क्वारेन्टिन डायरी कोभिड–१९ संक्रमण र भ्रम

– करिम वक्स मिया
धेरै साथिहरुका गुनासा र जिज्ञासाहरु हुन्छन् ‘मलाई केहिपनि भएको छैन, तर रिपोर्ट पोजिटिभ आयो ।’ साथिको पोजिटिभ रिजल्ट आएछ हाम्रो के होला ? पोजिटिभ रिजल्ट त आयो तर मेडिकल कमिसनले घर मै बस्न भनेको छ ? पोजिटिभ भएर क्वारेन्टिनमा राखिएको त छ तर कुनै उपचार नै हुँदैन ? यस्ता धेरै जिज्ञासाहरु आमरुपमा आउने गरेका छन् । यी जिज्ञासाहरुबारे मेरो दृष्टिकोण राख्नु पूर्व सारमा अस्पताल र क्वारेन्टाइन विचको फरक र भ्रमबारे उल्लेख गर्न चाहन्छु ।

धेरै साथिहरुलाई अस्पताल र क्वारेन्टिन एउटै हो भन्ने भ्रम रहेको पाएको छु । कतिपय साथिहरुको जिज्ञासा हुने गर्दछ कि क्वारेन्टिनमा ल्याएर राखेको छ, तर न चेकजाँच गर्नलाई डाक्टर आउँछन् न त नर्सहरु नै ।

क्वारेन्टिन भनेको अस्पताल होईन । कुनै सरुवा रोगको सम्भावना वा संक्रमणको आशंका देखिएमा निश्चित अवधिको लागि अलग्गै राखिने थलो वा अवस्थालाई क्वारेन्टिन भनिन्छ । यस्तो अवस्थामा चिकित्सा सहायता टोली (डाक्टर÷नर्स) हुनै पर्छ भन्ने हुँदैन । तर आवश्यक परेको खण्डमा मेडिकल सहायता नै नपाईने भन्ने पनि हुँदैन । त्यसैले आवश्यकता र अपरिहार्यताको आधारमा कोड गरिने क्वारेन्टिन र अस्पताल फरक हुन् । क्वारेन्टिन सेन्टरलाई लिएर समेत भ्रमहरु छन् । नेपालमा लकडाउन छ सबै नागरिक किन आ–आफ्नै घरमा बसेका छन् भन्ने प्रश्नको उत्तर खोज्ने हो भने क्वारेन्टिनको अर्थ अँझ स्पष्ट हुन्छ ।

क्वारेन्टिन सेन्टरहरु विषेशगरी आप्रबासीहरुलाई लक्षित गरी निर्माण गरिएका हुन्छन् । किनकी अधिकांश आप्रबासीहरुको बसाई भौतिक दुरीको निश्चित मापदण्ड भन्दा फरक हुन सक्छ, जबकी कोरोनाको पहिलो र महत्वपूर्ण उपचार भनेकै भौतिक वा सामाजिक दुरी कायम गर्नु नै हो । अर्को कुरा क्वारेन्टिन भनेको एक्लै बस्नु पनि होईन, निश्चित दुरीमा एक्ला–एक्लै बस्ने व्यबस्था हो । तसर्थ आवश्यक दुरी कायम गरि व्यवस्थित रुपमा केही वा दर्जनौंलाई राखिएको विषयमा पनि डराउनु पर्ने र शसंकित हुनुपर्ने कारण नै हुँदैन । आफ्नै घरमा आवश्यक दुरी कायम गरी र सतर्कता अपनाउन सक्ने अवस्था छ भने त्यो पनि क्वारेन्टिननै हुन्छ ।

मुख्य कुरा :
चिकित्सा शास्त्रको परिभाषा र वर्गीकरण के छ त्यो त मलाई गहिरो ज्ञान छैन, यद्यपी म स्वयं कोभिड–१९ को संक्रमित व्यक्ती भएको नाताले विषेशत : कोरोना संक्रमितलाई मैले तीन वर्ग राखेर बुझने गरेको छु ।

पहिलो वर्ग : दीर्घरोगी, वृद्ध, बालबालिका र रोग प्रतिरोधात्मक शक्ति कम भएकाहरु ।
दोस्रो वर्ग : रोग प्रतिरोधात्मक शक्ति कमजोर भएकाहरु ।
तेस्रो वर्ग : कुनै पनि संक्रमण सँग लड्न सक्ने शारीरिक सामर्थ भएका मानिसहरु ।

कोरोनाको पोजिटिभ रिजल्ट देखिनु नै खतराको संकेत होईन । उच्च ज्वरो, रुघाखोकी, श्वास प्रश्वासमा समस्या जस्ता लक्षणहरु सँगै कोरोना पोजिटिभ देखिएमा उपचार प्रकृया आवश्यक पर्दछ, तर त्यो कोरोनाको उपचार नभई देखिएका लक्षणहरुलाई निको पार्ने उपचार मात्र हुन्छ । लक्षणहरुको उपचार पश्चात उसलाई क्वारेन्टाइनमा राखिन्छ । कुनै लक्षण नै देखिएको छैन र पोजिटिभ छ भने क्वारेन्टाइन हुनु आवश्यक छ । मैले माथी उल्लेख गरेको तीन वर्ग मध्ये पहिलो र दोस्रो वर्ग उपचार सँग जोडिनै पर्ने हुन्छ । म आफुपनि दोस्रो वर्गमा परेर उपचार गराईएको संक्रमित हुँ । धेरै गुनासा र जिज्ञासाहरु तेस्रो वर्गबाट आएको पाईन्छ । किनकी ‘कोरोना पोजिटिभ त देखियो तर कुनै लक्षण नै छैन अनि मेडिकल कमिसनले ध्यानपनि दिंदैन, कतै घर मै बसीबसी भवितव्यमा परिने त होईन’ भन्ने चिन्ता र भ्रम आम मानिसमा व्याप्त छ । झट्ट हेर्दा त्यो चिन्ता स्वभाविक नै हो, तथापी कोरोनाको कुनै उपचार नै हुँदैन, बिना लक्षण के को उपचार गर्ने ? तसर्थ यसमा आत्तिनु पर्ने र चिन्तित हुने भन्दापनि आफुभित्र रोग प्रतिरोधात्मक सामर्थ रहेको कुरामा ध्यान दिनु पर्दछ ।

विश्व स्वास्थ्य संगठन र विभिन्न चिकित्सा माध्यमको अनुसन्धान र मान्यता अनुसार रोग प्रतिरोधात्मक सामर्थको आधारमा कोरोना भाईरस कम्तिमा १४ र बढीमा २८ दिनमा हराएर जान्छ भन्ने मान्यतालाई आत्मासाथ गरि आफुमा निहित रोग प्रतिरोधात्मक सामर्थलाई थप बढाउने कोसिस गर्नु पर्दछ । यदि पोजिटिभ भएर पनि घरमै बस्न आग्रह गरिएको छ भने क्वारेन्टिनमा अपनाउनु पर्ने सावधानी अपनाएर आफुलाई एकान्तबासमा राख्नु पर्दछ । मास्कको नियमित प्रयोग, नियमित खानपिन, व्यायाम, सरसफाई र भौतिक दुरी कायम जस्ता पक्षमा ध्यान पुर्याउने हो भने तेस्रो वर्ग हतोत्साहित हुन पर्ने कारण नै हुँदैन, आफु जहाँ बसिन्छ त्यहिंबाट कोरोनालाई हराउन सकिन्छ । कुनै लक्षण देखिएमा मेडिकल इमर्जेन्सी सेवाको सहयोग लिन सकिन्छ ।

( मिया नेपाल पत्रकार महासंघ, कतार शाखा अध्यक्ष हुन् । कोरोना पोजेटिभ देखिएपछि हाल कतारमा उपचाररत छन् । उनले पछिल्लो समय समाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमण पछि आफ्नो दैनिकी र अनुभव सार्वजनिक गर्दै आएका छन् । )

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *