेर देश त्रासयुक्त अबस्थामा छ, कतै चीन र इटाली जस्तै गरेर यहाँ महामारी फैलियो भने देशले यसलाइ रोक्न नसक्ने सोचेर सबै निकै भयभित देखिन्छन् । हुन पनि सत्य यहि नै हो कि अझै पनि सरकारले आबश्यक पुर्बाधार र बिज्ञ तयार गर्न सकेको छैन । अझै यो रोगले बिकराल रुप लियो भने के गर्ने त भन्नेमा हाम्रो सरकार अझै सुस्त नै देखिन्छ । तर, यसो भन्दैमा सरकारले देशलाइ बर्बाद पार्न खोजिरहेको छ पनि भन्न मिल्दैन । सरकारका कतिपय तयारी र निर्णय स्वागतयोग्य नै छन् । यहाँ चर्चा गरौ केही मैले भोगेका भोगाइबाटः

केही दिन अघि कोरोनाको महामारीबाट बच्न भनेर सरकारले अत्याबश्यक नपरे सम्म बाहिर ननिस्कनु र गाडीमा धेरै ब्यक्ति नहाल्नु, अत्याबश्यक सामान सहज तबरले उपलब्ध गराउनु भनेर सुचना जारी ग¥र्यो, त्यसपछि मलाइ बुझ्न मन लाग्यो कि साच्चिकै जनता अब सचेत भएका छन् त ? म अनि एक जना साथी पुर्ण सुरक्षित भएर काठमाण्डु अनुगमनमा गयौ । के अब जनता साच्चिकै सचेत होलान् त ? सुरुवात नयाँ बानेश्वर चोकबाट सोचेको थियौ । अब त गाडीमा सिट क्षमता भन्दा बढि बस्दैनन् होला तर हामी अचम्मित भयौ । जब त्यहाँ पुग्यौ, उहि कोचाकोच उहि भयाबह स्थिति । तुरुन्त गाडीमा छिरेर सबैलाइ सचेत गराउन थाल्यौ । कृपया सरकारले भनेको कुरामा हामीले आत्मसाथ गरौं । यसरी हुल हुज्जत भएर कोचाकोच भएर नहिंडौं । हाम्रो जीवन हाम्रै हातमा छ । तब प्रश्न आउथ्यो सर प्लिज आज मात्रै हो के जान दिनुस् न । हैन सर, हामीलाई नि थाहा छ तर अलि हतार भएर हो । र केहिले गाडी दुई तीन वटा मात्र त छ कसरी नकोचिइ जाने त ? आखिर हामी सम्बन्धित ठाउँमा पुग्न त प¥यो नि । गाडी मालिकले नि केहिले भन्न थाले सर कमाउने भाँडो यो हो, यसरी नहाल्नुस् नभन्नुस् न । कमाउन पाउनुप¥यो नि हामीले भने । केहिले खै सर हामीले त झर्नुस् भन्छौ तर मान्दैनन्, हामीलाई जानू छ जसरी पनि भन्छन् । यस्ता अनपेक्षित उत्तरको ओइरो आइरह्यो हामीलाई । लाग्यो हामी जनतालाई यसै भेडाको उपमा दिएको होइन रहेछ । आखिर यो सब कसको लागि तिनै यात्रुको लागि हैन र ? तिनै यात्रुको स्वास्थ्य राम्रो होस्, कोरोना नलागोस् भनेर हैन र ? अनि उनीहरु नै किन अनविज्ञ या यसरी अटेरी भएका होलान् ? होला कतिपय अबस्थामा गाडी कम भएर हुल हुज्जत गरेर जानुपर्ने अबस्था आउला रे । तर, मानिलिउ त्यहाँ मध्ये कुनै एक जनालाई मात्र कोरोना लागेको रैछ भने त्यसले ती सबै यात्रुलाई नसार्ला र ? अनि किन यति कुरा ख्याल नगरेका हुन् ती यात्रुहरुले । लाग्यो हामी सचेत बनाउन भन्दा हाम्रै स्वार्थका लागि हिंडेका छौ ।

एक पटक त किर्तिपुरमा गाडीको ढोका नै लाउन नमिल्ने गरि गाडीमा मान्छे कोचाकोच पारिएको रहेछ । हामीले रोक्यौ र भन्यौ–कृपया तपाइहरु यसरि जोखिम नमोल्नुस् तर त्यहाँका यात्रुहरुले प्लिज सर छोड्नुस् हामीलाई ढिला भएको छ भनेर सबै भन्न थाले पछी दुई शब्द भनेर छोडिदियौं । हस् हजुरहरु जानुस्, यदि यो हुलमा कसैलाइ कोरोना लागेको रहेछ भने तपाइलाई पशुपतिनाथ ले नै बचाउन्, यो खालको अज्ञानता भनौ या अटेरी, लापरवाही ? हामी नेपाली जनतामा यस्तो प्रवृत्ति व्याप्त छ । यसले त पक्कै पनि यत्ति प्रष्ट हुन्छ कि पछि मानिसमा सत्बुद्धि पलाउन ठुलै महामारी नै आउनुपर्छ तर त्यतिबेला धेरै ढिला भैसकेको हुन्छ । तब न पशुपतिनाथले जोगाउनेछन् न त कालिका मन्दिरले नै जोगाउन सक्नेछन् ।

अहिले देशमा लकडाउनको अबस्था छ । सबै भन्दा गज्जब त के छ भन्दा लक डाउनमा समेत नेपाल बन्द जस्तै दिउँसो भरी कोठामा बस्ने सांझ बाहिर निस्किने प्रवृत्ति छ । लकडाउन भनेको घर भित्रै बस भनेको हो न बिहान न दिउँसो न साँझ बेलुका घुम्न जाउ भनेको हैन । रमाउन मन छ घरभित्रै रमाउ, तर बस बाहिर ननिस्क भनेको हो । सरकारले आफ्नो घरबाट बाहिर ननिस्किनु है भनेर भनेकै दिनदेखी काठमाण्डुको बसपार्कमा दशैंमा झै भीड लागेको थियो । त्यो कतिसम्मको लापरबाही होला । के कुराको अचम्म लाग्यो भने मानौ कि काठमाण्डुमा मात्र हो कोरोना आउने गाउँ गाउंतिर त जाँदै जांदैन । १० दिनको अवधिमा १२ लाख मानिस राजधानीबाट बाहिरिएका छन् । जब सरकारले यो अबस्थामा कतै नजाउ भन्दै गर्दा पनि यो अवस्था देखियो भने सोच्नुस्, हामी यतिको भीड गरेर यात्रा गर्ने हामी के हौ ? खोइ हाम्रो बिबेक ? अझै त्यो गाडीमा जाँदै गर्दा मुढाको पनि टिकट काटेर आइयो भन्ने पनि सुनियो । अब त्यसरी ठेलामठेल घर जाँदा कतिले कोरोना बोकेर पनि नगएका होलान् भनेर बिश्वस्त कसरी हुने ? अनि यो किन नभन्ने कि बास्तवमा खतरा त अब काठमाण्डुमा हैन गाउँ तिर भयो ।

काठमाण्डुमा त अहिले मान्छे हिँड्नै छोडे तर गाउँ घर तिरको चलन त वल्लो पल्लो घर, गाउँ चहार्ने चलन छ नि । त्यसले झन् कति भयावह अवस्था सिर्जना गराउला । त्यसमा कत्तिको सजग छन् त गाउँ छिरेका सबै मान्छे । कि गाउँमा जति डुले पनि नसर्ने भन्ने सोचेका छन् र ? यता पनि सम्बन्धित निकाय सचेत भएर सहरमा मात्रै हैन, गाउँमा पनि निगरानी बढाउनुपर्ने देखिन्छ । किनकी जनताले आँफै त मान्नेवालै छैनन्, नत्र किन बागलुङ जिल्लामा जनतालाइ घरमै बस् भने सेना नै परिचालन गर्ने अबस्था आउथ्यो होला र ? अतः कोरोना एक भाइरस हो, यसले सानो ठूलो भन्दैन, धनी गरिब भन्दैन । ठुला व्यापारी साना व्यापारी भन्दैन । यस्तो बेलामा कालोबजारी गरेर त्यसको संक्रमण आँफैलाइ निम्त्याउनु नै हुन्छ । यो नाकाबन्दीमा गरेको जस्तो हैन । यसले तपाइले अरुलाइ जोगाउनु भएन भने तपाईं आँफै पनि जोगिन सक्नुहुन्न । त्यसैले खाद्यान्न औषधी सबै कुरा सहज र सरल तबरले सेवा पु¥याऊ । ठग्दा लुकाउँदा कानुनी अपराधी मात्र हैन, तपाइहरु मानवता बिरोधी, संवेदनाहिन हुनुहुन्छ । अहिले घरमै बसौं केहि दिन नत्र फेरि जिवनभरी हस्पिटलको बेडमा बस्नुपर्ने दिन आउला । अहिले घरमै सुतौं केहि दिन, नत्र संधैको लागि सुत्ने दिन आउला भन्नेमा सचेत बनौ । अहिले मज्जाले घरमै बसेर पुजाआजा गरौ, नत्र आफ्नै नाममा श्राद्द गर्नुपर्ने दिन आउने जोखिम छ । अहिले घरमै अरुलाई टिभिमा हेरेर बसौं, नत्र पछि समाचारमा आफ्नै संक्रमण र मृत्युको खबर अरुले टिभिमा हेर्नेछन् । बस् अहिले केहि दिन सरकारलाई साथ दिऔ । त्यो भनेको आँफुलाई आँफैले जोगाउनु पनि हो । अनि त्यसपछी त तपाइले भोली धेरै गर्न र जोगाउन सक्नुहुन्छ नि । सतर्क हौ, साबधान बनौ तर डराएर आत्तिएर नबसौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *