खिमानन्द कँडेल
पहिलो पटक चीनको वुहान शहरमा देखिएको कोरोना महामारी चीन हुँदै विश्वका विभिन्न देशहरुमा फैलियो । यसबाट अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायत लगायत विश्वका कैयौं देशहरुमा व्यापक रुपमा संक्रमण पैmलिईसकेपछि अहिले समग्र विश्व नै एकप्रकारले बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगेको छ । नेपालमा पनि लकडाउन भएको अहिले पाँच हप्ता नाँघिसकेको छ ।
संभवत विश्वकै इतिहासमा अमेरिकामा पहिलो पटक उत्पादित कच्चा तेल भण्डारण गर्न नसक्दा तेलको मुल्य क्रृणात्मकमा समेत पुग्यो । विश्वव्यापी रुपमा विभिन्न स्तरमा चलिरहेको लकडाउन र यसको प्रभाव स्वरुप हवाईजहाज, यातायातका साधन, उद्योगधन्दा आदि ठप्प हुँदा करोडौं मानिसहरुले आफ्नो रोजगारी गुमाईसकेका छन् ।
विश्वका विभिन्न देशहरुमा अहिलेसम्म झण्डै ५० जना जति नेपालीहरुले ज्यान गुमाउनु परेको छ । संयोगवस नेपालमा अहिलेसम्म केही मानिसहरुमा कोरा्नाको संक्रमण देखिए पनि हालसम्म कोरोनाको कारणले कोही पनि मानिस मर्नुपरेको छैन । विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा हाल चलिरहेको बन्दाबन्दी (लकडाउन) ले नेपालको अर्थतन्त्रमा भने नराम्रोसँग प्रभाव पारेको छ ।
कोरोना महामारीसँग जुध्न नेपाल सरकारले आफ्नो तर्फबाट निरन्तर प्रयास गरिरहेको छ । अहिले नेपालका विभिन्न जिल्ला एवं स्थानीय सरकारहरुले कोरोनाको प्रारम्भिक परीक्षण (आरडिटी टेष्ट) समेत गरिरहेका छन् र यो परीक्षणबाट पोजिटिभ देखिएका मानिसहरुको पिसिआर परीक्षण गरी कोरोना संक्रमितहरुको पहिचान समेत भैरहेको छ । हाल कोरोनाबाट संक्रमित भएकाहरुमा कुनै गम्भीर स्वास्थ्य समस्या भने देखिएको छैन । बिरामीहरु मध्य दर्जनभन्दा बढी कोरोना संक्रमित बिरामीहरु अहिले उपचारपछि निको भई घर समेत फर्किसकेका छन् भने संक्रमित बिरामीहरुको नेपाल सरकारले तोकेका अस्पताल एवं स्वास्थ्य संस्थाहरुमा उपचार भैरहेको छ ।
हाल सरकारले विभिन्न चरणमा बन्दाबन्दी (लकडाउन) लाई निरन्तरता दिईरहेको छ । पछिल्लो मन्त्रीपरिषदको बैठकले यही बैशाख २५ गतेसम्मको लागि लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउनका कारणले नेपालको अर्थतन्त्रमा व्यापक नकरात्मक प्रभाव पारेको छ । यही समयमा नेपालको राजनीतिक बृत्तमा विवादास्पद अध्यादेशहरु पारित गर्ने र फिर्ता लिने एवं सत्तापक्ष बीचका नेताहरुको बीचको असमझदारी समेत ब्यापक रुपमा बढ्दै गएको प्रष्ट देखिँदा कोरोना संकटपछिको चलायमान अर्थतन्त्र निर्माण गर्न सरकारले खासै कदम नचालेको हो कि भन्ने प्रश्नहरु भने उठेका छन् ।
त्यसैले कोरोना संकटलाई अवसरको रुपमा उपयोग गर्दै नेपाल सरकार, नागरिक समाज तथा देश तथा विदेशमा रहेका लाखौं नेपालीहरुले यतिबेला एकतावद्ध भएर नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि भूमिका निर्वाह गर्नु आवश्यक छ ।
कोरोना संकटको कारणले अर्थतन्त्रका निम्न क्षेत्रहरुमा व्यापक नकरात्मक प्रभाव पारेको छ ।
(क) भर्खरै उठ्दै गरेको नेपालको पर्यटन क्षेत्र कोरोना महामारीको कारणले गर्दा ठप्प प्राय भएको छ ।
(ख) खाद्यान्न र अत्याबश्यक सामग्रीहरु बाहेक निजी क्षेत्रको व्यापार व्यवसायहरु यतिबेला ठप्पप्राय भएको छ ।
(ग) ठूलो संख्यामा मजदुरहरुले रोजगारी गुमाएका छन् ।
(घ) कृषि क्षेत्रमा लागेका उद्यमी र कृषकहरुको उत्पादन बजारसम्म पुग्न नसक्दा कृषि क्षेत्रका उद्यमी तथा कृषकहरुलाई नराम्रो धक्का लागेको छ ।
(ङ) विदेशमा रहेका लाखौं नेपालीहरुले रोजगारी गुमाएका छन् ।
(च) लकडाउनले गर्दा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट यही आर्थिक बर्षमा गर्नुपर्ने निर्माणका कामहरुमा व्यापक नकरात्मक प्रभाव परेको छ ।
(छ) देशको अर्थतन्त्र झण्डै झण्डै ठप्प हुँदा राजस्व संकलनमा ठूलो गिरावट आएको छ ।
(ज) वैदेशिक रोजगारीका कारण लाखौं नेपालीहरुले रोजगारी गुमाउने अवस्था आउँदा रेमिटेन्समा निर्भर नेपाली अर्थतन्त्रमा तत्कालको लागि व्यापक नकरात्मक प्रभाव परेको छ ।
यस बाहेक पनि अर्थतन्त्रका अन्य क्षेत्रहरुमा पनि कोरोनाको कारण व्यापक समस्याहरु खडा भएका छन् ।
नेपालको सन्दर्भमा कोरोनाको कारणले गर्दा तत्कालको लागि केही नकारात्मक समस्याहरु देखिएता पनि सरकारले उपयुक्त कदम चाल्ने हो भने समाजवाद उन्मुख समाज निर्माणको लागि बलियो आधारहरु समेत कारोना महामारीले खडा गरिदिएको छ ।
(क) विश्वको आगामी अर्थतन्त्रमा स्वास्थ्य क्षेत्रले व्यापक प्राथमिकता पाउनेछ । यसको सकरात्मक प्रभाव नेपालमा पनि पर्नेछ । फलस्वरुप साबिकका अञ्चलहरु एवं जिल्ला तहसम्म व्यवस्थित स्वास्थ्य परीक्षण प्रयोगशाला सहित सुविधा सम्पन्न अस्पतालहरु निर्माण अब सरकारको प्राथमिकतामा पर्नेछन् । हरेक स्थानीय तहमा एउटा सामुदायिक अस्पताल निर्माणको लागि विशेष पहल शुरु हुनेछ भने हाल भएका स्वास्थ्य चौकीहरु पनि व्यवस्थित हुँदै जानेछन् ।
(ख) कोरोना संकटको समयमा निजी अस्पतालहरुको कुनै भूमिका देखिएन । त्यसैले आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रमा सरकारको पूर्ण स्वामित्व हुनुपर्छ भन्ने प्रष्ट मुल्य र मान्यता कारोना संकटले स्थापित गरिदिएको छ । दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रलाई सरकारीकरण गर्नैपर्ने बाध्यतामा विश्वका अधिकांश देशहरु पुग्नेछन् ।
(ग) कोरोना महामारीका कारण बिश्वको कृषि उत्पादनमा गिरावट आउँदा अधिकांश देशहरुले खाद्यान्न आयातमा प्रतिवन्ध लगाउनेछन् । यस अवस्थामा नेपाल सरकारले कृषि क्षेत्रलाई आगामी बर्षको बजेट बिनियोजनबाट नै व्यापक प्राथमिकतामा राख्नुपर्ने अवस्था आउनेछ । यसले जनताको जीवनस्तरलाई समेत उठाउन सहयोग पुर्याउनेछ ।
(घ) कोरोना संकटको कारणले ठूलो धक्का खाएको पर्यटन क्षेत्र ग्रामीण पर्यटनको माध्यमबाट मात्रै बिस्तारै उठ्दै जानेछ । त्यसले गर्दा तत्कालको लागि ग्रामीण पर्यटन पूर्वाधारहरुको विकास र प्रवद्र्धनमा सरकारको विशेष ध्यान जानेछ ।
(ङ) नेपालको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेको छ । हाल विश्वव्यापी रुपमा घटेको पेट्रोलियम पदार्थको मुल्य र बिलासिताका सामानहरु ल्याउन प्रतिवन्ध लगाउने हो भने यसबाट पनि नेपाललाई लाभ नै हुनेछ ।
(च) नेपालमा शहर केन्द्रित बिकासको अवधारणामा परिवर्तन आउनेछ । बसाईसराईको कारणले ठूलो क्षती ब्यहोरेका ग्रामीण क्षेत्रको बिकासमा सरकारको बिशेष ध्यान जानेछ ।
(छ) संभवत आगामी ६ महिनादेखि १ बर्षभित्रमा वैदेशिक रोजगारीमा गएका ५ लाखको हाराहारीमा नेपालीहरु देशमा फर्कनेछन् । यस बाहेक पनि न्यूनतम यत्तिकैको संख्यामा देशबाट बाहिर रोजगारीको लागि जाने नेपालीहरु देशभित्र रोकिनेछन् । देशको लागि झण्डै १० लाख यूवा जनशक्ति देशभित्र नै रहनु एउटा ठूलो अवसर हुनेछ ।
त्यसैले कोरोना संकटलाई नेपालले अवसरको रुपमा अगाडि लैजान सक्नुपर्छ । नेपालको संविधानमा नै नेपाली समाजलाई समाजवाद उन्मुख समाजमा रुपान्तरण गर्ने प्रष्ट लक्ष्य राखिएको सन्दर्भमा वर्तमान सरकारले राजनीतिक खिचातानी र षडयन्त्रभन्दा माथि उठेर देशमा सयौं बर्ष देखि चलिरहेका वेथितिका शृंखलाहरु अन्त गरी नेपालको तीव्र बिकासको लागि सहज नेतृत्व दिन सक्नुपर्छ । आशा गरौं नेपाल सरकारले तद् अनुरुप कोरोना संकटलाई अवसरमा बदल्नेछ ।