शिव चालिसे
नेपाली कम्युनिष्ट आन्दोलनको पनि करिब ७१ वर्षदेखि चलिरहेको अवस्था छ । २००६ सालमा स्थापना भएर २०१७ सालमा राजा महेन्द्रले कु नगर्दा सम्म नेपाली जनताको कम्युनिष्टहरु प्रति कति राम्रो झुकाव थियो ? लहर कम्युनिष्ट आन्दोलन तिर थियो । यसको प्रभाव चिनियाँ राजनीतिले पनि पारेको थियो । त्यसबेला भारतीय कम्युनिष्ट पार्टी पनि चल्ताफुर्ता नै थिए । राजा महेन्द्रले कू गरे पछि कतिपय कम्युनिष्ट नेताहरू राजावादी बने । कति हार्डलाइनरहरुलाई जेल कोचियो । पार्टी क्षतविक्षत बन्यो । रक्षात्मक स्थितिमा पुग्यो । २०२८ सालमा गठन गरिएको केन्द्रिय न्युक्लियसबाट पार्टी थोरै तंग्रिएको भने थियो । त्यो पनि लामो समय नटिकी पुनः गुटउपगुटको राजनीति सुरु भयो ।
धेरै झुण्डहरुमा कम्युनिस्ट बाँडियो । यो कुरा ऐतिहासिक दस्तावेजहरुले बताउँछन् । यसरी पार्टीमा आउने मतान्तर, संघर्ष, विचार विमर्श, अन्तरपार्टी संघर्षको परिणाम पार्टी फुटको दिशामा लाग्नु माक्र्सवादी विचार लेनिनवादी संगठनात्मक पद्धतिका विपरित कुराहरु हुन् । किनभने फरक विचारलाई संस्थागत तरिकाले अगाडि बढाउने कुरालाई ठोस रुपमा घोषणा गर्दै कम्युनिष्ट घोषणापत्रले उद्घोष गरेको छ कि संसारभरका मजदुरहरु एक हौं । हो, केही मतभेद भएपछि जनवादी प्रकारले सल्टाएर जानुपर्छ । त्यसो नगरेर पार्टी फुटको दिशामा जान दिनु वा जानु दुवै कुरा माक्सवाद विरोधी हुन् । यसरी हेर्दा नेपाली कम्युनिस्ट आन्दोलन माक्सवाद विरोधी धारबाट बढी प्रभावित भएको देखिन्छ । अन्तर पार्टी संङ्घर्षलाई सही तरिकाले सञ्चालन गर्न नसक्नु, द्वन्द्ववादलाई आफु अनुकूल व्याख्या गर्नु पार्टी गुटका मुख्य कारकहरु हुन् ।
यसरी हेर्दा केही पार्टीहरु त मिलेका छन् । जस्तो लाग्न सक्छ,जस्तैः तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले जुटेर डवल नेकपा भयो । ठूलो पार्टी भयो । सरकार चलाएको छ । सकरात्मक कुरा हो । त्यसभित्र अहिले जुन प्रकारको परिस्थिति पैदा भइरहेको छ, आन्तरिक संघर्षलाई संस्थागत नगरेर बग्रेल्ती बाहिर फालिएको छ । जनताहरूमा समेत नेताहरूको टकरावका कारण गुट विकास भएको छ । यो नै माक्सवाद विरोधी छ । अन्तरसंघर्षलाई व्यवस्थित प्रकारले सञ्चालन गरेर मात्रै जिवित पार्टीको परिकल्पना गर्न सकिन्छ । त्यसैले अहिलेको नेकपा नामको कम्युनिष्ट मात्रै हो । देशमा अरु कम्युनिष्ट पार्टीहरु पनि करिब नामको मात्रै कम्युनिस्ट भन्दा फरक नपर्ने अवस्था छ । उनीहरुले आफ्नो धरातल छाडेका छन् । “कम्युनिष्टहरुले सधैँ गरिब नै हुनुपर्छ भन्ने छैन ।“ भन्ने विचार अचेल कम्युनिष्ट नेताहरूको मुखमा झुण्डिएको छ । त्यो नै कम्युनिष्टहरुको पद भ्रष्टको नीति हो । माक्सवादले निम्नवर्गिय व्यक्तिहरूको उत्थान इलाट वर्गले गर्न नसक्ने बताएको छ । जो ब्यक्ति धनी बन्दै जान्छ । आफ्नो र आफ्नाका लागि सोच विकास गर्छ । आफु भन्दा तल व्यक्तिको लागि सोच्दैन । यो मानवीय स्वभाव हो । यसलाई नकार्न सकिन्न । यस कुरालाई माक्सवादले सत्य मानेको छ । यसको एउटा उदाहरण शक्ति बस्नेतको चेपाङ झुपडी काण्ड, अब उनीहरुले गरिब दुखीको प्रतिनिधित्व गर्न सक्दैनन् । जसले निम्नवर्गिय व्यक्तिको प्रतिनिधित्व गर्न सक्दैन । ऊ कम्युनिष्ट हुन सक्दैन । विभिन्न वहानामा नेताहरु धनी भैसके गरिबका कुरा गर्दैनन् र सुन्दैनन् । त्यसैले उनीहरुले आफ्नो धरातल छाडे र कम्युनिष्ट धरातलबाट चिप्लिएका छन् ।
कम्युनिष्टले विकासका कुरा मात्रै (काम त भएको छैन) गर्दैन । उनीहरुले वर्गिय खाडल पुर्नुपर्छ । सँस्कार सँस्कृतिमा बदलाव ल्याउन सक्नुपर्छ । त्यो भएको छैन । प्रमले राम र अयोद्वाका कुरा उठाउनु भयो । यस विषयबाट धेरै मान्छेहरु खुसी पनि भए । केपी भनेको राष्ट्रवादी हो । उसलाई सबै गर्न छुट छ जस्तो गरेर तर्क गरे । हामी सबै त्यही रुपमा बुझ्यौ । यो बुझाई गलत छ । यस विषयले राजनीतिक रुपमा ठूलो अर्थ राख्छ । हामीले भत्काउन खोजेको पुरानो संस्कार र संस्कृतिलाई पुरानो राजनीतिक अवस्था र पुरानो अर्थव्यवस्थाबाट अलग्याउन सक्दैन । हामीले निर्माण गर्न खोजेको नयाँ संस्कृतिलाई फेरि नयाँ राजनीतिक व्यवस्था र नयाँ अर्थ व्यवस्थाबाट पनि अलग्याउन सकिदैन । यसबाट के भन्न सकिन्छ भने हामी पुरानो राजनीतिक अबस्थामा र पुरानै अर्थव्यवस्थामा नै छौ । किनकी केपी त अझै त्यहीँ हुनुहुन्छ । देश चलाउने मान्छे त्यही भए पछि हामी त केबल देश अनुसार चल्ने मान्छे न हौ । त्यसैले हामीलाई लागेको हुनसक्छ कि हामी संविधानमा लेखेको जस्तो समाजवाद उन्मुख व्यवस्थामा छौ । हामीले देखे जस्तो सुने जस्तो कम्युनिस्ट पार्टीको आचरणमा छौ । यदि यो भ्रममा हुनुहुन्छ भने सबैले यो भ्रमबाट मुक्त हुन मेरो अनुरोध छ । हामीले न्वारान गरेर व्यवस्थाको नयाँ नाम राखिएको छ । तर, बच्चा उही नै हो ।
धर्मनिरपेक्षता, समावेशी र समानुपातिकका कुराहरू प्रति केपी ओलीको आफ्नो जस्तो धारणा थियो । त्यो नै भएको छ, पार्टीको धारणा लागू भएको छैन । त्यसैले हिन्दुहरु श्रेष्ठ र अन्य धर्मका तुच्छ, पहाडी बाहुन क्षेत्री श्रेष्ठ र मधेशी काला अनुहारहरु तुच्छ अहिलेको सरकारका नजरमा छ । यो व्यवहारले देखाउँछ । यो नश्लिय राजनीति हो ।
माथि उल्लेख गरे जस्तो व्यवस्थामा क्रान्तिकारी भनिएका कम्युनिस्ट आन्दोलनका दोस्रो पुस्ता मोहन विक्रम सिंहले समेत साथ दिएका छन् । चुनावी एकता, सरकारमा सहभागिता, सरकारको समर्थन, समय समयमा आउने उहाँका लेख वक्तव्यहरुले त्यसको जनाउ दिन्छ । उनले विभिन्न ठाउँमा बाहिर देखाउँदा लेखेका छन् । डवल नेकपा कम्यूनिष्ट होइन । त्यसो हो भने यो सपोर्ट किन ? आफ्नो आठौं महाधिवेशनमा डवल नेकपालाई मित्र शक्ति मान्ने किन ? यस्ता बिरोधाभास कुराले गर्दा लाग्छ, सिंह पनि कम्युनिष्ट आन्दोलनबाट पद भ्रष्ट हुन लागेका हुन् कि जस्तो छ । एमवि सिंह कुनै जमनामा गरिब जनताको आँगनमा र मझेरीमा भेटिन्थे रे । तर, अहिले उनी काठमाडौंको सुविधा सम्पन्न पार्टी कार्यालयमा हुन्छन् । जनताको मझेरीमा भेटिन छोडेको वर्षौं भइसक्यो ।
प्रचण्डले जनताको ब्यथा बुझ्न छाडे । प्रगतिशिल लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलालाई उद्धृत गर्ने हो भने केपी त कहिल्यै पनि जनताको बीचमा थिएनन् । उनले जीवनको लामो समय जेलमा बिताए र जेलबाट छुटेपछि उदण्ड मच्चाएर बसे । अहिले पनि जनताको बीचमा जो छैन,उनैले सत्ता सम्हालिरहेका छन् । जो अहिले पनि जनताको बीचमा छन् । उनीहरु कहिले पनि सत्ता सञ्चालनको अवसर पाएनन् । यो व्यवस्था गर्न पनि चाहेनन् । व्यवस्था नै आमूल परिवर्तनका लागि लडिरहे, उनीहरू अझै पनि ओझेलमा परिरहेका छन् । र पनि लडिरहेका छन् ।
जनताको चिसो चुलो चिसै छ । जनताको वेदना, पीडा, जीवनशैली, मनस्थिति उस्तै छ । धनी अझै धनी र गरिब झनै गरिब भइरहेका छन् । यस्तो परिस्थितिको सामना गर्न सक्ने हैसियत राख्न भनेर झण्डै दुई तिहाइ मत दिएर जनताले पठाएको डवल नेकपा यी सबै कुराबाट बेखबर छ । देश झन् भन्दा झन् कमजोर भएको छ । अन्र्तराष्ट्रिय सम्बन्ध बिग्रेको छ । कोरोनाको सही पहिचान र व्यवस्थापनमा सरकार चुकेको छ । महङ्गी बढेको छ । कालोबजारी मैलाएको छ । भ्रष्टाचार प्रति सुन्ने सहिष्णुताको नीति मन पराउने प्रधानमन्त्री भएको देशमा उहाँकै मन्त्री, उहाँले विश्वास गरेका कम्पनी, उहाँका नजिकैका नेता, कार्यकर्ता अख्तियारको फन्दामा दिनहुँ जान्छन् । प्रधानमन्त्री सही बोलेको हो या हचुवाको भरमा बोलेको हो । यो विचारणीय प्रश्न हो । यस्तो विचारले मगज भरिनु पर्छ । बल्ल यो व्यवस्थाको विकल्प खोज्न तिर ध्यान केन्द्रित हुन सक्छ । तर, यतिबेला मेरो मगजमा भने एउटा प्रश्न घर गरेको छ । के कार्ल माक्र्सले परिकल्पना गरेको कम्युनिष्ट यस्तै होलान् ?