कृषिता अधिकारी (निशा)
साँच्चै नै नयाँ साल जहाँ हर्ष उल्लास र उमंग बोकेर आउने साल भनिन्छ । विगतमा जे–जे भयो, ती सबै बिर्सेर या पाठ सिकेर नयाँ साल त शुभ होस्, यो सालमा त यस्तो यस्तो गर्नेछु भनेर नयाँ संकल्प गरिन्छ । नयाँ साल विगतको भन्दा राम्रो हुनेछ, अनेक आशा इच्छा साटेर बुन्ने यो मन अर्थात् सम्पूर्ण जनमानसको सपना कल्पना केवल सपना कल्पनामा सिमित हुने गर्छ । र आज त्यस्तै नै भएको छ, जीवन न मानिसले सोचे जस्तो हुन्छ, न चाहे जस्तो नै । कयौं नेपाली जनता आज विषय परिस्थिति सँग जुधेका छन्, कयौंका सपना उजाडिएका छन् त कयौ घरवार विहिन यसरी विश्व्यापी रुपमा महामारी आउँछ भन्ने कसैलाई पनि हेक्का थिएन, न त ज्योतिषले भविष्यवाणी नै गरेको थियो, न त वैज्ञानिकले नै प्रकृतिको लिला न त रोकेर रोकिन सकिन्छ, न त छेकेर नै आज सम्पूर्ण मानव जीवन नै अस्तव्यस्त भएको छ । कारण कोभिड १९ को महामारी त्यति मात्र कहाँ हो र ? विपत्त जोखिम बाढी पहिरो भोकमरी सँगै जघन्य अपराधहरु पनि सल्बलाएका छन्र ।
साँच्चै नै आज यथार्थमा भन्नु पर्दा देश रोएको छ । ठुलो मानव संकटमा फसेको छ । जसबाट नागरिक दुखित, पीडित र अझ गरिब बन्ने अवस्थामा पुगेको छ । किनकी मरिने पो हो की भन्ने मात्र चिन्ता आज सर्वत्र देखिन्छ । आज हरेक जनमानस विषम परिस्थिति सँग जुध्नुपरेको छ । कारण कोभिड १९ अर्थात् कोरोना भाइरसको प्रकोपले आज विश्व नै भयभित छ, विश्वका विभिन्न देशमा यो रोगले भयावहको स्थिति सिर्जना गरेकोे छ भने । विश्वभर २ करोड ३१ लाख भन्दा बढीमा संक्रमण भएको छ । यसबाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा बढी नाघेको छ । यससँगै नेपालमा पनि ३० हजार भन्दा बढी संक्रमित पुगेको अवस्था छ । जसले गर्दा दिनानुदिन भयावहको स्थिति सिर्जना भइरहेको छ ।
अर्कोतिर, कोरोनाको महामारीबाट सुरक्षित रहनलाई घर भित्रै लकडाउनको अवस्थामा रहेको पनि १ सय ५२ दिन वितिसकेको छ । तर पनि अहिलेसम्म कोराना नियन्त्रण भने हुन सकेको छैन । बरु फेरी भयावह बन्ने जोखिम बढेको छ ।
देशमा कोरोना प्रकोप मात्र नभएर प्राकृतिक प्रकोप पनि उस्तै छ । किनकी वर्षातको समयसँगै ठाउँ ठाउँमा बाढी पहिरो गएको छ कयौ घर परिवार बेपत्ता भएका छन् त कयौ घर परिवार विस्थापित भएका छन् भने कयौ मानिसहरुले ज्यान गुमाएको अवस्था छ ।
साँच्चै नै विपत्ति र दशा बाजा बजाएर आउदैन । यतिबेला विश्व समुदाय जोखिम मोडमा उभिएको बेला हामी र हाम्रो समाज निकै भयावहको अवस्थामा छौ । कारण विश्वका विकसित देशमा त यो रोग नियन्त्रण हुन सकेको छैन भने हाम्रो जस्तो विकासोन्मुख देशमा कुन अवस्था छ र होला ? सहजै देखिएको पनि छ र अनुमान पनि गर्न सकिछ । चीनको हुवानबाट फैलिएको यो रोग आज विश्वव्यापी रुपमा फैलिरहेको छ । संत्रमणको संख्या पनि दिनानुदिन बढ्दो छ । मृत्यु हुनेको संख्या समेत डरलाग्दो गरी बढ्न थालेको छ । जसले परिस्थिति जटिल अवस्था तर्फ उन्मुख भइरहेको संकेत बुझ्न सकिन्छ ।
यहाँ कोरोनाको माहामारीले मात्रै होइन, भोकले पनि सताएको छ । कारण सरकारले लामो समयदेखि लकडाउनको घोषणा गरे सँगै दैनिक जिविकाको सवाल पनि उत्तिकै खड्किन थालेको छ । यहाँ सामान्य मजदुर गरिब वर्ग देखि लिएर हुने खाने व्यक्ति समेत पीडामा परेको अवस्था छ । यसैगरी लकडाउनका कारण कयौं युवा वर्ग बेरोजगार भएका छन्, कयौ युवा वर्ग मानसिक रोगको शिकार भएका छन् त कयौ युवा आत्महत्या जस्तो जघन्य अपराध गरेका छन् । अर्को तर्फ करोडौं लगानी गरेका उद्योगी व्यवसायी देखि लिएर स्कुल, कलेज,विश्वविद्यालय,होटेल व्यवसाय तथा ठूला ठूला कलकारखाना समेत ठप्प भएको अवस्था छ । जसले गर्दा आम्दानीका स्रोत सम्भावना बन्द भएका छन् । अब के गरेर बाच्ने वा टिक्ने भन्ने सवालले सर्वत्र चिन्ता थपिएको छ ।
किनकी अहिलेको परिस्थितिलाई हेर्ने हो भने मानिसलाई बाँच्न निकै गाह्रो भएको छ । कोरोनाबाट जोगिन घर भित्रै बसौ । यता पेटको सवाल छ । बाहिर जाउ भाइरस लागेर मरिने पो हो कि भन्ने त्रास छ । आफुलाई पो लाग्ने हो कि ? त्यसबाट घर परिवारका सदस्यलाई पो फैलिने हो कि ? ससाना बालबच्चाको कतै बिचल्ली हुने पो हो कि भन्ने चिन्ताले सताइरहेको छ । जसले गर्दा नकारात्मक सोच दिमाागमा जर्बजस्त आउन थालेका छन् ।
तसर्थ, यस्तो विषम परिस्थिति सँग जुधिरहेको अवस्थामा किसानहरु अधिक मात्रामा मारमा परिरहेका छन् । किनकी लकडाउनले गर्दा विभिन्न व्यापार व्यवसाय, विभिन्न औद्योगिक क्षेत्रहरु ठप्प छन् । जसले गर्दा कसरी बाँच्ने हो भन्ने गम्भीर चिन्ताको अवस्थामा प्राकृतिक प्रकोप पनि सामना गरिरहनुको पीडा त छँदैछ । आफुले रोपेको अन्न बालीनाली पनि बाढी पहिरोले तहस नहस गरिरहेको छ भने जनधनको समेत क्षति भइरहेको छ हामीले अस्ती भर्खर मात्र सिन्धुपाल्चोकमा पहिरोका कारण विस्थापित भएका, ज्यान गुमाएका र वेपत्ता भएका गाउँबासीको दर्दनाक पीडा सुन्यौ र हे¥यौ पनि । देशका अन्य जिल्लाहरुमा पनि यी र यस्ता बाढी पहिरोका कारण ज्यान गुमाउने र वेपत्ता हुने संख्या बढ्दो क्रममा छ । कारण जथाभावी डोजर लगाउनाले चाहिने भन्दा बढी सडकहरु बनाउनाले पनि यी र यस्ता किसिमका प्रकोपहरु जनताले बेहोरिरहेका छन् । किनकी आज समय परिवर्तन हुँदै देशमा स्थानीय सरकार बनेको अवस्था छ । जसले गर्दा गाउँ–ठाउँ ठाउँ ठाउँमा सडक यातायातको सुविधाका कारणले पनि वर्षै पिच्छे डोजर लगाइन्छ, सडक विस्तार गरिन्छ जसले गर्दा वर्षातको समयमा बाढी पहिरो जाने सम्भावना जोखिम हुने गर्दछ । र जोखिम मोलेर सर्वसाधारण ओहोर दोहोर गरेको अवस्था छ । जसले गर्दा सडक दुर्घटनाको कारणले मृत्यु हुनेको संख्या पनि उस्तै छ । अर्को तिर देशमा जातीय द्वन्द सिर्जना गर्ने हुल्दंगा मच्चाउने हिंसात्मक गतिविधि पनि बढिरहेको अवस्था छ ।
समाजमा जघन्य अपराधका घटना समेत भइरहेका छन् । कतै बलात्कारका घटना, हत्या हिंसा कालोबजारी आदि घटनाहरुले प्रोत्साहन पाइरहेको छ । साँच्चै नै आज देश त्रासै त्रासमा बाचिरहेको छ । कोरोना भाइरसको औषधी उपचार, खोप कहिले आउँला ? हाम्रो देश यो महामारी, अनि गरिबीको चपेटाबाट कहिले मुक्त हुन्छ होला ? खै कहिले आपराधिक घटनाहरु नियन्त्रण हुन्छ होला ? अबका दिनहरुमा के र कस्तो परिस्थिति सृजना हुने हो, त्यो कसैलाई थाहा छैन । त्यसैले यस्तो विषम परिस्थितिको बेला देश रोएको बेलामा हरेक नागरिकहरु सचेत हुनुपर्छ । जे छ जस्तो छ । त्यसैमा रमाउन सिक्नुपर्छ, चाडपर्वका नाममा स्वास्थ्य सुरक्षा नबिर्सिउ । सकी नसकी खर्च नगरौ ।
एक ठाउँबाट अर्काे ठाउँमा नजाउ घर भित्रै रहेर सुरक्षित बसौ । परिवारको ख्याल राखौ । किनकी ज्यान रहे विस्तारै धन पैसा कमाउला, रमाउला । यदि ज्यानै रहेन भने त्यो धन पैसाको पनि अर्थ हुदैन । त्यसैले आफु पनि बचौ र अरुलाई पनि बचाऔ । र सरकारले पनि देश रोएको बेला यी र यस्ता गतिविधिमा ध्यान दिनुपर्छ । र हामी सबै खालको हिंसा, अपराध, अन्याय,अत्याचार अन्त्य गर्न सरकार लाग्नुपर्छ । अहिलेको बिद्यमान महामारी रोकथाम र नियन्त्रण गर्न जुट्नुपर्छ ।