तुल्सीराम पाण्डे
हिन्दु धर्म सँस्कारको मान्यता अनुसार मानिसको जन्म भएको छैठौ दिनको रात्रीमा भावीले निधारमा भविष्य लेख्छ भन्ने विश्वास छ । भविष्य लेख्दा पूर्व जन्मको कर्म र जन्म समयको ग्रहको अवस्थालाई हेरेर लेख्दछ । त्यस दिनमा छैटी पूजा गर्ने गर्दछन् । हुने खानेहरुले दिनभरी सबैलाई पैसा बाँड्ने र रात्रीमा भजन किर्तन गरेर जाग्राम बस्दछन् । छैठौ दिनमा सुत्केरी लाग्दैन समेत भन्दछन् । खर्च गर्न नसक्नेहरुले बच्चाको नजिकै बत्ति बालेर राखिदिन्छन् । भावीले लेख्न आउँदा खुशियाली देखेमा राम्रो लेख्ने र अँध्यारोमा लेख्नलाई सजिलो होस् भनेर बत्ति बाल्दछन् ।
पहिले पण्डितहरुले पानी घडी थापेर बस्थे । बच्चा जन्मे पछि मानिसहरु हेराउन जाँदा समय सोधेर चिना लेखिदिन्थे । त्यही चिनामा लेखेको समयलाई हेरेर ज्योतिषीहरुले व्यक्तिको भविष्य हेर्दछन् । ठिक समय मिलेको चितालाई राम्रो सँग पढेको ज्योतिषीले हेरेमा भविष्यवाणी मिल्दछ । अप्ठेरो ग्रह भएमा पार पाउने उपाय बताउँछन् । समय नमिलेको चिना भएमा ज्योतिषीले पढेको सुत्र मिल्दैन र बताएको भविष्य मेल खाँदैन । त्यसैकारण मानिसले ूवैद्यका गलगाँड जैसीका छोरी राँडू भनेर उखान समेत सुनाउँछन् ।
पहिलेका मानिसहरुले आफ्ना सन्तानलाई जनतन हुर्काएमा आफ्नो –आफ्नो भाग्य खाने हो भन्दथे । सबैले आफ्नो भविष्य बनाउन आफै प्रयास गर्दथे । अहिले सन्तानको भविष्य बाबुआमाले बनाइ दिनुपर्दछ । समाजमा आएको परिवर्तनको अवस्थालाई बुझेर पैसा खर्च गर्न सकेमा सन्तानको भविष्य सुखी बन्दछ । खर्च गर्न नसकेमा दुखै दुःखमा बित्दछ । पहिले छोरीलाई सम्पती दिन पनि नहुने र छोरीको सम्पती खान पनि नहुने मान्यता थियो । त्यो मान्यता बदलिएर अहिले छोरीलाई पनि छोरा सरह खर्च गर्ने र कमाई समेत खाने गर्दछन् । कसैले छोरीको कमाइबाट खेत र गाडी समेत किनेका छन् । विवाह भए पछि समेत कमाइ खान्छन् । केही सामाजिक अभियन्ताहरुले सडक बालबालिकालाई उठाएर गुणस्तरीय आवासीय स्कुलमा पढाउने र आधुनिक सिप सिकाउने गर्दछन् । उनीहरुको लागी अभियन्ताहरु भावी बने । उद्धार गरिएका केही बालबालिका भागेर पुरानै अवस्थामा रमाएका भेटिए । उनीहरुको लागी पहिलेको स्वतन्त्र अवस्थाबाट अनुशासनको जिवनमा जाँदा सानो घेरामा थुनिएको महशुस भएछ । अहिलेको समयमा सानो तिनो व्यापार गर्ने व्यापारी, खेती गर्ने किसान र निम्न तहका कर्मचारीले भन्दा बढी सडकमा काम गर्ने मजदुर र बलको काम गर्नेले धेरै कमाउँछन् । उनीहरुले आफ्नो कमाइलाई जोगाउन र सदुपयोग गर्न नजानेर रोजगारदाता र अरु मानिसलाई गाली गर्दछन् ।
पहिले तराइमा वस्ती नभएको हुनाले जग्गा सस्तो थियो । पहाडमा सम्पती सकिने र सामाजिक अवस्थाले दाजुभाइसँग बस्न नसकेमा मात्र मानिसहरु तराई झर्थे । दामासाही भएर बाटा खर्च मात्र लिएर झर्नेहरु समेत अहिले साहु भएका छन् । पहाडका साहुहरु रिनले गडेर नुन देउ तेल देउ भएका छन् । २०५० सालदेखी ०७० साल सम्म घडेरी किनेर अर्को वर्ष राख्न सकेमा तेस्रो वर्षमा डबल भयो । त्यही कारोबार गर्नेहरुले ३ महिनामा नै अर्कोलाई बेच्दा डबल पारे । त्यही देखेर विदेशमा जानेहरु सबैले बजारमा घडेरी किने । विदेशमा नजाने र अरुको कमाइमा बाँच्नेहरुले समेत गाँउमा घर जग्गा किन्ने र लहना लाउने आफ्ना अभिभावकलाई कारोबार गर्न नजानेको भनेर झगडा समेत गरे । नयाँ संविधान अनुसार संघियता लागु भए पछि घडेरीको भाउ घट्यो । बेच्न खोज्दा घडेरी नबिक्ने घर बनाउन पनि नसक्ने भए पछि फेरी उनै मानिसहरुले अलिअलि बुझेर त किन्नु पर्छ नि बुढाले । कारोबार गर्न नजानेर यता न उता बनाए, न घर छ न पैसा छ भनेर फेरी रेख लाए ।
बागलुङको एक जना मानिसले ३८ सालमा नारायणघाटमा ३८ हजारमा घडेरी किनेछन् । ४८
सालमा घडेरी बेच्नु पर्दा ४८ हजार आफुले बुझेर ४ हजार बेच्नेलाई कमिसन दिएछन् । समयको वेगले साथ नदिएमा घडेरी पनि फाइदा नहुने रहेछ । आफन्तलाई पैसा छोडेर आउँदा आधा खाइदिएको अनुमान गरेछन् । बैङ्कले घर घडेरीमा लगानी गर्न छोड्दा काठमाण्डौ र देशका अन्य भागमा घडेरीको भाउ एक्कासी घट्यो । केही व्यवसायीले बैङ्कको ऋण तिर्न नसकेर आत्महत्या समेत गरे । बागलुङमा भने त्यस्तो समयमा पनि भाउ बढिरह्यो । पहिले बागलुङ बेचेर पोखरा र काठमाण्डौमा किन्नेहरु पछुताए । २०७७ सालमा कोरोना रोग आएको कारण बजारमा एउटा घडेरी मात्र हुनेहरु पछुताएका छन् । उनीहरुले यो घडेरी भन्दा त खेतबारी भएको भए गरेर खान हुन्थ्यो र रोगबाट समेत बचिन्थ्यो भनेका छन् । त्यही कोरोना रोगकै कारणले गर्दा पहिले घरको जायजेथा खर्च गरेर डाक्टर र नर्स पढाउनेहरु पछुताएका छन् । पहिले यो पेशामा धेरै इज्जत हुन्थ्यो । अहिले इज्जत भए पनि कुन बेला रोगले समात्ने हो थाहा हुँदैन । कुनै कुनै घरमा र कुनै टोलमा समेत स्वास्थ्यकर्मीलाई प्रवेश गर्न दिदैनन् ।
पहिले ऋण काढेर र झिरी बेचेर आफ्ना सन्तानलाई विदेश पठाउनेहरुको ठुलो इज्जत हुन्थ्यो । उनीहरुले मेरो छोराले विदेशबाट महिनामा यति कमाउँछ भनेर धाक लाउँथे । खेत नभएको मानिसलाई छोरी दिदैनथे । हुँदा खानेको सरकारी नोकरी भए पनि विवाह गर्दा फलानो ठाँउमा खेत किनेको छ भन्नु पर्दथ्यो । खेत नभएको थाहा भएमा भाजी मार्थे । अहिले नोकरी नभएर धेरै नै खेतबारी छ भनेमा छिनी सकेको विवाह पनि छोरीलाई काम गर्न दुःख हुन्छ भनेर भाजी मार्छन् । युरोप-अमेरिका जानेहरुले उतै स्थायी बसोबास गरेर न धन न सन्तान भएर पछुताएका छन् ।
पहिले विश्वयुद्धको समयमा गाँउमा गल्ला आएर बलिया जति सबैलाई भर्ती गथ्र्यो । युद्ध सकिए पछि वा अंगभङ्ग भएमा रित्तै फर्काउथ्यो । अहिलेका मानिसले पेन्सन पाएको देख्दा नाती पनातीहरुले तत्कालिन समयको अवस्थानै नबुझिकन हाम्रा बाजेहरु बुद्धि नभएर भर्ती नभएका हुन्,उनीहरुले कमाएको भए हामीले बसेर खान्थ्यौ भन्दछन् । केही मानिसहरु अहिले पनि आफन्तलाई लगाएर र घुस दिएर भर्ती हुन्छन् । घरमा हल्लेर हिँड्ने केही मानिसहरु बेलायती सेनामा भर्ती भए पनि तालिमबाटै भागेर आएका छन् ।
२०७२ सालको नयाँ वर्षमा सबैले सुख शान्ति र सम्वृद्धिको शुभ(कामना आदान–प्रदान गरेका थिए । १२ गतेको भुकम्पले सबै तहस नहस गरिदियो । मानिसको असल कर्मले भाग्य बदल्न सक्दछ । जनयुद्धको कारणले दलित, महिला र जनजातिको भाग्य बदलियो । पुरानो संरचनामा उनीहरु अरुसँग लडेर माथि पुग्न सक्ने थिएनन् । बहुदल आए पछि शिक्षा र स्वास्थ्यमा गरेको लगानीले आयु कमाइ र चेतनालाई बढायो । पहिले पिठो छउन्जेल बाँचिन्छ, भावीले लेखेको बेहोर्नु पर्दछ । हाम्रो कर्म यस्तै हो भन्दथे र आफ्नो काम मात्र खुरुखुरु गर्दथे । भावीले लेखेको कर्म भनेर ूभावीले लेखेको छालाले छेकेको, यस पापी निधारमा हेर्दा देखिन्नू भनेर भजन समेत गाउँथे ।
कसैको भाग्य विकासको प्रकृयाले र कसैको भाग्य विपतिले समेत बदल्छ । सडक बनेका कारण वरिपरिका जग्गाहरु मूल्यवान भए । सदरमुकामका जग्गाहरुको मूल्य आकाशियो । पहिले भिर वा खेतबारी रोपनीको र तोक्वामा मूल्य हुन्थ्यो । सडक बनेपछि हात र वित्ताको मूल्य हुन थाल्यो । पहिले व्यापारीलाई र सदरमुकाममा छोरी दिन मान्दैनथे । अहिले गाँउमा दिन मान्दैनन् । खोलाको नजिकैका जग्गाहरु संघियारले १ लाख मूल्य समेत दिन नमानेको अवस्थामा विजुलीको योजना परेमा १ करोड माग्दछन् । १० लाख त खुसीले नै दिन्छन् । पैदल बाटोका बजारहरु मोटर बाटोको विकासले घिन्ताम भएका छन् । कोशी व्यारेज फुट्दा त्यहाँका पीडित समुदायको स्वास्थ्य र चेतनामा एक्कासी वृद्धि भयो । कोरोनाको कारणले गर्दा धेरै खुद्रा व्यापारीहरु धोती न टोपी भए । थोरै व्यापारीहरु मालामाल भए । उनीहरुले आफुसँग भएको माल महँगोमा नगदै बेच्ने र पुरानो बाँकी समेत उठाए । खुद्रा व्यापारीहरु माल पनि नहुने र उधारो उठाउन पनि सकेनन् । कुखुरा पाल्नेहरुले मासुबाट रोग सर्ने डरले पहिले कुखुरा मारे । पछि सम्म पाल्नेहरुले अभावको समयमा महँगोमा बेचे ।
रुसमा समाजवादी व्यवस्था हुदाँ १ भाइ लेक्चर भएछन् । उनले आफ्नो कमाइबाट बच्चालाई पढाउने र परिवारको खर्चबाट बचेको रकम बैङ्कमा राखेछन् । अर्को भाईले कमाए जति सबै खर्च गर्ने र सधै रक्सी खाएर बोतल मात्र थुपारेर राखेछन् । ९० को दशकमा राजनैतिक व्यवस्था परिवर्तन भएर पुँजीवाद आए पछि उसको अर्थ व्यवस्था टाट पल्टिएर आर्थिक मन्दी भयो । त्यस समयमा सामानहरुको मुल्य आकाशियो । घरमा भएका बोतलहरु बेच्दा दाइको बैङ्कमा राखेको पैसा भन्दा दशौं गुणा धेरै रकम आएछ । त्यसो भएपछि जँड्याहाहरुले दाजुलाई व्यङ्ग्य गर्दै ूकस्ले भविष्य देखेको रहेछू भनेछन् ।
अन्त्यमा एउटा व्यक्तिले समयको प्रवाहलाई बुझेर आफ्नो भाग्य बदल्न र भविष्य देख्न सक्दछ । परिवारको भविष्य घरमुलीले देख्छ । समाजको भविष्य आफु सँग भएको ज्ञान र विद्रोहले बदल्छ । देशको भविष्य राजनेताले देख्छ र जनतालाई साथमा लिएर बदल्छ ।