ज्योतिष शास्त्रमा मांगलिक योग र समाजमा भ्रम

चन्द्रकान्त पौडेल
ज्यौतिषाचार्य नेपाल संस्कृत विश्वविद्यालय
वेद हिन्दू संस्कृतिको एउटा महत्वपूर्ण ग्रन्थ हो । संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद देखि संस्कृत साहित्यका अनेकानेक अंगहरुमा वेदको प्रभाव देख्न सकिन्छ । संस्कृतमा वेदोखिलो धर्ममूलम् भन्ने उक्तिले पनि यसको पुष्टि गरेको छ । अर्थात् वेद नै सबै धर्मको उद्गमस्थल भन्ने उक्ति सर्वत्र सबैले मानि आएकै कुरा हो ।

यस अर्थमा सबै धर्म वेदबाट नै निस्केका हुन भनेर मान्न सकिन्छ । हिन्दुधर्म एउटा धर्ममात्रै नभएर एउटा संस्कार र सभ्यता पनि हो । त्यसैले हामी हिन्दू सभ्यताभित्र अन्य धर्महरुलाई मान्न सक्दछौं । हिन्दू संस्कृतिको शाखा अन्तर्गत् हिन्दू लगायतका अन्य धर्महरु पनि पर्दछन् । त्यसैले वेद अंगहरुको बारेमा पनि जानकारी राख्नु आवश्यक देखिन्छ ।

मूलतस् वेदका छ वटा अंगहरु रहेका छन् ।
शिक्षा कल्पो व्याकरणं निरुक्तं छन्द एव च।
ज्यौतिषामयनं चैव वेदाङ्गानि षडुच्यते।।

शिक्षा, कल्प ,व्याकरण , निरुक्त , छन्द र ज्यौतिष वेदका प्रमुख अंगहरु मानिन्छन्। ती अंगहरुको नाम पनि छुट्ट्याएका छन् महर्षि पाणिनिले पाणिनीय शिक्षामा।

छन्दस् पादौ तु वेदस्य हस्तौ कल्पश्च पठ्यते
ज्यौतिषामयनं चक्षुस् निरुक्तं श्रोत्रमुच्यते ।
शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतं
तस्मात्सांगमधीत्यैव ब्रह्मलोके महीयते ।।

अर्थात् छन्दलाई वेदका खुट्टा,कल्पलाई हात, निरुक्तलाई कान,शिक्षालाई नाक,व्याकरणलाई मुख र ज्यौतिषशास्त्रलाई वेदको आँखा भनेर भनिएको छ। जसरि हाम्रा सबै अंगहरु महत्वपूर्ण भएता पनि आँखाको विशेष महत्व छ त्यसरि नै वेदमा ज्यौतिषशास्त्रको विशेष महत्व छ। ज्यौतिष वा ज्यौतिषीलाई भेट्दा बित्तिकै चिना हात देखाएर मेरो भाग्य के छ? पढाई कस्तो छ? विवाह कहिले हुन्छ? छोरा छोरि कति हुन्छन्? कमाई कति हुन्छ? आदि इत्यादि केहि प्रश्नहरुमा नै समग्रमा ज्यौतिषशास्त्रलाई बुझ्ने प्रचलन हाम्रो समाजमा व्याप्त छ तर चिना हेर्नु चिना हेराउनु ग्रह पूजा गर्नु मात्र ज्यौतिषशास्त्रको कार्यक्षेत्र होइन यो त समग्र जीवनलाई नै डोहोर्याउने अचूक माध्यम हो।

जन्मिएको प्राणीको कुण्डलि बनाएर जातकको क्षमता कुन क्षेत्रमा छ? भन्ने कुरा स्पष्ट हुन्छ तदनुरुप अगाडी बढेमा जीवनमा असफल हुने कुरै हुँदैन। जसरी आँखाले देखाएको बाटो हिँड्दा गन्तव्यमा पुगिन्छ त्यसरी नै ज्यौतिषशास्त्रको अनुसरण अत्यन्त फलदायी हुन्छ। जन्मकुण्डलिमा अनेक योग हरु हुन्छन् ति मध्ये समाजमा धेरै कहलिएको वा चर्चामा आउने योग भनेको मांगलिक योग हो ।

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नि हन्ति स्वभर्तारं भर्तुस् भार्या विनश्यति।।

जन्मकुण्डलिमा जम्मा १२ ओठा स्थान हुन्छन्। शरीरस्थान, धनस्थान ,सहजस्थान ,सुखस्थान ,विद्यास्थान ,शत्रुस्थान, विवाहस्थान, मृत्युस्थान ,भाग्यस्थान, कर्मस्थान, आयस्थान र व्ययस्थान। उपर्युक्त १२ ओटा स्थान बाट नै समग्र मानव जगतको भूत भविष्य र वर्तमानको व्याख्या हुन्छ। शरीरस्थान सुखस्थान विवाहस्थान मृत्युस्थान वा व्ययस्थानमा मंगल बसेको अवस्थामा मांगलिक योग वा दोष लाग्छ, यस्तो अवस्थामा मांगलिक र गैरमांगलिक जातकहरुबीच विवाह, व्यापार वा कुनै पनि प्रकारका साझेदारी कार्य सफल हुँदैनन् तसर्थ मांगलिक व्यक्तिका लागि मांगलिक व्यक्ति नै उपयुक्त हुन्छ चाहे त्यो विवाह होस् व्यापार होस् वा कुनै साझेदारीको क्षेत्र होस्।

मांगलिक योग छ भनेर आत्तिनु पर्दैन किन कि यो योगको अर्थ नै शुभ हो अशुभ होइन फरक के हो भने मांगलिक योग भएको मान्छे हाईभोल्टेज पर्सनलिटि हो जसलाई गैर मांगलिक ले थेग्न सक्दैन त्यसैले मांगलिकको मांगलिक संग विवाह व्यापार साझेदारी कार्य गरेमा परममंगल हुन्छ। यसमा कुनै सन्देह छैन ।

न मंगली चन्द्रभृगुर्द्विवतीये न मंगली पश्यति यस्य जीवस् ।
न मंगली केन्द्रगते च राहौ न मंगली मंगलराहुयोगे।।

चन्द्रमा र शुक्र धनस्थानमा भएमा ,मंगलमाथि बृहस्पतिको दृष्टि भएमा, राहु केन्द्रमा वा मंगल संग भएमा मांगलिक योग वा दोष नाश भएर जान्छ। त्यस्तो अवस्थामा लग्न चतुर्थ सप्तम अष्टम र द्वादशस्थानमा मंगल भएता पनि मांगलिक भन्न मिल्दैन।आजकल बिभिन्न डर देखाउँदै अनावश्यक पूजा र कर्मकाण्ड मार्फत जनता लुटीएका हुन्छन् मांगलिक योग छ भने गणेश जी हनुमानजीको पूजा गर्नुहोस् र रुद्राक्षको धारण गर्नुहोस यसको दुष्प्रभाव सुप्रभावमा बदलिने छ ।ज्यौतिष शास्त्र समस्या देखाउन वा भय देखाउनका निम्ति नभएर अपितु हजुरको सरल सहज जीवन र भविष्यको सहयोगका निमित्त हो ।

मांगलिक योग छ भनेर न आत्तिनुहोला अनि कम्तिमा ज्यौतिष विषयमा आचार्य सम्मको राम्रो अध्ययन गरेका गुरुसंग परामर्श गर्नुहोला। बजारमा भएका जति ज्यौतिष पसल चाहार्ने बानि छ भने हजुर सहज भन्दा जटिल मार्गको अनुसरण गरिरहनु भाको छ।मांगलिक योग यौटा शुभ योग हो यस प्रतिको बुझाई नकारात्मक हो ।खुशी हुनुहोला यदि हजुर मांगलिक योग लिएर जन्मिनुभाको छ भने।मात्र ख्याल राख्नुहोला विवाह गर्दा व्यापार गर्दा वा कुनै साझेदारी गर्दा गैर मांगलिक संग हजुरको सम्बन्ध न गाँसियोस्।

आँखाको काम के हो? देखाउने काम नै आँखाको हो यो उत्तर स्वाभाविक नै हो। अगाडी बाटो धूलाम्य छ, त्यता भीर छ, अर्कोतिर उबडखाबड छ, त्यता हिलो छ , त्यहाँ सरल र सहज बाटो छ भनेर हाम्रो आँखाले निर्देशन गरेको हुन्छ । आँखाले देखाउँदा देखाउँदै पनि भीरबाट हाम फाल्नेहरुको कमि हुँदैन । हाम्रो कर्तव्य आँखाले देखाएको उचित मार्गको अनुसरण गर्नु नै हो न कि प्रतिगमन।

त्यसरी नै ज्यौतिषशास्त्र पनि वेदको आँखा हो अर्थात समग्र प्राणीको आँखा हो यसलाई अनुसरण गर्नु अत्यन्त लाभदायक हुन्छ । के गर्ने? कसो गर्ने? के पढ्ने? कि खेल्ने? वा व्यापारी बन्ने? यसको निर्क्योल हजुरको जन्मकुण्डलिले गर्छ ।उचित परामर्श मार्फत जीवनलाई अगाडी बढाउने हरु जीवनमा सुखी र सन्तुष्ट हुन्छन्.

अप्रत्यक्षाणि शास्त्राणि विवादस्तत्र केवलम्।
प्रत्यक्षं ज्यौतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ।।

संसारमा अनेक शास्त्र छन् त्यहाँ अनेक विवाद पनि छन् तर ज्यौतिषशास्त्रमा कुनै विवाद छैन किन कि सूर्य र चन्द्रमा प्रत्यक्ष यसका साक्षी छन्। यहाँ यस सम्बन्धि ज्ञाताहरुको अभाव नै प्रमुख समस्या हो । सूर्य ग्रहण चन्द्र ग्रहणको स्पष्ट पूर्वनिर्धारण । दैनिक सूर्य को उदय र अस्त को शुद्ध लेखा जोखा यो सामान्य नभएर असामान्य नै हो। संस्कृत शिक्षाको अभावले पनि ज्यौतिष शास्त्रलाई जनसमक्ष अझै राम्रो संग प्रस्तुत हुन दिएको छैन। त्यसैले त हामि मांगलिक योग को अर्थ राम्रो हो भन्ने कुरा पनि बुझ्न सक्दैनौ र डराउंदछौं। भवतु सर्वमंगलम्।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *