तुल्सीराम पाण्डेय
वैदिक सभ्यतालाई मान्ने समूदायमा फरक–फरक समय र प्रसङ्गमा विभिन्न कर्म गर्नु पर्दछ । अहिलेको व्यस्त समयमा वर्तमान पुस्ताको थोरै मात्र संख्याको जानकारीमा रहेको कर्म पुर्नजन्म हो । यसलाई आ–आफ्नो ठाउँको बुझाई अनुसार पतिका, पताहा, पतिया, पत्रिका वा पुर्नजन्म भन्दछन् ।
पूरानो पुस्ताबाट चल्दै आएको परम्परा अनुसार ‘अज्ञानता त्रानतोवापी प्रायश्चित समाचरेत’ अर्थात जानेर वा नजानेर गरेको पापबाट मुक्ति पाउनको लागि प्रायश्चित या क्षमा कर्म गर्नु भनिएको छ । त्यस्ता पापहरुमा नखाने चिज खाए, किरिया गरिसकेको मानिस जिउँदै आएमा, मर्ने उद्देश्यले विष खाएमा, पासो लगाएर झुण्डिएमा, मर्न गएका मानिसलाई फल हालि सकेपछि अरुले उद्दार गरेमा, कानून विपरित लसपस भएमा र अकालमा मरेमा शुद्धिकरण गर्नुपर्ने हुन्छ ।
भिरवाट लडेमा, गाडी दुर्घटना भएमा, ज्यान मारेमा, युद्धमा मरेमा, सरुवा रोगको महामारी आएमा र अरु कारणले अकालमा मरेमा मर्नेको लागि नारायणवली गर्नुपर्दछ । मानिस जिउँदै भएमा उसको र अरु परिवारको लागि प्रायश्चित गर्नु पर्दछ । प्रायश्चित सानो भएमा कुशको गाईको प्रतिमा बनाउने । ठूलो पाप भएमा सुनको प्रतिमा बनाउने । गंगामा वा नजिकैको तिर्थमा गएर नुहाएर शुद्ध हुने र विधि अनुसार दियो कलश र गणेशको पूजा गर्ने र प्रतिमा दान गर्ने ।
किरिया गरिसकेको मानिस जिउँदै आएमा फेरी गर्भमा राख्ने र पुर्नजन्म गराउने । सकेसम्म घरको परिवारसँग नदेखिदै छिमेकीहरुले परिवारलाई लुक्न लगाएर पुर्नजन्मका तयारी गर्ने । आफ्नो ठाउँको चलन र पण्डितको निर्देशन अनुसार कुनै ठाउँमा गाइको गोठमा राखेर गाईबाट जन्मेको बनाउँछन् । कुनै ठाउँमा जमिनमा खाल्टो खनेर राख्ने र तलवाट अर्को प्वाल बनाएर निकाल्छन् । कुनै ठाउँमा ठूलो घैटोमा ढाकेर राख्ने र तोकेको समय पछि घैटो फुटालेर निकाल्ने । कुनै ठाउँमा नाङ्गै बनाएर भकारीमा राख्ने र निकाल्ने गर्दछन् । चलन र कर्म अनुसार कुनै ठाउँमा ९ दिन र कुनै ठाउँमा ९ घण्टामा गर्भवाट निकालेर अरु कर्महरु गर्दछन् । गर्भमा रहदा दूध र फलफूल खाएर समय बिताउनु पर्दछ । अरु मानिसले गर्भ कुरेर बस्दछन् । गर्भवाट निकाले पछि मात्र गर्भमा राख्दाको समयको नक्षत्र अनुसार न्वारान गरेर नाम समेत राख्दछन् । त्यसपछि भात खुवाउने र व्रतबन्ध गर्ने गर्दछन् । श्रीमती भएमा पुनः विवाह गर्ने, श्रीमती मरेको भएमा आँक र शिलासँग विवाह गर्ने । ब्रह्मचारी भएमा विवाह नगर्ने । हराएको मानिसको १०० वर्ष पुगेपछि मात्र किरिया गर्ने । किरिया वसेको ९ दिन भित्रमा औशी र पूर्णिमा नपार्ने । त्यसो भएमा कर्म पूरा हुँदैन । हराएको मानिसको नारयणवली समेत गर्नु पर्ने हुन्छ । साल नभेटिएर पुत्ला दहन गरेर कर्म गर्नुपर्ने भएमा पुत्ला दहन गरे पछि मात्र जुठो लाग्छ ।
अहिले मानिसको व्यस्तताले गर्दा धेरै परम्परा र कर्महरु हराउँदै गएका छन् । पहिरोका मानिसहरुले पासो काटेर बचाएको मानिस र नदिमा हाम फालेर अरुले उद्दार गरेको मानिस यमराजको आहारा भएको मान्दथे । त्यस्ता मानिसले केही कुरा दिए पनि अरुले खाँदैनथे । पतिकका गरे पनि कसैले थाहा नपाउने गरेर रातिमा गर्दथे । पतिकका गरेको मानिसलाई जिउँदो भूत मानेर डराउँथे । कुनै मानिसको हात खुट्टा वा अरु कुनै अंगभंग वा काटिएको भएमा त्यसलाई सुरक्षित राख्ने र मृत्यु हुँदा एकै चोटी दाह संस्कार गर्दथे ।
(पण्डित नारायण प्रसाद गौतम बागलुङ नगरपालिका–२ संगको कुरामा आधारित ।)