शिवशरण ज्ञवाली
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लास छोपिन्न
गोपाल योञ्जनको यो गीतको विपरीत यसपालि मैले साथीको मनबाट उसको मोटरसाइकल खोसे । मनले खोसेपछि तनले रोक्दैन । ‘दिएँ लैजाऊ दाइ ! सट्टामा के दिन्छौ र खै तिमी मगन्तेले ?’ भन्दै उनले मलाई मोटरसाइकलको चाबी थमाए । उकालो चढ्दा बरु पहिल्यै एक गेयरमा जानु, उकालोमा क्लज नसात्नु आदि आदि उपदेश गुरु मलाई चेला उनले दिए । मोटरसाइकल लिनु थियो म चुपचाप चेलाका उपदेश सुन्दै थिएँ । आफ्नो स्वार्थका लागि हामी अरुका कुरा चित्त नबुझे पनि मन पराउन अभ्यस्त भइसकेका छौं । हुन पनि म आजकाल सारा कुराको मगन्ते भाको छु र मुखमा बिर्को लगाएको छु । फेसबुकका स्टाटसमा पनि मन नपरे पनि सही विचार भनेर लेख्ने कष्ट गरिरहेको छु । बधाई र शुभकामना पोष्ट्याइरहेको छु !
मनबाट खोसेको मोटरसाइकल लिएर म घर आएँ । संसारलाई अत्याएको कोरानाले हामीलाई यति धेरै अत्याउला भन्ने अनुमान म बबुरोले कसरी गर्न सक्थे र ? एक महिना दुई महिना तिन महिना हुँदै यो छैटौं महिनामा झन् उकालो लागिरहेको छ । मान्छेलाई घरघरमै कैद गरिरहेको छ । भागे प्रजातन्त्रको अनुशासनहीनतामाथि घन ठोकिरहेछ र भनिरहेछ ‘मनुवा तिम्रो मनपरी चल्दैन, अनुशासनमा बस । तिम्रो शासन व्यवस्था, जीवनशैली, मनपरीतन्त्र, अव्यवस्थालाई सच्चाऊ । भोलिका लागि आज गर । भागे प्रजातन्त्रलाई धराशायी बनाऊ । वास्तविक प्रजातन्त्रको खोजी गर ।‘ चेतावनी कडै छ ।
पढाइले पसिना सिद्धान्त खोजी गर्न बाध्य बनाको धेरै भइसकेको थियो । जसरी पनि दिनको एकपटक पसिना खल्काउने उपाय जागिरमा बिहानी हिँडाइ थियो । घरमा के गर्ने ? त्यसपछि बारीको छेउमा थुप्रिएका दाउरा चिर्नु नै मेरो सिद्धान्तको कार्य रुप हुन थाल्यो । बिहानै हिडुँ भने म उठ्दा घाँसका भारी फाल्ने गाउँलेले काम नपाएर लखरलखर हिडेको भनेर खिसी गर्लान् भन्ने डर थियो । त्यसैले मैले मुढोमाथि बन्चरो चलाउन थालेँ । त्यसरी बन्चरो चलाउँदा दाउरामा एउटा काभ्रोको विरुवा उम्रिएको रहेछ । त्यो बिरुवालाई जोगाएर झिकेँ । चैतको खडेरीमा सुक्न लागेको विरुवालाई पानीको कुलोमा राखेर जोगाएँ । अनि बैशाखमा पानी बर्षेपछि त्यसलाई लगेर रोपिदिएँ । यो तरिका आमा र छिमेकी दाईले लगाउनु भयो । शायद वरपिपल जस्तै काभ्रोको विरुवा चराको विष्टयाइका कारणले रुखको टोड्कामा उम्रिएको हो कि ! भन्ने अनुमान मात्रै म गर्न सक्थे । काभ्रोको बिरुवाको परागसेचनका लागि चरा नै चाहिन्छ कि ? रहस्यमय छ प्रकृतिलीला ! विज्ञान विचरा बनेको समय हो यो । काभ्रो जस्तै वरपिपलको पनि हाँगाबाट विरुवा हुर्काउन पनि सकिन्छ कि ? जस्तो अनुमान लगाएँ । काभ्रोको त हाँगाबाटै पनि विरुवा सारिन्छ । मैले नै यसपालि बिस हाँगा लगाएँ हुँला । त्यसपछि मैले बारीको कुनामा ट्याङ्की बनाउन खनेको घडेरीको माटोमा केरा लगाएँ । कफीको विरुवाहरु थुप्रै वर्षदेखि एकै ठाउँमा थिएँ । तिनलाई नि सारें । अमलाको विरुवा लगाएँ । पोहर सालको जेठमा लगाको बेलपत्रले पनि जीवन धानेकै रच ।
लकडाउनले सिर्जेको फुर्सदलाई यसपालि मैले प्रकृतिसँगको सामीप्यताका लागि उपयोग गरें । यो आफ्नै आवश्यकताका लागि बढी थियो ! खासमा पसिना सिद्धान्तले प्रेरित गरेको परिणाम थियो ।
पढाइ सडाइको टन्टा लफडाबाट टाढा बस्न मन लागेको थियो । जागिरे नत्थी सुरु भयो । परिणाममा भन्दा प्रक्रियामा जोड दिने नेपाली चलन हो । मकै लगाएपछि किसानले मकैको उत्पादन कसरी बढ्छ त्यसमा ध्यान दिन्छ तर जागिरेहरु परिणाममा भन्दा प्रक्रिया पुगो पुगेन भनेर घोत्लिरहेका हुन्छौ । त्यहीकारण सबैतिर वेथिति अकर्मण्यताको थुप्रो लागेको छ । त्यही प्रक्रियामा सहभागिता जनाउन यसपालि म बुटवल हेलिएँ । बुटवलका आफन्तहरुसँगको भेटलाई दुई अंकमा झरेको कोरानाले हौस्याइदियो । अनि निर्धक्क घुमियो । पहिलो साक्षात्कार मेरो बहिनी नमूनासँग भयो । पढाइमा ब्याचलर अध्ययनरत उनलाई मैले सोधें, ’नेपाली मिडियम पढ्नु र अङ्ग्रेजी मिडियममा पढ्नुमा के फरक छ ? सजिलो अप्ठयारो के छ ? उनले खास फरक नभएको बताइन् । आफूले अङ्ग्रेजी मिडियममै लेख्ने गरेको बताउने उनलाई तिम्रो लक्ष्य के हो भनेर सोध्नु आवश्यक थिएन । लक्ष्यमा प्रष्ट भएको मलाई पहिल्यै था थियो । अङ्ग्रेजी बोल्न चाहि नबोलेको उनले बताइन् । मैले बोल्ने अभ्यास गर्ने सल्लाह दिएँ । उनी कक्षाको पहिलो विद्यार्थी भको पनि बुझियो । त्यसपछि मैले अरु अङ्ग्रेजी मिडियम पढेका तिन बहिनीहरु भेंटे । उनीहरुलाई लक्ष्य केहो भनेर सोधेँ ।
उनीहरुको लक्ष्य खास प्रष्ट थिएन । एकजनाको बुझ्दा विदेशको लक्ष्य हो कि जस्तो लाग्यो तर त्यो परनिर्भरतामा आधारित थियो । बरु एक बहिनीले जापनिज भाषा पढिरहेको बताइन् । उनी जापान जाने लक्ष्यमा प्रष्ट देखिइन् । त्यसपछि म स्कुल तहका विद्यार्थीसँग पुगें । शिक्षकको कामै पढाउने नै हो । जहाँ गएपनि पढाउने ! विचरा बच्चाहरुलाई पढाइप्रति रुचि नै छैन । आम अभिभावक पैसामा दौडिरहेका छन् । फुर्सदको समय मोबाइल छ । बच्चाले आफूसँग समय माग्यो भने मोबाइल दिएर आफू फुर्सदमा निस्किए भयो । पहिलापहिला नपढेका अभिभावक आफू पढ्न नपाएको तुष्टि छोराछोरी पढाएर मेट्थे । तर आजकाल खास नपढेका हामी अभिभावकले हामीले नपढे नि चलेको छ यिनीहरुको पनि चल्छ भन्ने मानसिकताबाट गुज्रिरहेको छौं । पढेका अभिभावक हामीले पढेर के भो र भन्ने मानसिकतामा छौं । दुवैको चपेटामा बालबालिका र अन्ततः देशको शिक्षा नै धराशायी बनेको छ । म त नेपाली शिक्षक मैले स्कुलका बच्चासँग नेपालीको पुस्तक मागें । लयमा कविता पढेँ । पढ्न सिकाएँ । भाइबहिनीहरु कविताको लय सुन्दा उत्प्रेरित नै भको पाएँ । अंकल स्वयंले मैलेभन्दा राम्रो लयवाचन गर्नु भयो । विद्यार्थीहरुलाई लयमा आकर्षण बढाउन सक्ने हो भने उनीहरुको पढाइ सीपको विकासमा मद्दत पुग्थ्यो होला । अङ्ग्रेजी भाषाको कविताको लय शिक्षण गराउने शिक्षक आज पनि भेट्न गारो छ । एकातिर अङ्ग्रेजी नेपालीमा पढाउने चलन छ अर्कोतिर अङ्ग्रेजी मिडियमको भारी छ तर देशका युवाहरु जापनिज, कोरियन, डच आदिआदि भाषा छ । सात महिनामामहिनामा सिकेर विदेशिएका छन् । तापनि बाआमा अङ्ग्रेजी सिकाउनका लागि लाखौं रुपैयाँ खर्चिरहेका छन् । नर्सरी एलकेजीजस्ता गैरकानुनी कक्षामा बालबालिकालाई भर्ना गरिरहेका छन् । यसो गर्दा बालबालिकाको उमेरका बारेमा पनि अभिभावक सचेत छैनन् । उनीहरु कि पैसाका पछि कि मोबाइलका पछि छन् । बच्चालाई कुन उमेरमा स्कुल पठाउने न सरकार नीति ल्याउँछ न अभिभावकलाई नै था छ ?
मैले बुटबल घुम्दा यसपालि केही आठ नौ कक्षादेखि एघार बारसम्मका विद्यार्थीलाई सोधे, ’पचपन्न भनेको बुझ्छौ ?’ मेरो प्रश्नको उत्तरको सहजीकरणको अपेक्षाले उनीहरू आमाबाबुतिर फर्किए । फिप्टिफाइप भनेपछि मात्रै उनीहरुले बुझे । आफ्नै भाषा नबुझ्ने बनाउँदा गर्व गर्ने हामी अभिभावक र शिक्षक छौं । अब उनीहरुको जीवन सहज भयो कि अप्ठयारो ? यो प्रश्न पेचिलो छ । दुई सन्तानको डलरे अभियान जस्तै बनेको छ यो अङ्ग्रेजी मिडियम ।
मैले फुर्सदको समयमा जापान र जर्मनीका केही साथीहरुसँग पनि कुराकानी गरे । जसले आफ्ना छोराछोरीलाई उहीको शिक्षा दिएका छन् । उनीहरुले त्यहाँ अङ्ग्रेजी पढाइ नहुने बताए । उपल्लो कक्षामा कतैकतै विषयको रुपमा पढाउने गरेको तर माध्यमको रुपमा नपढाइएको उनीहरुको भनाइ छ । केही विद्यार्थीसँगको कुराकानीमा पनि मैले यो जवाफ पाएँ । यसबाट के बुझिन्छ भने धनी हुनुछ भने आफनै भाषा पढाऊ । मगन्ते हुनुछ, परनिर्भर हुनुछ भने पराइ भाषा पढाऊ । जर्मनीले त्यही भन्छ, जापान, कोरिया, चिनले त्यही भन्छ । आफ्नो संस्कृतिबाट च्युत शिक्षाले बाआमालाई भन्दा पराइलाई राम्रो देख्छ । आफ्नो मातृभूमिलाई भन्दा पराई भूमि राम्रो मान्छ । पैसा नै सबैथोक मान्छ । कर्तव्य पनि पैसामा विनिमय हुँदो रच ।
बिस बाइस दिनमा घर फर्के । घर फर्केपछि मेरो पहिलो चासो मैले लगाएका विरुवामा थियो । चारघन्टाको यात्राले पनि रोकेन छेकेन । फिसफिस पानीमा रुझ्दै म बारीमा गइहाले । केराका बिरुवादेखि काभ्रो, कफी, अमलाका विरुवा सबैमा मैले एक नजर लगाए । म जहाँजहाँ कोदालो लिएर पहिला पुगेको थिएँ, त्यहाँत्यहाँ पुगेँ । अलिअलि मुसारे । पोहर साल लगाएको बेलपत्रको बोट पनि हेरेँ । सबैले नयाँ पात हालेको देख्दा मन खुशी भयो ।
शायद सिकाइले पनि यस्तै खोज्छ होला । तपाईं आफ्नै भाषामा आफ्नै ठाउँको भाषा संस्कृति ज्ञान विज्ञान पढाउनुस् ऊ मख्ख पर्दै घरकै माटो मुसारनेछ । आफ्नै बाआमा उसलाई प्रिय लाग्नेछन् । आफ्नै देशको ममताले बाँध्ने छ पराईको पढानुस् उतैकोले तान्नेछ । हामी अभिभावकलाई, हामी शिक्षकलाई, हामी नीतिनिर्माण गर्नेहरुलाई अहिले उतिकै भूत सवार छ । सवार भइराखोस् एक दिन अबश्य आफ्नो भाषिक बिहानी आउला नि! ज्ञानको बिहानी आउला नि ! गोपाल योञ्जन को गीतले भनेजस्तै स्वाभिमानी बनौला नि ! जय नेपाल !