कृषिता अधिकारी (निशा)
कोभिड १९ अर्थात् कोरोना भाइरस जसको विश्वव्यापी रुपमा महामारी फैलिइरहेको छ । चीनको हुवानबाट फैलिएको भाइरस आज विश्वका हरेकजसो देशमा विकराल रुप लिइरहेको छ । सामान्य रुघाखोकी र ज्वरोको लक्षण सहित लाग्ने यो भाइरसले अन्ततः ज्यानै लिने गरेकोे छ । यो भाइरस कहाँबाट र कसरी उत्पन्न भयो भन्ने बारे आज सम्म पनि कुनै देशले पत्ता लगाउन सकेको छैन । जसका बारेमा आम नागरिक त बेखवर हुनु नौलो कुरा रहेन । तर पनि यति भयावह अवस्था सृजना हुन्छ, यो परिस्थिति आउँछ भन्ने कसैले पनि अनुमान गरेका थिए, न त भोलीका बारेमा नै कसैले भन्न सक्ने या अनुमान गर्न सक्ने अवस्था छ ।
कोभिड सामान्य रुघाखोकी देखि लिएर मिडल इस्ट रेस्पिरेटरी सिन्डोम र सिभिएल एक्युट रेस्पिरेटरी सिन्डोम जस्ता गम्भीर रोग अन्तर्गत पर्दछ । जुन मानिसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सर्ने गर्दछ । यसैगरी यस भाइरसको शुरुवाती लक्षणमा ज्वरो आउनु, खोकी लाग्नु, छिटो छिटो श्वास फेर्नु या श्वास प्रश्वासमा कठिनाइ हुनु हो भने यो संक्रमण भइसके पछि निमोनिया,सिभिएल एक्युट रेस्पिरेटरी सिन्डम भएका, मृगौलाले काम नगर्ने व्यक्तिहरुको मृत्यु समेत हुने जोखिम हुन्छ ।
विश्व स्वास्थ्य संगठनले यि र यस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पताल जाने चिकित्सकको सल्लाह सुझाव लिने तथा बारम्बार सावुन पानीले मिचि मिचि हात धुने हाच्छ्यु गर्दा मुख वा रुमालले छोप्ने घर वरपर सरसफाइ गर्ने कुनै पनि परिकार राम्रोसँग पकाएर मात्र खाने जस्तै माछा मासु आदि इत्यादिका बारेमा विभिन्न मिडियाले प्रचार प्रसार पनि गरिरहेका छन् । र हामी आम नागरिकले पनि सचेतता अपनाइरहेका छौ । सचेतना कहिकतै अपनाउन पनि अझै नसेको या बेवास्ता गरेका बिद्यमान अवस्था पनि छ । जसले गर्दा नेपालमा पनि समुदाय स्तरमा कोरोना भाइरस तिव्र रुपले फैलिरहेको छ ।
सरकारले २०७६ साल चैत ११ गते देखि लकडाउन घोषणा गरेता पनि यो भाइरस नियन्त्रण भने हुन सकेको छैन । किनकी आम नागरिकहरु सचेतता नअपनाउदा लकडाउनको उचित पालना नगर्दा र बीचको केही समयमा सरकारले लकडाउन खुकुलो पारेको थियोे । त्यस समयमा नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेर र लापरवाही गर्दा कोरोना भाइरस तिव्र रुपमा फैलिएको अवस्था छ । शुरुमा केवल बाहिरबाट आउने नागरिकलाई मात्र संक्रमण हुने गर्दथ्यो भने पछिल्लो समयमा समुदायमै संक्रमण फैलिएको छ । यो अझ बढ्ने जोखिम पनि कायमै छ । जसले गर्दा अहिले हामीले निकै नै सावधानी अपनाउनु पर्ने अवस्था आएको छ । किनकी आजको थोरै लापरवाहीले भोली हाम्रो समाजमा कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमण भयावह बन्न सक्दछ ।
यसकै कारण मानिसको दैनिक जीवन पुरै प्रभावित बन्दै गएका छन् भने कोरोना भाइरसले विभिन्न उद्योग व्यवसाय देखि हरेक क्षेत्रलाई प्रभावित पारेको छ । होटेल व्यवसाय, व्यापार व्यवसाय, खाद्यान्न, शिक्षण संस्थाा तथा स्वास्थ सेवा लगायत चौतर्फी असर छ ।
यसबाट विशेष गरि हाम्रा विद्यार्थीहरु निकै मारमा परेका छन् । प्रायशः शहरी क्षेत्रमा रहेका विभिन्न निजी विद्यालयले सरकारले अनलाइन शिक्षा प्रदान गर्ने निर्णय गरे अनुसार अभ्यास गरिरहे पनि त्यति प्रभावकारी नभएको गुनासो छ । अर्कोतिर गाउँ गाउँमा इन्टरनेटको सुविधा पुगेको पनि छैन । यस्तो विषम परिस्थितिको बेला भइरहेको अभ्यास आफैमा चूनौतीपूर्ण छ भने अर्को तर्फ निजी विद्यालयले यस्तो परिस्थितिमा अनलाइन कक्षाको नाममा पैसा कमाउने जस्ता गतिविधि गरिरहेको भन्ने नकारात्मक टिकाटिप्पणी पनि यसबीचमा सुनिए । हामीले विभिन्न सामाजिक सञ्चाल तथा सञ्चार माध्यमबाट यस्तो सुनिरह्यौ, देखिरह्यौ । तर अहिलेको विषम परिस्थितिलाई हेर्ने हो भने केवल हाम्रा बिद्यार्थी, अभिभावक मात्र मारमा परेका छैनन्, विश्व नै यतिबेला जटिल मोडमा प्रवेश गरेको छ ।
विद्यार्थीको भविष्य नबिग्रियोस्, शिक्षाबाट वञ्चित गरिनु हुँदैन भन्ने उद्देश्यका साथ सरकारले नै अहिलेको परिस्थितिमा वैकल्पिक प्रविधिको विधि अपनाउन निर्देशन दिए सँगै विभिन्न बोर्डिङ स्कुलहरु सञ्चालन गर्दै र गरिदै पनि आइरहेको अवस्था छ । तर, कतिपय अवस्थामा यसलाई गलत ढंगबाट टीका टिप्पणी गरिएको छ । जसले गर्दा निजी विद्यालय अझ बढी समस्यामा छन् ।सामुदायिक विद्यालयमा बरु अनलाइन कक्षा नभए पनि टोल शिक्षा सम्म चलाउनेहरुले चलाइरहेका छन् । यस्तो संकटमा बिद्यालय चले पनि नचले पनि शिक्षकहरुको तलब पनि नियमित आइरहेको छ । तर, निजी स्कुल पाँच महिना देखि ठप्प छन् । आम्दानीको स्रोत बन्द छन् । सरकारले अनलाइन कक्षा लिने निर्देशन पनि दिएको छ तर निशुल्क शिक्षा प्रदान गर्नुपर्छ पनि भन्छ । त्यसका लागि त सरकारले पनि उचित व्यवस्था गर्नु पर्ने होइन र ! कुनै पनि शिक्षक शिक्षिकाले अहिलेको कठिन र जोखिमपूर्ण अवस्थामा विद्यार्थीलाई निशुल्क पढाउन सक्दैनन् । कारण उनीहरु पनि त बाँच्नु पर्नेछ, बच्नुपर्नेछ । यस्तो परिस्थितिमा चल्न गाह्रो भइरहेको हुन्छ । अर्कोतिर विद्यालयले निशुल्क शिक्षा पढाएर शिक्षक शिक्षिकालाई तलब कसरी खुवाउने ? यो पाटो पनि सोचनीय छ । यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।
अहिलेको परिस्थितिमा हामीले एक अर्काको समस्या र भावना बुझ्नु जरुरी छ । अहिलेको
महामारीको समयमा मानसिक रोग शिकार हुनेको संख्या एकदमै बढेको छ भने करिब ३ हजार जतिले यही अवधिमा आत्महत्या गरेको अवस्था छ । एकातिर कोरोनाको महामारी सँग जुध्नुपर्नेछ भने अर्कोतिर दैनिक जिविका र भोकमरीको समस्याले पनि सताइरहेको छ । रोजगारका बाटाहरु पनि बन्द भएका छन् । दैनिक ज्याला मजदुरी गरेर खानेहरु सबै भन्दा बढी प्रभावित छन् । मजदुर, गरिब, विपन्न जनताले कहिले यो महामारीको अन्त्य होला र फेरी पुरानै शैलीमा काममा फर्काैला भन्ने दिनगन्तीमा बसिरहेका छन् । तर, दुर्भाग्य कोरोनको संकट अनिश्चित बनेको छ ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमण तिव्र फैलिने क्रममा रहे पनि औषधि, खोप परीक्षण गर्ने क्रम सम्म चलेको छ । तर, पुरै आशावादी बन्न सक्ने अवस्था छैन । अहिले विभिन्न देशहरुले परीक्षण गरिरहेका छन् । यो भाइरस साम्य हुन भने अझै समय लाग्ने विश्व स्वास्थ्य संगठन आफैले पनि बताइरहेको छ ।
तसर्थ यस्तो विषम परिस्थितिमा यहाँ हरेक जनता मारमा परेका छन् । ठूला ठूला औद्योगिक व्यवसाय, कलकारखाना अझ बढी क्षति बेहोरिरहेका छन् । यस्ता क्षेत्रमा काम गर्नेहरुको रोजीरोटी गुमेको अवस्था छ । यो अवस्थामा नकरात्मक, गलत अफवाह फैलाउने कार्य समेत भए गरेको देखिएको छ । यसमा हामी सबै सचेत र संवेदनशिल बन्न जरुरी छ । वर्तमान संकटको सामना हामी सबैको एकतावद्ध प्रयासले मात्रै हुन्छ । अहिले निजी विद्यालय भन्ने वित्तिकै गलत हिसावले सोच्ने र बुझ्नेहरुका कारण केही समस्या देखिएको छ । त्यो सबै सत्य होइन । यस्तो परिस्थितिमा निजी विद्यालयले बैकल्पिक बिधि, प्रविधि अपनाएर बिद्यार्थीलाई यो शैक्षिक सत्र गुम्न नदिन प्रयास गर्ने कार्यलाई त प्रोत्साहित गर्न सक्नु पर्छ । यो राम्रो कुरा हो । यसलाई सरकारले प्रोत्साहित गर्नुपर्छ । जसबाट कोरोना संकटसँगै बेरोजगार बनेका निजी बिद्यालयका हजारौ शिक्षकहरुलाई पनि राहत मिल्नेछ भने बिद्यार्थीहरु पनि कुनै न कुनै हिसावले शिक्षा सँग जोडिने छन् । र यस बीच अन्यत्रै मोडिएको ध्यान फेरी शिक्षामै आकर्षित गर्न सकिने सहज परिवेश तयार हुन्छ । यसमा नेपाल सरकारले ल्याउने अरु बैकल्पिक उपायहरुमा पनि निजी बिद्यालयले आत्मसाथ गरेर अघि जान सक्ने अवसर पनि हुन सक्छ । त्यसका लागि मुख्यतः राज्यले बातावरण र विकल्प दिनुपर्छ ।