शिवशरण ज्ञवाली
वि.सं दुई हजार पचासका दशकभित्रका दुई फरकफरक वर्षमा घरका दुई भाईले एसएलसी पास गर्यौं । आबैका लागि दाई निकै प्रिय नाति हुनुहुन्थ्यो । पास भएको खबर आफै दाई स्वयंले ल्याउनु भयो । मेरो सम्झनामा जिल्ला शिक्षा कार्यालय गएर रिजल्ट हेरीवरी रेडियो नेपालले रिजल्ट प्रकाशन भको खबर सुनाको दुई तिन दिनमा दाईले रिजल्ट ल्याउनु भको थियो । दाई पल्लो घरको उरिमनेर आउँदा आबै खुशीले मेरो नातिले अब कलम घुमाएर खान्छ भन्दै उफ्रनु भो । तर छरछिमेकमा ईष्याले जलन भको कानेखुसी सुनिन्थ्यो । टोलको पहिलो एसएलसी पास दाई भका कारण जलन हुनु अस्वाभाविक थिएन । आबैले भनेजस्तै दाईले कलम घुमाएर खान एसएलसी सकेको तिन वर्ष्भित्रै थाल्नु भो । दाईको कलम घुमाइ निरन्तर प्रगतिउन्मुख भयो । प्यारो नातिले प्यारी आबैलाई खुसुखुसु आर्जन देको मैले देखें जानें । न म आफै दाई जत्तिको प्यारो थिएँ न त दाईको रफ्तारमा आबैलाई आर्जन खुवाएँ । आबैले दाईको बाहेक अरू नातिनातिनाको आर्जन खान पाउनुभएन । म लोसेको त झन् के खान पाउनुहुथ्यो ?
लोसे कथा अलिक तीतो छ । शायद टेलि चलचित्रका पात्र मुन्द्रेको एसएलसी पासजस्तै छ । केकाना होम सेन्टरमा एलएलसी दिन पाइएको खुशी थियो । पढ्नेभन्दा चोर्न पाइने हल्ला बढी थियो । त्यतिबेला सेन्टअप हुन्थ्यो । त्यो परीक्षा खुब कडा भयो । सरहरुले स्कुलको वास्तविक परीक्षा लिएको जस्तो आज सम्झदा लाग्छ । त्यसमा म आफैं पास भको हो रे । बाले भन्नु हुन्थ्यो । तर मलाई स्कुलका कुनै परीक्षाको पनि याद छैन । घरमा कताकता चिट चोर्न हुँदैन भन्ने मानसिकताको विकास भको थियो । त्यहीकारण चिटिङमा खासै ध्यान गएन । तर एसएलसी ? आफै पास गर्न सक्ने अवस्था थिएन भन्ने आज पत्तो पाएको छु । त्यतिबेला कहाँ था पाउनु ? त्यतिबेलाका विनी पनि अलिक इमान्दार थिए, आजका जस्ता वर्षौ नआउने होइनन् । आज त स्रोत व्यक्ति जस्तै यी विनी पनि खारेज गरिदिए हुन्छ । स्थानीय निकायको गठनपछि के भको छ म त्यति जानकार छैन तर पहिला विनी फिल्डमा गको मैले था पाइन । बिडम्बना र असङ्गति कस्तो छ भने शिक्षक नियुक्ति एउटा निकायले गर्छ तर अनुगमन र नियन्त्रण गर्ने व्यक्तिहरू अर्को निकायले नियुक्त गर्दछ । यसले आम शिक्षकको आत्मसम्मानमा चोट पुर्याएको छ । हालै मेरा एकजना गुरूले जिल्ला शिक्षा कार्यालयमा छिर्न कार्यालय सहयोगीलाई नमस्कार गर्नुपर्ने उतिबेलाका कथा सुनाउँदै हुनुहुन्थ्यो । आज पनि गुरुहरूको अवस्था करिबकरिब उस्तै छ ।
ती विनी मेरो एसएलसीमा पनि पर्यवेक्षक भर आका रहेछन् । बाले अलिअलि उनलाई भन्नु भयो कि जस्तो लाग्छ । म निर्धक्क थिएँ । चिट आफूले लगिएको थिएन तर झ्यालबाट चाहिनेभन्दा बढी आए । आज पनि हिजोजस्तै लाग्छ झ्याल बाहिर बारीमा चिट चोराउने मान्छेहरू दौडादौड गरेको दृश्य । म्याथका हिसाब सल्भ गरेर बाहिरबाट भित्र पठाउँथे । कार्वन राखेर लेखिएका उत्तर चिटको झ्याले ट्रान्जिट म थिएँ । भन्सारका झ्यालहरुले धन्सार बनाउँछन् रे तर मैले त लेख्नै बिर्सेछु या जानिन । के कारणले हो मेरो भाग्य सप्रेन ? ती बाले चिनेका विनीले मेरै काखबाट चिटै खोसेर लाँदा दलेहरूको हप्कीदप्की समेत खानुपरो । आफ्नो र बाको बेइज्जत त छँदै थियो । मेरो भाग्य नचम्के पनि त्यो वर्ष स्कुलबाट बाइस जनाको भाग्य चम्कियो । म दुई तिहाई बहुमतमा परे कि !
आबैलाई मेरो पढाइको त्यति चासो थिएन । त्यसैले म फेल हुँदा उहाँको प्रतिक्रिया के भयो था छैन । मैले नारायणगोपालका विरहको कुनै गीत गाएर मन बुझाउँथे तर आज त्यो गीत बिर्सिएँ । बा स्कुलबाट आउँदा अरूहरूले भनेका सान्वनाका शब्दहरू लिएर आउनुहुन्थ्यो । अलिक माथि गाउँको एकजना दाई भन्नु हुन्थ्यो रे, ‘रुखको बाँदर त झुक्किएर लड्छ भाईलाई चिन्ता नगर्न भन्नु होला, फेरि पास भइन्छ ।’ त्यतिबेला त्यो भनाइ मेरा लागि अक्सिजन नै बनेको थियो शायद दाईलाई म पास हुन योग्य थिइन भन्ने था नभएको हुनुपर्छ । दुई विषय लागेर पूरक दिन पाउँदा नि खरानीमाथि पानी खन्याइए जस्तो भयो । अङ्ग्रेजी र गणित लागेकाले पूरक परे पनि पास हुने सम्भावना नि न्युन थियो । तर दाई र रामु दाईको विशेष मेहनतले गर्दा पछि जिल्लामा गएर पूरक एसएलसी दिंदा मैले बाजी मारे । तर त्यो बाजीले मेरो मार्क्सिटलाई थाङ्ने डफलो बनाइदियो । जिन्दगीभर त्यो डफलो मलाई गनाइरहन्छ । फेल हुनु कहाँ सुख थियो र ? जीवनै धरमरमा परेको थियो । विजेताहरूको राँइदाँइमा आफूले मुन्टो निहुराएर हिड्नुपरथ्यो । आफू खरानी परियो आगो ताप्नेहरूले छि छि र दूरदूर गर्न कहाँ बाँकी राख्थे र ! त्यस्तो फेलर काँबाट रफ्तारमा जाओस् अनि आर्जन खुवाओस् ? आबैले शायद सबैले कलमै घुमाउनुपर्छ भन्ने मान्यता राख्नु हुँदो रहेनछ कि ! कसैले पढ्ने कसैले खेतीकिसान गर्ने कोही लाहुर जाने त भनिरहनु हुन्थ्यो । आबैको अनुभवले खारिएको विचारले मानवीय विविधताको प्रतिनिधित्व पो गरथ्यो कि ? तर म जबरजस्ती कलम घुमाइकै बाटोमा लागेँ । त्यसैले मैले उहाँलाई आर्जन ख्वाउने कुरै भएन आजसम्म पनि सरस्वती र लक्ष्मी दुवै म देखि प्रसन्न भएनन् !
मुन्द्रे एसएलसी एसइइमा परिणत भयो । राजतन्त्र गणतन्त्र बनेजस्तै भयो । पत्रिकाको ओठे निम्तो आउनु नै निशुल्क लेखकका लागि ठूलो प्राप्ति थियो । त्यही भर अरूभन्दा पहिल्यै म त्यसको जन्मोत्सवमा पुगेको थिएँ । मान्छेहरू चिया खाजा खाँदै पत्रिका पढ्दै थिए । अचानक एकाएक गन्यमान्य व्यक्तिहरू जराकजुरुक उठे । बुझ्नलाई बेर लागेन । कोही ठूलो मान्छे आको हुनुपर्छ भन्ने लागो । पत्रिका पढ्न खुब व्यस्त भको अभिनय गरे । कताबाट के राज्यका मन्त्री आका रहेछन् । उनकै स्वागतका लागि गेटमा आको खबर पाउनासाथ मानिसहरू उठेका रहेछन् । हाँसका बथानको बकुल्लो म रमिता हेरेर बसिराखे । बच्चादेखि लठ्ठी टेक्नेसम्म सकिनसकी उठे ।कठै ! गणतन्त्र । मित्रले एकपटक केन्द्रमा मन्त्री भेट्न जाम भने । ठूलो मान्छेलाई भेट्न जाँदाको कोड नबुझिने हो कि भनेर खास जाँगर लागेको थिएन तर साथीको ढिपीले नगई सुख भएन । त्यहाँ पनि ताल उही छ बा ।
बस्न पाइदो रहेनछ, उठेरै स्वागत गर्नु पर्दो रच । मन्त्री बसेपछि जनता बस्ने, मन्त्रीले खाएपछि जनताले खाने गणतन्त्र रच । यो भन्दा त कहिल्यै कसैसँग भेट नहुने, उठ्न बस्न दुवै नपर्ने पुरानो व्यवस्था ठीक रच कि क्या हो !
एसइइको हालत पनि त्यही भयो । एघार बारको त कुरै नगरम् । अहिले मेरैजस्तो यी कक्षाका विद्यार्थीको भविष्य चौपट भको छ । भर्भराउँदो आगो खरानी बनिरहेछ । कम्पनीवालाहरूलाई अनलाइनको चिन्ता छ । सरकारीवालाहरूको चौमासिक आउने बेला भको छैन के को चिन्ता ? खुबै भए हप्ता दिन काटिने हो कि भन्ने चिन्ता होला मलाईजस्तै । अन्याय त बबुरा विद्यार्थीमाथि नै परेको छ । रिजल्ट आउने बेलासम्म परीक्षा नै हुन सकेको छैन । कोरोने पाजी दिनपरदिन मौलाइरहेछ । यसो सोच्छु उपाय के त ? फेले दिमागमा पनि झिल्काझिल्की बत्ती बल्छ बरै । एकदिन कुरैकुरामा असफल शिक्षक भनेको साथीहरू खनिए म माथि । सफलताका लागि विश्वास चाहिन्छ । राज्यले विश्वास नगरेको हो कि शिक्षकहरूले त्यो आर्जन नगरेका हुन् पत्तो छैन । मेरो पाला जस्तो होइन चिट देखे पनि नदेखेझैं गरेर ज्यान जोगाउने जमाना हो यो । चोर्न को पो बाँकी छ र ? पानीमाथि ओभानो बन्ने हामीले ? कोरोनेको मझधारमा होस् वा परारैको भूकम्पमा मौकामा चौका हानेकै छौं र हौं । तसर्थ अब एसइइ र एसएलसीको परीक्षाको जिम्मा विद्यार्थीको उसकै स्कुललाई दिए हुन्छ । होमसेन्टर र अदरसेन्टर भन्ने कुरा दिमागबाटै फालिदिए के हुन्छ ? विद्यार्थीकै मास्टरले पेपर लैजान्छन् परीक्षा लिन्छन् अनि कापी पठाइदिन्छन् वा उतरपुस्तिका जिल्लामा जम्मा गरेर परीक्षण गर्छन् वा स्कुलमै परीक्षण गरेर नम्बरमात्रै पठाइदिन्छन् । जे सजिलो हुन्छ त्यही गर्न सकिन्छ । स्कुलमा अरू विद्यार्थी छैनन् । परीक्षाको सारा जिम्मा स्कुललाई दिए हुन्छ । शिक्षकलाई विश्वास नगरे कलाई गर्ने ? दश एघार र बारका लागि अलगअलग समयमा बोलाए हुन्छ । कोरोने मातेका ठाउँमा बाहेक अन्यत्र यसै गरे भइहाल्छ नि ! यसै गरे पनि मापन र मूल्याङ्कन हुनसक्छ । परीक्षा वैध नै हुन्छ । भत्ते चलन किन गर्नु परो । बुट नबजारे पनि परीक्षा हुन्छ । पुलिस किन चाहियो ? प्रशासन नभए पनि स्कुल प्रशासन त छँदै छ नि ! के कानुन बनाउनुपर्ने हो बनाए हुन्छ तर परीक्षालाई सदाका लागि सरलीकरण गर्ने उपाय यो भन्दा अर्को उपाय के हुनसक्छ ? यो मेरो पचासको दशकको समय होइन छोराछोरीको सत्तरीको दशक हो । यो दशकमा पास र फेल दुवै छैन । पुरकेहरू पनि डफले हुँदैनन् । जुनसुकै ग्रेडवालाहरूले नि आर्जन ख्वाउन सक्छन् । गुरुहरूले पढाएको हुने परीक्षा लिएको र कापी जाँचेको नहुने भन्ने हुन्न । उनीहरूलाई विश्वास गर्नुको विकल्प छैन । जिम्माले जिम्मेवारी र दायित्व बढाउँछ । एक वर्ष नबढ्ला दुई वर्ष नबढ्ला तेस्रो वर्ष कसो नबढ्ला ? भविष्यमा पास फेल फेल पास भइरहन्छन् ।
डफले मार्कसिटवाला दिमागले यति बोल्यो । माथि बसेका टपरेवालाहरूको दिमागले त झन् अच्छा बोल्दो हो । मुन्द्रे एसइइ र एसएलसीको समाप्ति कोरोनेको मझधारमै गरौँ । मेरा पाला भाग्य चम्काएका बाइसेवालाको के मत छ कुन्नि ?