विपद व्यवस्थापन र प्राथमिक उपचार

शुभेच्छा पन्त

प्रकृति तथा दैवको लिला अनुसार मानिसको जीवनमा कहिले कहाँ कति बेला कसरी के आइपर्छ भन्ने केही थाहा हुँदैन । प्राकृतिक वा अप्राकृतिक प्रकोप पूर्व सूचना विना नै आउँछ । प्राकृतिक प्रकोप र मानव निर्मित प्रकोपले गर्दा वर्षेनी विश्वमा लार्खौ मानिसको ज्यान जाने मात्र नभई ठुलो जनधनको विनाश हुने गरेको छ । यसैगरी साँस्कृतिक, धार्मिक, पुरातात्विक लगायतका पर्यटकीय धरोहरको विनाश भइरहेको छ । जसले गर्दा कुनै पनि राष्ट्र तथा व्यक्तिको सम्पदा, सम्पति, पहिचान, सँस्कृति, धर्मको पनि विनाश भएको देखिन्छ ।

विपद भनेको प्राकृतिक वा अप्राकृतिक रुपमा सिर्जित संकटको अवस्थालाई बुझिन्छ । प्राकृतिक प्रकोप भनेको प्रकृतिले सिर्जना गर्ने विभिन्न हानिकारक क्रियाकलापलाई बुझिन्छ । जस्तैः भूकम्प, हावाहुरी, सुनामी, चट्याङ, बाढी, पहिरो, भुक्षय आदी हुन् । र मानव निर्मित प्रकोप भनेको आगलागी, सवारी दुर्घटना, जनावरको शिकार, सामान्य चोट पटक आदि जीवनका हरेक समयमा आइ पर्न सक्दछ । विपद कुनै पनि रुप–स्वरुप, प्रकार मानव, जीवजन्तु र वातावरणका लागि अप्रिय हुन्छ किनकी विपदले जीवन जगत सबैलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष प्रभाव पर्दछ । व्यवस्थापन भन्नाले योजना, संगठन, नियन्त्रण भन्ने बुझिन्छ । विपदलाई बुद्धिमतापूर्वक एवम् प्रभावकारी रुपले व्यवस्थापन गरी यसको असरलाई न्यूनिकरण गर्ने प्रक्रियालाई विपद व्यवस्थापन भनिन्छ । अर्को अर्थमा विपद भन्नाले प्रकोपजन्य घटनासँग सम्बन्धित तथा मानवीय, भौतिक, सामाजिक, साँस्कृतिक, आर्थिक वा वातावरणीय क्षति जसका कारणले समुदाय तथा राष्ट्रको सामान्य जीवन पद्धति, गम्भीर रूपमा अवरुद्ध हुन पुग्छ । अहिले नेपालमा २०० भन्दा बढी नागरिकको बाढी पहिरोको कारणले मृत्यु भएको छ । प्रत्येक दिनजसो सडक दुर्घटनामा परी २ वा सो भन्दा बढी व्यक्तिको मृत्यु भइरहेको देखिन्छ । प्रकृति र मानवद्वारा सिर्जित समस्याका कारण हामीकहाँ विपद निम्तिने गर्दछ । प्राथमिक उपचार भनेको प्रथम उपचार वा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन हुनु अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने उपचार नै प्राथमिक उपचार हो । अर्को अर्थमा प्राथमिक उपचार भनेको कुनै पनि घटना भएपछि अस्पताल वा स्वास्थ्य चौकी जानु भन्दा अगाडी गरिने उपचारलाई बुझिन्छ । जस्तैः कुनै मानिस दुर्घटनामा परेको छ भने उसलाई डेटोल, बेन्डेज इत्यादि प्राथमिक उपचार बक्सका सामग्री प्रयोग गरी उपचार गरिन्छ । विपद र प्राथमिक उपचारमा नङ र मासुको जस्तै सम्बन्ध छ किनकी विपद आइप¥यो भने मात्र प्राथमिक उपचारको आवश्यक पर्छ । कुनै बेला हात खुट्टा काट्न सक्छ, कुकुरले टोक्न सक्छ त कहिले सर्पले डस्न सक्छ । यस्ता अप्ठ्याराबाट बच्न प्राथमिक उपचारको आवश्यता हुन्छ । ‘प्राथमिक उपचार बक्स’लाई अङ्ग्रेजीमा ‘फस्ट एड बक्स’ पनि भन्ने गरिन्छ । प्राथमिक उपचार बक्स बजारमा सजिलै खरिद गर्न सकिन्छ र घरमै पनि तयार पार्न सकिन्छ । ‘प्राथमिक उपचार बक्स’ अथवा ‘फस्ट एड बक्स’ आवश्यक परेको बेला सजिलै देख्न, खोल्न तथा प्रयोग गर्न सकिने ठाउँमा हुनुपर्छ । विपद भइसकेपछि कसरी बच्ने भन्दा पनि हुनु अघि कसरी सतर्क रहने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले हामीले विपद हुन नदिन पनि आँफुले सक्ने पहल गर्न जरुरी छ । विपद आफैँमा समस्या हो । यसको व्यवस्थापन पनि समस्यारहित छैन । विपद व्यवस्थापनमा देखा पर्ने साझा समस्याहरुमा सूचनाको आदान प्रदानको अभाव प्रमुख देखिन्छ । प्राथमिक उपचार अनुभव र शीघ्र निर्णय प्रक्रियाद्वारा क्षतिलाई न्यूनिकरण गरी स्थितिलाई सामान्य बनाउनका लागि अबलम्बन गर्ने विधि हो ।

प्राथमिक उपचारको सुरुवात सन् १८६३ अक्टुबर २० मा जाँ हेनेरी ड्युनाले इटलीको सल्फेरियाबाट गरेका हुन् । विश्व मानव जातिका लागि सम्वृद्ध अभियानका रूपमा मानवताको शक्तिलाई स्थापित गर्दै मानवताको धर्म निभाएर उनले विपतमा परेकालाई सेवा गरेका हुन् । जसले गर्दा मानवता र सेवाको पनि युग जन्मियो । त्यसै अनुरुप विश्व रेडक्रस सोसाइटीको पनि स्थापना भयो । जसले मानवताको धर्म निभाइ विपतमा परेकालाई सधै सहयोग गर्दै आइरहेको छ । नेपालमा भने २०२० भाद्र १९ मा यसको स्थापना भयो । यस पश्चात पनि समाजमा मानवताको धर्म निभाएर अगाडी बढ्ने उद्ददेश्यले विभिन्न सामाजिक संस्थाको स्थापना भएको छ । जसले गर्दा राष्ट्र र समाज विकासमा पनि टेवा पु¥याएको छ ।

मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पु¥याउँछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरी बिना पैसा सहयोग गर्नु, जीवन रक्षा गर्नु, विपतमा परेकालाई प्राथमिक उपचार गर्नका लागि नै सामाजिक संस्थाको स्थापना भएको हो । यस्ता संस्थाहरुले अन्तर्राष्ट्रिय मानविय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबै प्रति आदर र विपदलाई कम गरेर सेवा नै धर्म हो भने विचारलाई स्पष्ट पारेका छन् । अहिलेको समयमा प्राथमिक उपचार विश्वका कुनै पनि राष्ट्रलाई महत्वपूर्ण छ । विपदमा परेकालाई प्राथमिक उपचार दिनको लागि अहिले विश्वका १९० भन्दा बढी राष्ट्रमा यसको अबलम्बन गरिएको छ । प्राथमिक उपचारको सिद्धान्त अनुसार सुरुमा बिरामीलाई श्वास फेर्न गाह्रो भएको नभएको जाँच गर्नुपर्छ, घाइतेलाई ताजा र स्वच्छ हावा दिनुपर्छ, यदी बिरामीको श्वास रोकिएको छ भने उसलाई तुरुन्तै श्वास प्रश्वास दिनुपर्छ, घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्न बेन्डेज लगाउनु पर्छ र घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनु पर्छ । त्यसको लागि यातायातको छिटो भन्दा छिटो व्यवस्था गर्नुपर्छ । गम्भीर घटनाहरूको बारेमा भने प्रहरीलाई जानकारी गराउनुपर्छ, इत्यादि महत्वपूर्ण सिद्धान्तहरु हुन् जसले मानिसको जीवन बचाउन धेरै महत्व पु¥याएको हुन्छ ।

यीनै क्रियाकलाप पुरा गरे पश्चात घाइते व्यक्तिलाई स्वास्थ्य चौकी अथवा अस्पताल लैजानुपर्छ । प्राथमिक उपचारका उद्देश्य भनेको घाइतेको अवस्था झन् बिग्रन नदिनु, घाइतेको दुखाई कम गर्नु र घाइतेलाई सजिलो अवस्थामा राख्नु, तुरुन्त निको पर्नु, घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउनु, बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने आदि हुन् । हामीले प्राथमिक उपचार गर्दा न आत्तिकन जिम्मेवारी निभाउनुपर्छ । आवश्यकता अनुसार घटना स्थलमा उपलब्ध अन्य मानिसहरूको पनि सहयोग लिनुपर्छ । घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिनुपर्छ । यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउनु पर्छ । प्राथमिक उपचारको सीप धेरैले बिद्यालय स्तरमै सिकेका हुन्छन् । प्राथमिक उपचारले दुर्घटनामा परेका व्यक्तिको जीवन जोगाउन सक्षम बनाउँदछ । हामीहरुले जोखिमबाट बच्न, बिरामी तथा घाइतेको जीवन बचाउन, अवस्था खराब वा जोखिमपूर्ण हुन नदिन, उचित उपचारका लागि सम्बन्धित स्थानमा पु¥याउन, अन्य संक्रमणको जोखिमबाट बच्न प्राथमिक उपचारको अबलम्बन गर्न जरुरी छ ।

उपचार गराउने व्यक्तिले शुरुमा आफ्नो सुरक्षा गनुृपर्छ । बिरामी तथा घाइतेको अवस्था परीक्षण गरी प्राथमिक उपचार गर्नुपर्छ । प्राथमिक उपचार गर्ने व्यक्ति दुर्घटना स्थलमा छिटो पुग्नु पर्छ । धेरै जोखिममा भएका घाइतेहरुलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ, । रोगीलाई सान्तवना दिनु, दुर्घटना स्थलमा तुरुन्तै पुगेर निरीक्षण गर्नुपर्छ, श्वास प्रश्वास भएको नभएको हेर्नुपर्छ । श्वास मार्ग खुकुलो बनाई दिनुपर्छ । मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिनुपर्छ । ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने स्वास प्रश्वास निरन्तर गराउनु पर्छ । स्वास भित्र लिने र बाहिर छाड्ने प्रयाप्त भएको छ कि छैन हेर्नुपर्छ । मुखबाट मुख जोडेर स्वास प्रश्वास गराउनु पर्छ र अन्तिममा घाइतेलाई धेरै हलचल नगराई अन्य उपचारका लागि स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउनु पर्छ । प्राथमिक उपचारका दक्षहरूको सख्या समुदायमा बढ्नाले हाम्रो समूदाय अझ सुरक्षित र जोखिममुक्त हुन मद्दत गर्छ । त्यसैले एक घर एक दक्ष व्यक्ति हुन जरुरी छ । त्यसले गर्दा आफ्नो परिवार मात्र नभई सिङ्गो राष्ट्रको नागरिकलाई पनि बचाउन सहयोग गर्छ ।

नेपालको लागि विपद व्यवस्थापन (उद्घार) ऐन, २०३९ नै पहिलो र मुख्य कानूनी प्रावधान हो, जसले विपद न्यूनीकरणका लागि पहल गर्छ । विपद समयमै व्यवस्थापन हुन नसक्नुका कारणहरुमा ध्यान दिन जरुरी छ । संकट उत्पन्न हुने मुल कारणहरु वातावरणको अनिश्चितता, स्रोत बाडफाँडको असमानता, राज्य तर्फको उपेक्षा, द्धन्द्धको वातावरण आदि हुन् । संकटले विनाश मात्र नभएर विकास पनि गरिदिन्छ । विपद आइपर्दा जे पर्छ, उहीँ टर्छ भन्नु भन्दा पनि विपदले पार्ने असर, विपद आइपर्दा गरिनु पर्ने व्यवस्थापन, व्यवस्था गर्न लाग्ने समय प्रक्रिया जस्ता कुराहरुलाई मध्यनजर गरेर सोच बनाउन सकिएमा विपदलाई कम विनाशकारी बनाउन मद्दत गर्छ । नेपाल भौगोलिक हिसाबले विविधतापूर्ण, आर्थिक हिसाबले विपन्न, राजनीतिक हिसाबले अन्योलपूर्ण मुलुक हो । नेपाल जस्तो विकासोन्मुख देशमा

स्वास्थ्य उपचारहरुको उपलब्धता समान, सरल र सहज छैन, त्यहाँ प्राथमिक उपचारको महत्त्व अझै धेरै हुन्छ । प्राथमिक उपचारले यस्ता घटनाका कारण उत्पन्न हुने ज्यानै जाने जोखिम न्यून गर्न सक्छ । यदि कुनै पनि समस्या आयो भने विपदमा परेका व्यक्तिलाई राहात प्रदान गर्नुपर्छ र आफुले सक्दो सहयोग गर्नुपर्छ । जस्तै हामीले विपदमा परेकालाई लता कपडा, खानेकुरा र बस्ने बासको व्यवस्था गरिदिनु पर्छ । हामीले विपदमा परेकालाई कुनै पनि राजनीतिक, जातिय, धार्मिक तथा बैचारिक स्वभावले पक्ष लिनु हुदैन । विपद व्यवस्थापन विना देश समुन्नत र देशमा विकास हुन सक्दैन । विपद व्यवस्थापनका लागि विपद पुर्वको तयारी गर्नुपर्छ । हामीले घरमा एउटा झट्पट झोला तयार गरेर राख्नुपर्छ । त्यसमा हामीले बेन्देज, टर्च लाइट, सुख्खा खानेकुरा, सिटामल जस्ता सामान्य कुरा राख्नु जरुरी पर्छ । यदि केहि समस्या पर्यो भने हामीले झट्पट झोलाको प्रयोग गर्न सक्छौँ । विपद परेका बेलामा हामी आत्तिनु हँुदैन र विपदपछि हामीले घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार गर्नुपर्छ । विपदमा हामीले सहयोग गरेर मानवताको धर्म निभाउनु पर्छ र समाजमा सहयोग गर्न सधैँ एकजुट हुनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *