–विरेन्द्र कुमार चौधरी
गत चैत १५ गते बागलुङको एक युवतिमा कोरोना संक्रमण पोजिटिभ देखियो । त्यसको भोलिपल्ट नै स्वास्थ्य कार्यालय बागलुङको तर्फबाट म सहितको टोली बिरामीसँग सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांक लिन तथा स्वास्थ्य स्थिती बुझ्न (Contact Tracing) पुग्यौ । सम्पर्कमा आएका व्यक्तिहरु मध्ये केहि सँग प्रत्यक्ष भेटघाट भयो भने केहि सँग फोन सम्पर्क मात्र हुन सक्यो । हामी निरन्तर सबैसँग सम्पर्कमा छौ । हालसम्म उहाँहरु मध्ये कसैमा लक्षण देखिएको छैन ।
कन्ट्याक्ट ट्रेसिङ्गको शिलशिलामा हामी पुगेको पहिलो परिवार एक महिला र उहाँको दुई बच्चा सहितको सानो परिवार रहेछ । वार्तालाप सामान्य रुपमै शुरु भयो । तर, वार्तालाप शुरु भएको केही समय पछि घरमुली महिलाको आँखाभरी आँशु देखियो । उहाँँले रुदै आफू या आफ्नो बच्चालाई केही भइहाल्ने पो हो कि ? भनी डर संशय व्यक्त गर्नुभयो । हामीले यथोचित समय दिएर सक्दो परामर्श ग¥यौ । हामी गएर आफुले सान्त्वना पाएको भनी हामीलाई धन्यवाद दिदै बिदा गर्नुभयो । दोश्रो परिवार संक्रमित युवतिको एकदमै मिल्ने साथिको रहेछ । आफ्नो साथिलाई संक्रमण देखिए पछि चिन्ताले उनको पनि टाउको दुख्दो रहेछ। हामी पुगेको अन्य परिवारमा पनि अवस्था खासै फरक थिएन । कोरोनाले ग्रसित नभए पनि कोरोनाको डरले ग्रसित थिए सबै । हामी जहाँ पुग्यौ, सामाजिक सञ्जालमा जस्तो गाली नभइ धन्यवाद पायौं । अचम्म त तब लाग्यो, जब मैले संक्रमित युवतिको घर अगाडि नै रहेको विद्यालयको नाम पढे–‘कोरोना एकेडेमी’
कोरोनाकै कारण बिदेशको कार्यक्रम छोडेर फर्किनुभएका एक सज्जनले आफु संक्रमित भइयो कि ? भन्ने आशंकामा हामीलाई सम्पर्क गर्नुभयो । हामी परीक्षणको लागि नमुना लिन उहाँको घरमा पुग्यौ । ती सज्जन घरमा एक्लै हुनुहुदोरहेछ । परिवारका अन्य सदस्यहरु सोही घर अगाडिको अर्को घरमा बस्नु हुदोरहेछ । परिवारको कोही पनि सदस्य उहाँको नजिक नआउने गरेको जानकारी पाए । रोगको हिसाबले यो निर्णय एकदमै सहि हो । तर, यसले ति सज्जनमा पर्ने मानसिक असर त उहाँको मनोबलमा भर पर्छ । ति सज्जनको परीक्षणको नतिजामा संक्रमण नरहेको देखिएको छ ।
एउटा अर्को प्रसङ्ग पनि छ । नमुना संकलनकै क्रममा एउटा ठाउँमा हामीले पहिले सो ठाउँको स्वास्थ्य चौकी प्रमुख र वडा अध्यक्ष ज्यू सँग भेट्यौं र उहाँहरुको सहयोगमा नमुना संकलन गर्ने स्थानमा जाने निधो भयो । उहाँहरुलाई हामीले हाम्रो गाडीमा बस्न अनुरोध ग¥यौ । स्वास्थ्यकर्मी साथी हामीसँगै गाडीमा बस्नुभयो भने वडा अध्यक्ष ज्यू हामीसँग बस्न डराउनु भयो । उहाँ हाम्रो भ्यानको पछाडीको सामान बोक्ने ठाउँ (ट्रली) मा उभिनुभयो ।
र यो अन्तिम प्रसङ्ग । छैटौं संक्रमित पुष्टि भइसकेपछी उहाँलाई अस्पतालमा स्थानान्तरण गर्न प्रशासन, सुरक्षा निकाय, अस्पताल र स्वास्थ्य कार्यालयको प्रतिनिधिहरुको बैठक बस्यो । कोरोना संक्रमित बिरामीलाई बोक्ने भनेर तयार गरिएको एम्बुलेन्स बोलाइयो । तर, आएको दुई तीन मिनेटमै एम्बुलेन्सको साँचो त्यहीँ छोडेर चालक गायब भए । विभिन्न सञ्चार माध्यमले प्रशासन, सुरक्षा निकाय र अस्पताल पन्छिन खोजेको भन्दै समाचार पनि छापेका छन् । ती निकायहरु पन्छिन खोजेको तिनैले जानुन् । पीपीई हुदाँहुदै पनि चालक उपलब्ध नभएपछी आफुसँग सवारी चालक अनुमति पत्र भएकोले आफै जान्छु भनी म पनि तम्सिए । अन्त्यमा पीपीई प्रयोग गरि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख र चालक गएर बिरामी लिएर आउनुभयो । सोही घटनालाइ मध्यनजर गर्दै स्वास्थ्य कार्यालय बागलुङले जिल्लाका केहि एम्बुलेन्स चालकहरुलाई अभिमुखिकरण सहित पीपीई उपलब्ध गराएको छ । आशा गरौं, आगामी दिनमा यस्तो घटना दोहोरिने छैन ।
यी घटना मैले बिना अर्थ प्रस्तुत गरेको होइन । यी घटनाहरु समाजमा कोरोना सम्बन्धी रहेको भ्रम र कोरोनाको कारणले फैलिएको त्रासको उपज हो । आज शुरुकै चरणमा देखिएका यी घटनाहरुले यस्तो अवस्था छ भने दुर्भाग्यवश महामारी फैलिएपछी कस्तो रुप देखाउने होला ? कल्पना गर्न सकिँदैन । आखाभरी आँशु बोकेका ती महिलाले महामारीको समयमा आफुलाइ कसरी सम्हाल्छिन् होला ? नमुना लिने स्वास्थ्यकर्मीसँग डराउने वडाअध्यक्ष ज्यूले महामारीको समयमा कसरी कार्यसम्पादन गर्नुहोला ? आज बिरामी बोक्न डराएको एम्बुलेन्स चालक महामारीको अवस्थामा लुकेर बसे के होला ? एक पटक सोचौं त ।
अब कुरा गरौं कारणको । जहाँ पनि तथ्य भन्दा अफवाह छिटो फैलिन्छ । सामाजिक सञ्जालले सबैलाई जोडेको छ । बिद्युतिय समाचारपत्रको दौडमा जित्नका लागि सबैले भड्किलो शीर्षक राखेर समाचार लेख्छन् । र यहाँका प्रयोगकर्ताले शिर्षककै भरमा समाचारको अनुमान लगाउछ्न । पूरा पढ्ने अधिकांशले न श्रोतको खोजी गर्छन् न आधिकारिकता । ग्रामीण क्षेत्रमा स्वास्थ्यको जिम्मेवारी आफ्नै काधमा बोकेको कैयौं स्वास्थ्यकर्मीले समेत यस्तै भ्रामक जानकारीहरु शेयर गरेको देख्न सकिन्छ । कैयौं स्वास्थ्यकर्मीले नै हालको अवस्थाको गम्भिरता बुझ्न सकेका छैनन् । केहि दिन पश्चात् आउन सक्ने भयावह परिस्थितिको चित्रण गर्न सकेका छैनन् । हाल अभावकै स्थितिमा रहेको पीपीई लगाएर समाजिक संजालमा छ्याप्छ्यप्ती राखिएका तस्बिरहरु यसैका उदाहरण हुन् । यो समस्यालाई न्यूनिकरण वा समाधान गर्न जनता, सरकार र मिडिया, सबै पक्ष उत्तरदायी हुनु अत्यन्त जरुरी छ ।
हाल स्थानीय तहमा प्रयाप्त स्वास्थ्य जनशक्ति उपलब्ध रहेको हुँदा जनमानसमा रहेको भ्रम र त्रास न्यूनिकरण गर्न धेरै गाह्रो छैन । स्वास्थ्य शाखाले योजना बनाइ सानो समुहमा सर्वप्रथम स्वास्थ्यकर्मीसँग र तत्पश्चात जनप्रतिनिधिसँग सचेतनामुलक अन्तरक्रिया गर्नु अझै पनि आवश्यक देखिन्छ । तर, यसो गर्दै गर्दा उच्च सावधानी अपनाउनुपर्ने हुन्छ र प्रवाह हुने सुचनाहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बिश्व स्वास्थ्य संगठनद्वारा प्रेषित भएको हुनुपर्छ । साथै उपलब्ध जनशक्तिलाई परिचालन गरि नियमित रुपले प्रवाह हुने स्वास्थ्य सेवालाई असर नपर्ने गरि सावधानीका साथ उचित समय र आवश्यक जानकारी दिदै घरदैलो कर्यक्रम गर्दा समाजमा रहेको भ्रम र त्रासलाई न्यूनिकरण गर्न सकिन्छ । यसो गर्दा समाजको त्रास घट्नेछ भने धन्यवादको पात्र भइ स्वास्थ्यकर्मीको मनोबल पनि बढ्नेछ । अन्यथा कोरोनाले गर्ने क्षतिलाई कोरोनाको त्रासले गुणात्मक बढावा दिनेछ ।
मास्क र पीपीई
समाजमा फैलिएको अफवाह मध्ये मास्कको प्रयोग पनि एउटा हो । काठमाण्डौ बसोबास गरिरहेको र बिरामीको उपचारमा सम्लग्न नरहेको एक स्वास्थ्यकर्मी साथी आवश्यक कामले बाहिर निस्किदा मास्क नलगाएको भनेर आफु एन ९५ मास्क लगाएको एक जनाले थर्कमान बनाउनुभएछ । साथिले सम्झाउन खोज्दा मास्क लगाएर सभ्यताको परिचय दिनुस् भनि जवाफ फर्काउनुभएछ । म आफैलाइ पनि एक प्रहरी साथीले मास्क नलगाएको देखेर अपशब्द प्रयोग गर्नुभएको धेरै दिन भएको छैन । नमुना संकलन र कन्ट्याक्ट ट्रेसिङ्गको क्रममा पनि मैले मास्क नलगाएको अनुहार भेट्टाउन मुश्किल प¥यो । कैयौं व्यक्तिले त कपडाको फोहोर मास्क पनि लगाएका थिए ।
विश्व स्वास्थ्य संगठन वा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कुनै पनि सचेतनामुलक सन्देशमा आम जनतालाई मास्कको प्रयोग गर्न सुझाएको देखिदैन । विश्व स्वास्थ्य संगठनले मास्कको प्रयोग गर्ने तरिका सम्बन्धी भिडियोमा स्वस्थ व्यक्तिलाई मास्कले संक्रमणबाट जोगाउने प्रमाण नभएको भनी स्पष्ट रुपमा भनिएको छ । व्यवहारिक रुपमा हेर्ने हो भने पनि मास्क प्रयोग गर्दा हामी कैयौं पटक मास्क लगाउने फुकाल्ने गरिरहन्छौ । यसो गर्दा हामीले नाक, मुख र अनुहार छुने सम्भावना सामान्य अवस्थाभन्दा धेरै हुन्छ । यसरी संक्रमणबाट जोगिने भन्दा पनि संक्रमण हुने सम्भावना धेरै हुन्छ भने बजारमा मास्कको अभाव भई आवश्यकता भएका ब्यक्तिले प्रयोग गर्न पाउदैनन् । सोही रुपमा अहिले नै सामान्य बिरामीलाई जाँच्न पनि पीपीईको प्रयोग गर्ने हो भने आवश्यक परेको बखत पीपीइको अभाव हुनेछ जसले ठुलो संकट निम्त्याउनेछ ।
खोप र लकडाउन
लगभग सोह्र हजार खोप केन्द्रहरुबाट देशभरिमा करिब साढे पाँच लाख बालबालिका र बागलुङ जिल्लामा मात्रै करिब पाँच सय पचास बालबालिकाले खोप सेवा हरेक महिना लिने गर्दछ्न् । द्वन्दकाल तथा अन्य जुनसुकै परिस्थितिमा पनि निरन्तर संचालित यी खोप केन्द्रहरु यसपटक लकडाउनका कारण संचालन हुन सकेका छैनन् । लकडाउन लम्बिदै जाने र खोप सेवा प्रभावित भइरहने हो भने यसले नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने निश्चित प्रायः छ । तसर्थ लकडाउनको अवस्था सम्म खोप कार्यक्रममा फरक रणनीति अपनाउन अनिवार्य देखिन्छ ।
-लेखक चौधरी स्वास्थ्य कार्यालय बागलुङका कोल्ड चेन असिस्टेन्ट हुन् ।