सरोजराज पन्त
जन्म, कर्म र मृत्युको कुनै निश्चित सीमा र भुगोल हुँदैन । यस संसारमा मानिसहरु जन्मनु र मर्नु वास्तविक नियम हो । यो संघर्षको नियम जीवन यात्रामा निरन्तर चलिरहन्छ । संघर्ष मानव जीवनको गर्भदेखि सुरु भई चितासम्म निरन्तर चलिरहन्छ । उनीहरु एक र दुई पुस्ता पछि सदाका लागि बिर्सिएर गएका छन् । यद्यपी यहाँ यस्ता थोरै मानिसहरु छन्, जो मरेर पनि अमर छन् । उनीहरु महान तथा अमर हुनुमा उनीहरूले समाज र राष्ट्रमा पुर्याएको उत्कृष्ट योगदान नै हो । जीवनरुपी यात्राका अनेकौ उकाली–ओराली, दुःख–सुख, सहज–असहज परिस्थितिबाट गुज्रिरहन्छ । संसारमा अहिलेसम्म असख्य मानिस जन्मे, संघर्षको यात्रामा लागि रहे र पुनः पञ्चतत्वमा विलिन भए । उनीहरु मध्ये कतिपयले आफ्नो नाम इतिहासको पानामा स्वर्ण अक्षरले सुसुचित गर्न सफल रहे भने कतिपय त इतिहासले सधै धिक्कार्ने हुन पुगे । हाम्रो समाजमा जिवित रहुञ्जेल बेवास्ता गर्ने र मृत्युपछि अनेकौं थरी नाम, विशेषण जोडेर प्रशंसा गर्ने प्रवृत्ति बिद्यमान छ । यद्यपी कैयौ व्यक्तिहरु एक थोपा रगत बाँकी रहुञ्जेल समाज र जनताको सेवामा समर्पित हुने र दिलो ज्यान दिनका लागि तयार भई रहन्छन् । यसरी धर्तीमा पाइला राखेपछि निरन्त्तर संघर्ष गरिरहने सबैकी दुःखकी साथी निस्वार्थ काम गर्न तीव्र सङ्कल्प बोकेर काठमाण्डौमा डिल्लीबजारमा जन्मेर,शहरमा हुर्के पनि पर्वत लिमिठानामा विवाह गरेकी अनुराधा पाण्डेको वि. सं. १९९६ साल असोज ६ गते आमा पुर्ण कुमारी पाण्डे बुवा तेजराज पाण्डेको कोखबाट यस धर्तीमा प्रवेश भएको हो ।
जीवनको पूर्वाद्र्वदेखि नै लगनशिल, कर्तव्यनिष्ठ भई, संघर्षमय जीवन जिउन विवश अनुराधालाई बागलुङ ल्याएर आफन्तको सहयोगमा पर्वत लिमिठानामा विवाह गरिदिएको पाइन्छ । उहाँका बुबा तेजराज पाण्डे सरकारी कर्मचारी हुनुहुन्थ्यो । र राजा महेन्द्रको शासनकालमा उहाँले पुर्याएको योगदानको उच्च मुल्याङ्घन स्वरूप बागलुङ निरयमा २५ रोपनी जग्गा बक्सिस पाएको पाइन्छ । बि.स.२०१३ सालमा १६ बर्षको उमेरमा अनुराधा पाण्डेको पर्वत जिल्लाको लिमिठानामा हितराज पन्तसँग उहाँको विवाह भयो । विवाहमा राजा महेन्द्रबाट दाइजो बापत रु.५०० प्राप्त भएको थियो । उहाँको बाल्य अवस्था काठमाडौँमा बितेपनि उहाँको भाग्य परीक्षा भने गाँउ घरमै भयो ।
माइतीमा लामो समयसम्म बस्न नपाए पनि उहाँको बाल्यकाल सुख सयलमा नै बितेको स्मरण गर्दै विवाह पछि अनवरत संघर्ष गर्नु परेको उहाँको कथन रहन्थ्यो । उहाँका अनुसार, पिता तेजराज पाण्डे सरकारी सेवामा रहेकोले जागिरको शिलशिलामा काठमाण्डौंमा रहदाँँ खानपान लत्ता कपडामा कुनै पनि समस्या नभएको तर छोरीको कर्म १६ वर्ष नपुग्दै आफन्तको दबाबमा विवाह गर्न परेको त्यही पनि गाँउमा जुन कुरा सोँच्नै नसकिने थियो । त्यो समय छोरीलाई शिक्षा दिने चलन नरहेको र साधारण शिक्षा मात्रै प्राप्त गरेको र सानै उमेरमा विवाह गर्न परेकोले विवाह पछिका क्षणहरु संघर्षमा बितेको थियो । अनुराधा पन्त एक समाजसेवी स्यंमसेविका हुनुहुन्थ्यो ।
विवाह पछिका केही दिनमा भएको एउटा अविस्मरणीय क्षणको पीडा सुनाउदै उहाँले भन्नुहुन्थ्यो । हामी काठमाडौंमा बस्दा तिलको अचार खाने गरिन्थ्यो, जुन मिठो हुन्थ्यो । मेरी (सासु आमा) बज्यैले भान्सामा त्यस्तो तिलको अचार पकाएको मैले देखे लाग्थ्यो । यहाँ पनि तिलको अचार खान पाइने रहेछ भन्दै खुशी हुदैँ मेरी (सासु आमा) बज्यैले भान्साबाट थाल भरि त्यहीँ अचार मात्र पस्कनु भयो । त्यो देखेर आश्चर्य भई मनमनै अचार पनि त्यति धेरै अहो ! कसरी खाने अनि अचार मात्रै खाने ! एक छिनपछि सानो स्वरमा सोधे तिलको अचार थाल भरि छ, मेरो बोली खस्न नपाउदै सबैजना हाँसी रहे । तर पनि म त्यो कुरामा अबुझ नै थिए । त्यहाँ त्यसबेला म हाँस्य पात्र बनि अरुलाई हसाई रहेकी थिए । त्यसबेला म लाजले मुर्छित भई तिलको अचार प्रति हेरिरहेकी थिए । जब मलाई सबैजनाले हेर्न छाडे त्यसबेला भान्सामा बज्यै मेरा अगाडी हुनुहुन्थ्यो । मैले यति धेरै तिलको अचार किनी दिनुभयो आश्चर्य मान्दै खान सुरु गरे । त्यसमा नुन, खुर्सानी, अमिलो लगायत कुनै पनि मसला राखिएको थिएन र स्वाद पनि थिएन । किन यस्तो हो भन्ने कुरा मनमा खेलिरहेको थियो तर फेरि बज्यैलाई सोँध्ने आट म मा थिएन । किनकी त्यसबेला बुहारीलाई घर परिवारले हेर्ने दृष्टिकोण कठोर थियो । तर पनि डराई डराई प्रश्न गरे । यो तिलको अचारमा किन नुन, खुर्सानी, अमिलो लगायत कुनै पनि मसला राखिएको छैन । त्यसपछि सासु बज्यै झर्किदै भन्नुभयो, ‘कहिल्यै खाएकोले पो खान जान्दछ, बाहुनले च्याऊ खाको, न मुख उकाको’, यो त कोदाको ढिडो हो, कुनै तिलको अचार होइन । त्यसछि मेरो मनमा सुन्यता छायो एक्कासी आँखा रसाएर आए बेदनाको आँशु बग्न थाल्यो । अनि जीवनको मार्गदेखि नै अनौठो लाग्न थाल्यो । मेरो कस्तो जीवन कोदाको ढिडो र तिलको अचार छुटाउन कठिन भयो । यस्तै कुरा मनमा धरै बेर सोची रहे अनि फेरी आफैलाई सम्हाले पनि । ‘खान्न भनेको खान पर्ने, जान्न भनेको ठाउँमा जानु पर्ने’ । विवाह पुर्व माइतिमा तिलको अचार खाने गरेकी अनुराधाले विवाह पछि कोदाको ढिडोको मार्मिक अनुभवबाट नयाँ पुस्ताले केही सिक्नु पर्ने देखिन्छ ।
आँफु दुखमा रहे पनि अर्काको दुख देख्न नसक्ने बानीको कारणले छरछिमेकीले पनि उहाँलाई निरन्तर सहयोग गरेको पाइन्छ । यसरी जीवनमा विवाह पछि संघर्षको पोखरीमा डुब्नु भएकी अनुराधा आज हामी सामु हुनु हुन्न उहाँले हामीलाई एक्लो पारी (टुहुरो पारी) सदा–सदाका लागि टाढिनु भयो । आज त्यो क्षणको स्मरण गर्न सकदैनौँ, यदि गरेमा बेहोसको नभई धैर्य नै हुँदैन । चाहे जे भए पनि हाम्रो गाँउकी आमा बनेर रहनु भएकी अनुराधा हसिलो चेहेरा गोलो अनुहार अलिक दुब्लो शरीर भएको हुनुहुन्थ्यो । उहाँको बोली मधुर थियो । कहिबाट कसैले बोलाएर ‘हई वा’ भन्ने सुमधुर आवाज गुिञ्जन्थ्यो । जुनसुकै नाताले उहाँलाई सम्बोधन गरेर बोलाए पनि । गाँउमा कुनै समस्या वा अप्ठ्यारो पर्दा, कोही व्यक्तिलाई कुनै कुराको जटिलता हुँदा, महिलाको प्रसव पिडामा उहाँ अगाडी सर्नु हुन्थ्यो । भान्सामा कपडा फेरेर खाना बनाउने चलन अनुसार भान्सा छाडेपछि फेरि खान हँुदैनथ्यो । तर, उहाँले खान लागेको बेला कुनै समस्या पर्यो, लौन के गरौ भनेपछि खानै छोडेर समाधानका लागि जानुहुन्थ्यो । लिमिठाना, ठानामौला, खानीगाउँ, देविस्थान,कुर्घा लगायतका स्थानमा महिलाहरुको प्रसव पीडा र शाल नालको समस्या र कुपोषणको समस्यामा भएका बालबाकिाहरुको उपचारमा रक्षा कवजको रुपमा उहाँले निरत्तर साथ दिइरहनु हुन्थ्यो । युनिसेफ र सेभ द चिल्डेनबाट मातृ शिशु सुरक्षा सम्बन्धि तालिम लिएर तत्कालिन स्वास्थ्य अभाव रहेको समयमा सेवा दिनु ठुलो गुन हो । उहाँ दर्जनौ बालबालिकाकी दुधे आमा हुनु हुन्थ्यो । इश्वरले पनि राम्रालाई छिटो लैजाँदा रहेछन् भन्दै ब्याकुल स्वरमा छिमेकी आमाहरु उहाँको स्मरणमा आँखाबाट आँसु झार्दै बताउनु हुन्छ । उहाँले सामान्य लेख पढ गरेपनि उहाँको बोलीमा सदैव मिठास शब्दको बास रहन्थ्यो । बोली र ब्यवहारकै कारण उहाँ स्वयंमसेविका र सेवा क्षेत्रमा अगाडि बढन सहज भएको पाइन्छ ।
उहाँको निस्वार्थ सेवाको कारण घरमा पुजा,पाठ, श्राद्ध र अन्य समयमा दुध, तरकारी, फलफुल सबैले ल्याउने, आफुले पनि घरमा भएका तरकारी, फलफुल सबैले बाँडेर खाने चलन उहाँको थियो । घर वरिपरी धान रोप्दा सबै छिमेकी, आफन्तजन आएर रमाइलो गर्दै सहयोग, अर्मपर्म गरी खेतीपाती गर्ने चलन थियो । ५९ बर्षको छोटो जीवन मात्रै यस संसारमा खेल्न पाउनु भएकी पन्तका सेवाकै कारण दर्जनौ प्रमाणपत्रहरु रहेका छन् । आफुले धेरै पढ्न नपाए पनि छोराछोरीलाई शिक्षा क्षेत्रमा लगाउन र पढाउनु पर्दछ भन्ने सक्रिय सोच उहाँमा रहेकोले छोराछोरीलाई मेरा लागि होइन, आफ्नै लागि हो । पढ र सदा सर्घष गरेमा सफलता हासिल गर्न सकिन्छ भन्ने आमाका कुरा अहिले उहाँका ४ छोरा र ३ छोरीमा पनि देखिन्छ ।
समाज प्रतिको सकरात्मक सोच र चिन्तनले गर्दा जीवनभर सरसहयोग, लेनदेन र आपसी सहकार्यमा उहाँलाई सबैले स्मरण गरिरहन्छन् । उहाँको मृत्यु भएको आज झण्डै २२ वर्ष पुगेको छ र पनि गाउँ समाजमा उहाँलाई सबैले स्मरण गरिरहेका छन् । उहाँकी जेठानी दिदी चन्द्रकुमारी पन्तका अनुसार उहाँ मिलनसार सहयोगी र जस्तोसुकै अवस्थामा पनि सेवा गर्नका लागि निरन्तर क्रियाशील,लगनशील, कर्तव्यनिष्ठ, व्यवहारिक र दुखजिलो जिउन सफल नारीको रूपमा चिन्नुहुन्छ । उहाँले आफ्नो जीवनकालमा धेरैजना महिलालाई प्रसव पीडाको छटपटि र मृत्युको मुखबाट बचाउनुभयो । कैयौं सुकेनास पीडित बालबालिकाहरु बचाउनको लागि हरपल प्रयास गर्नुहुन्थ्यो । तालिममा पनि निरन्तर क्रियाशिल बनेर सिक्ने र सिकेको कुरा तुरुन्त व्यवहारमा उतार्ने बानीले गर्दा उहाँलाई सबैले मन पराउने गरेको पाइन्छ । यसरी समाजमा देखिने समस्यालाई तुरुन्त समाधान गरि सहयोग गर्नमा उहाँ निन्तर लागिरहनु हुन्थ्यो । यसैको परिणाम स्वरुप आज पनि यस समाजले उहाँलाई सम्झी रहेको छ र निरन्तर सम्झिरहनेछ । गाउँमा उहाँका आफन्त, आमा, दिदी, बहिनीहरुलाई उहाँको बारेमा सोध्दा आँखा न रसाउने मान्छे कोही हुनुुहुन्न । यसबाट पनि उहाँलाई चिन्ने सबैले स्मरण गर्नुभएको छ । दिदीबहिनीको नजरमा पनि उहाँलाई स्मरण गर्दा दिदी सबै प्यारी, मिलनसार, आफुले नखाएर पनि अरुलाई खुवाउन सधै तत्पर रहन आफ्नो मनका दुख अरुलाई न पोख्ने अथवा भन्न नरुचाउने , आफन्तहरुले दुख थाहा पाए चिन्ता बढ्छ भन्ने सोचाइ राखेर माइतीलाई दुःखका कुराहरु नदेखाउने बानी उहाँको रहेको बताउनुहुन्छ ।
कुनै रोग नदेखिए पनि बि स २०५५–०४–२३ गते राती देखि सामान्य रुपमा शरीर फुल्ने थालेपछि उहाँलाई तत्काल पोखरा गण्डकी अस्पतालमा पुर्याइएको थियो । केही दिनको उपचारले उहाँलाई केही फरक पारेन र त्यहाँबाट काठमाडौं रिफर भयो । काठमाण्डौको नेशनल किड्नी अस्पतालको उपचारबाट केही सन्तोषको सास फेरिदै थियो तर त्यो लामो समय टिकेन । र मिति २०५५–५–२८ गते अष्टमी तिथिका दिन उहाँले हामी र हाम्रो समाजलाई सदा सदाका लागि टुहुरो पारेर जानुभयो । उहाँको मृत्यु हुनु भन्दा करीब १ वर्ष अगाडि उहाँले भन्नु भएको थियो । आज फलानो मर्यो, भोली फलानो मर्यो भन्दै जाँदा आफु मर्ने दिन पनि त आउँछ नि, आफ्नो हात, खुट्टाले चल्ने समय सम्म पो होनी बाँच्ने । यस्तै यस्तै समस्यामा जेलिएर जीवन जीउदैँ आउनु भएकी अनुराधा पन्त सधैँ सेवा प्रति विश्वास राख्नु हुन्थ्यो र अर्काको दुःखमा सहयोग गर्नु नै उहाँको धर्म हो । जब उहाँको मृत्युको खबर गाँउमा आयो सारा जनमानसमा सुन्यता छायो । सबैका आँखामा क्षरी जस्तै आँशु झरिरह्यो सबै जनामा एउटी कल्याणकी आमाको अभाव भयो तर के गर्ने इश्वरको लिला टारेर नटर्ने, रोएर नहुने आखिर बिर्सेरै सम्पूर्ण काम गर्नु पर्ने सृष्टिको रित रहेछ ।
अर्काको आशमा जीवन जीउनु राम्रो होइन, यद्यपी हामी आज आफ्ना लागि मात्र जिउन सिकेका छौँ । अरुका लागि जिउन बिर्सदै गएका छौँ । आफ्नो व्यक्तिगत स्वार्थलाई सिरोपर गरी अरुले गरेको कामको टिका टिप्पणी गर्न र राम्रो काम गर्ने मानिसको खुट्टा तान्न लालायित छौँ । उहाँले समाजलाई पुर्याएको निःस्वार्थ सेवालाई अंगिकार गरी जननी माताको सम्मान गर्न, गाउँ र शहरबीचको ब्यबहारगत असमानता हटाउन, दुख र सुखका वास्तविक लेखाजोखा गर्न, सेवा गर, मेवाको आशा नगर’ भन्ने भनाइलाई आत्मसात् गर्दै जीवनको सबै क्षणमा क्रियाशिल रहनु र हारेर होइन, संघर्ष गर्नु पर्दछ । यसको लागि सबै एक ढिक्का हुनु पर्ने सन्देश उहाँको जीवनीबाट पाउन सकिन्छ ।