–तुल्सीराम पाण्डे
समयको क्रमसँगै हाम्रा पुराना रिती रिवाज, चाडपर्व मनाउने तरिका, लवाई खवाई, कमाउने खर्च गर्ने, समाजिक सम्बन्ध र मान्यताहरु र अन्य धेरै कुराहरुमा व्यापक रुपमा परिवर्तन भएको छ । आधुनिक, विज्ञान र प्रविधिको विकास नहुँदा सम्म कुनै समुदायको ज्ञान र सीप लामो समय सम्म त्यहि समुदायमा सिमित हुन्थ्यो । आजकाल एउटा व्यक्ति वा समुदायका ज्ञान र सीपहरु संसारभर छिटै नै फैलिन सक्दछन् ।
हाम्रो नेपालमा पनि आधुनिक विकासको शुरुवात नहुँदासम्म मानिसको जिवनशैली ६०/७० वर्ष या १०० वर्षसम्म पनि उस्तै अवस्थामा रहेको पाइन्छ । वि.स. २००० साल बाट नेपालमा आधुनिक सोंचको विकास भयो । त्यस भन्दा पहिले १८ औं र १९ औं शताब्दीमा मानिको जिवनशैली एकैनाशको पाइन्छ । १६ औं र १७ औं शताब्दीमा राज्यहरु र त्यसका संरचनाहरु फरक रुपमा देखिन्छन् । २००० साल भन्दा पहिलेका मानिसहरुमा जसरी भए पनि धर्म थाम्नु पर्ने मान्यता पाइन्छ । आफ्नो धर्म र परम्परालाई मान्नको लागि बसाई सर्ने, युद्ध गर्ने, धेरै विवाह गर्ने र कहिलेकाहि वलिदानी समेत दिएको पाइन्छ । १०० साल देखि ४०/४५ साल सम्म आफ्ना सन्तानहरु जोगाउन र लालन पालन गर्नमा ध्यान गएको पाइन्छ । ४५/५० साल भन्दा पछि सबै मानिसहरु आधुनिक सुविधाको उपभोग गर्ने, आफ्ना सन्तानलाई अरु मुलुकका नागरिक सँग प्रतिस्पर्धा गर्न योग्य बनाउने र विकासका संरचनाहरु समेत त्यसै अनुसार बनाउन ध्यान केन्द्रित भएको पाइन्छ ।
मेरो दृष्टिकोणमा २१ औं शताब्दीलाई विकासको रुपमा ५ चरण मा बुझिएको छ ।
वि.स. १०० साल देखि २० साल सम्म प्रारम्भिक वा सुरुवाति चरणः
यस समयमा देश र जनताहरुले विश्वका अरु मुलुकको दाँजोमा जानलाई चाहिने प्रजातान्त्रिक अधिकार, औद्योगिकरणको लागि चाहिने बिजुली, चेतनाको लागि चाहिने शिक्षा, छिटो आवतजावतको लागि सडक र सवारी साधन र सञ्चारको लागि रेडियो र टेलीफोन जस्ता आधारभूत कुराहरुको सुरुवात भएको थियो ।
२० साल देखि ४० सालसम्म सडको युग :
पूर्व पश्चिम महेन्द्र राज मार्गको सुरुवात १९ सालमा भयो । त्यस पछि देशै भरी बाटो खन्ने अभियान नै चल्यो । जिल्लाका सदरमुकामहरुमा गाडि लैजानको लागि झराली उठाएर प्रत्येक हिउँदमा बाटो खन्ने क्रम चल्यो । त्यो क्रम २०४६ मा बहुदल आएपछि मात्र रोकियो । २०२८ सालमा विरेन्द्र राजा बने पछि २०५७ साल सम्ममा देशलाई एसीयायी मापदण्डमा पु¥याउनको लागि सडकलाई प्राथामिकतामा राखियो । तिनै बाटाहरु अहिले प्रमूख मार्ग बनेका छन् ।
४० देखि ६० सम्म शिक्षाको युगः
२०३६ सालको जनमत सङ्ग्रहले जनताको चेतनालाई गुणात्मक रुपमा बढायो । त्यसपछि सबैले छोरालाई पढाउन थाले । त्यसभन्दा पहिले पण्डितहरु हुने खानेहरु र सौखिनहरुले मात्र छोरालाई पढाउँथे । केहि मान्छेले छोरीहरुलाई पनि घरबाट हिंडेर पुगिने ठाउँसम्म पढाउन थाले । २०४६ मा बहुदल आएपछि पहिलेका प्रा.वि. पनि मा.वि. सम्म बने । २०५५ पछि उच्च मा.वि. बने । घर बाट हिंडेर नै एस.एल.सी. र १२ कक्षा सम्म पढ्न पाइने भयो । २०६० सम्ममा शिक्षा बिना अव केहि गर्न सकिदैन भन्ने चेतना सबैमा आयो । ऋण काढेर भए पनि सबैले छोरा र छोरीलाई समान रुपमा पढाउन थाले । गाउँमा नै उच्च मा.वि. खुले पछि मात्र एस.एल.सी. पास गरेका बुहारीहरुले समेत घरै बाट हिंडेर १२ कक्षा सम्म पढ्ने अवसर पाए ।
६० देखि ८० सम्म प्रविधिको युगः
२०५०/५५ साल पछि जनताको चेतनामा बृद्धि भए पनि आधुनिक प्रविधिका साधनहरुमा २०६२ को जन आन्दोलन सफल भएपछि मात्र पहुँचको सुरुवात भएको हो । त्यसपछि मात्र गाउँहरुमा एफ.एम. रेडियो खोल्ने , निजि टेलिभिजन च्यानल खोल्ने, इमेल, इन्टरनेट, मोबाइल, कम्प्युटर, कृषिमा आधुनिकीकरण, टेली सपिङ र अन्य प्रविधिका क्षेत्रमा विकास भएको छ ।
८० देखि १०० सम्म प्रतिस्पर्धाको युगः
८० सालसम्म सबैले आधारभूत सेवा पाउने र त्यस पछि हरेक क्षेत्रमा प्रतिस्पर्धा हुने सम्भावना छ । २०५० साल सम्म गास, बास, कपास आधारभूत सुविधा हुन्थ्यो । ८० साल पछि ४० वर्ष काटेमा मानिसहरुमा आधुनिक रोगहरु देखिने हुनाले निरोगी बन्नको लागि कम खान खानु पर्ने र व्यायाम गर्नु पर्ने हुन्छ । आधुनिक सुविधाले गर्दा मानिसहरु अल्छि र रोगी हुनेछन् । १०० साल पछिको जिवनशैलीको अनुमान गर्न कठिन देखिन्छ ।
राजनैतिक इतिहासमा तिथि, मिति सहि हुन्छन् । सामाजिक इतिहासमा तिथि, मिति गलत हुन्छन् । यहाँ समेटिएका केहि कुराहरु आफैले देखेको भोगेको हो । धेरै जसो कुराहरु पाका मानिसहरु बाट लिएका हुन् । मानिसको सामाजिक विकासको क्रम फरक फरक क्षेत्रमा, फरक फरक समयमा र फरक फरक परिवेशमा भएको देखिन्छ । काठमाण्डौ र देशको पुर्वी भागमा ५० सालमा भएको विकास मध्यभागमा ७० सालमा आउँदा मात्र भयो । देशको पश्चिमी भाग र हिमाली क्षेत्रमा त्यहि विकास पुग्न ९० सालसम्म लाग्ने देखिन्छ । विकासमा भएको पहुँचको हिसाबले देशको पुर्वी भाग भन्दा पश्चिमी भाग ३०/४० वर्ष पछाडि परेको देखिन्छ ।
चाडपर्व, रहनसहन र जिवनशैलीमा ८/१० वर्षमा केहि साना परिवर्तन र २०/२५ वर्षमा ठूला परिवर्तनहरु देखिएका छन् । सकेसम्म धेरैलाई समेट्ने प्रयास गरिएको छ । यसका लेखहरुलाई तिथि, मिति बाट भन्दा पनि व्यक्तिको रुचि अनुसारको भोगाईहरुलाई सामाजिक कथाको रुपमा बुझिदिनु हुन पाठकहरुमा अनुरोध गर्दछु ।