तुल्सीराम पाण्डे
दाजुभाई हुर्केपछि छुट्टिनु र आ–आफनो ढंगले प्रगती गर्नु नेपाली समाजको विशेषता हो । व्याडमा रहेका बिरुवाहरुलाई आफ्नै ठाउँमा पोषण पुग्दैन र ति बिरुवाहरुलाई उखालेर उचित ठाउँमा सारेमा मात्र राम्रो सँग हुर्कन र फैलाउन सक्छन् । ंत्यसैगरी छोरीहरुको विवाह गरिदिएपछि आ–आफ्नो घर जान्छन् । छोराहरुको विवाह भए केही वर्षपछि दाजुभाई छुट्टिन्छन् । छुट्टिए पछि आफ्नो विवेक र योग्यता अनुसार परिवार पाल्ने र प्रगति गर्ने गर्दछन् । नेपाली समाजमा दाजुभाइलाई लक्ष्य गरेर ‘केराको गाँज फोरेमा फैलाउँछ’ भन्ने उखान समेत चल्तीमा छ । घरमा भएको पुख्यौली र चल–अचल सम्पति, सामाजिक परम्परा अनुसार दाजुभाइले बाँडेर अर्काे ठाउँमा सर्नु नै छुट्टिनु हो । छुट्टिदा ‘मासको गेडा फोरेर तिलको गेडो घोटेर’ बाँड्ने परम्परा छ । नानीहरु छुट्टिएमा समेत पहिले बाउहरुको अंश छुट्याउने त्यसपछि मात्र छोराहरुको अंश लगाउछन् ।
पहिले मानिसहरु विदेश जाने र कमाउने त्यति चलन थिएन । छुट्टिए पछि आफुलाई अंश परेको ठाउँमा गोठ बारेर बस्ने, खेतीबारी विराउने, जग्गा अनुसारको खेती गर्ने, अर्मपर्म र निमेक गरेर केटाकेटी पाल्ने र हुर्काउने गर्थे । पहिले सबैका छोराछोरी धेरै हुन्थे । उनीहरुलाई पाल्नुपर्दा अरु प्रगति हुँदैनथ्यो । पञ्च र दाजुभाइहरु बसेर अंश लगाईदिन्थे । बुढाबुढीलाई ज्युनी राख्थे । पाहुना आएमा बुढो घरमा आउँथे । बुढाबुढी कान्छा सँग बस्थे । खेतबारी, खरबारी र अरु जग्गा भएमा अवल चाहार मिलाएर भाग लगाउँथे । जति भाइ छन्, त्यति र बुढाबुढीलाई गनेर जग्गाको चिरा पार्थे । कान्छाले रोज्न पाउँथे । बाउ आमाको ज्युनी बसेको घर र आफ्नो अंश गरेर कान्छाको भागमा धेरैनै आउँथ्यो । छुट्टिएको वर्ष धेरै जाँगर लाग्छ समेत भन्दछन् । घरभित्रको अन्न ‘पेखाँडो’भाग लगाउँछन् । पुराना मानिसहरुले ‘भाइ सानो र आगो सानो’ नदेख्नु भन्दछन् ।
जेठाले दुःख गरेर घर व्यवहार मिलाएर पनि त्यसको मुल्याङ्कन हुँदैन । कमाएर दिएको भए पनि त्यसको हिसाब हुँदैन । कान्छाले पढ्न र अंश रोज्न पाउँछन् । केही बाउआमाले लुकाएर छोरीलाई पैसा दिने र कान्छालाई लहना लाइदिने गर्दछन् । अरु भाइले ऋण बोक्नुपर्ने हुन्छ । अरु भाइले पनि पहिले कमाएको लुकाएमा र छुट्टिने वित्तिकै खेत किनेर घर बनाउने गरेमा दाजुभाईको झगडा हुन्छ । केही समय बोलचाल समेत बन्द हुन्छ । छुट्टिने कुरा धेरै ठाउँमा अन्याय परेकालेनै गर्दछन् । धेरै ठाउँमा बुहारीहरु नमिल्ने हुनाले बाउआमालाई घर व्यवस्था मिलाउन ग्राहो हुने, कुनै ठाउँमा एउटी बुहारीले काममा ठग्ने, कुनै ठाउँमा सासुले कोशेली ल्याउने बुहारीलाई पोस्ने अरुलाई हेला गर्ने कुनै ठाउँमा जेठा छोराले जति कमाएर दिए पनि ऋण मात्र देखाउने । कुनै ठाउँमा घरमा ऋण भए पनि लुकाएर छोरीलाई लहना लगाइदिने, हिसाब मागेमा झगडा हुने कुनै एउटा कारण भएमा पञ्चकृतिमा अंश लगाउँछन् ।
परिवारको अवस्था फरक भएमा फरक तरिकाले अंश लगाउँछन् । कसैको घरमा अपाङ्ग परिवार भएमा पालन पोषणको भाग छुट्याउँछन् । विवाह नगरेकी र अपाङ्ग छोरी भए पनि त्यसै गर्छन् । शेष पछि के गर्ने भनेर पहिल्यै टुङ्गो लगाउँछन् । घरमा धेरै ऋण भएमा भाइको संख्या हेरेर र विवाहमा लाग्ने अनुमानित खर्च हेरेर कुनै ठाउँमा विवाह गरेकाले ऋण तिर्छन् । साना भाइ हुर्के पछि आफुले कमाएर विहे गर्दछन् । लहना भएको ठाउँमा विवाह नगरेकालाई विवाह खर्च छुट्टाएर लहना सबैलाई बाँड्दछन् । थोरै लहना र सुन भएमा विवाह गरिसकेकाले केही पाउँदैनन् । कुनै बुहारी विधुवा र बाला विधुवा भएमा पनि ऋण बोकाउँदैनन् । अरु भाइले ऋण बाँड्दछन् र विधुवा वा एकलको जीविकाको व्यवस्था गर्छन् ।
अहिले विदेश जाने र कमाउने चलन भएको हुनाले छिट्टै प्रगति गर्न सक्छन् । विदेश जानेहरुले पहिले घरको ऋण तिर्छन् । त्यसपछि पैसा आफ्नो नाममा राख्ने गर्दछन् । पैसा जम्मा भए पछि घडेरी र खेत किन्दछन् । लामो समय विदेश बसेर आएमा यही व्यवसाय समेत गर्दछन् । पुरानो अवस्था देखिको कारणले आफ्नो सुरु गर्दछन् । ऋण देखाएमा त्यसको कारण सोध्छन् । कान्छाले केही गर्न र कमाउन सकेन भनेर तोप्न खोजेमा उसको पनि उमेर पुगेको छ, घरमा छोडेमा सबैले कमाउँछन् देश खान र प्रगति गर्न त उसले पनि त आँट गर्नु प¥यो नि भनेर टार्छन् । छुट्टिने कुरै गर्दैनन् । कसैले भाइलाई पनि कमाउन लैजाने र बाटो खर्च दिने गर्छन् । परिवार बसेर अंश लगाउने चलन बढेको छ । रोज्ने चलन हराएर गोलप्रथा गर्दछन् । पछीबाट त्यति झगडा हुँदैन । बुढाबुढी एक्लै बस्दछन् । कमाउन शुरु गरेपछि श्रीमतीहरु व्यवसाय गर्न र बच्चा पढाउन शहर बजारमा जान्छन् । पेशा गरेकाहरु छुट्टाछुट्टै बस्दा अंश नलिए पनि छुट्टिए सरह भएको छ ।
सबै छोराछोरीको विवाह गरिदिए पछि बाउ आमालाई स्वर्गको ढोका खुल्छ भन्ने विश्वास छ । त्यसपछि बुढाबुढी तिर्थ ब्रर्त गर्न टाढासम्म जान्छन् । कुनै ठाउँमा एउटा छोरो पनि बाउ आमासँग छुट्टिएर कटेरामा बसेका छन् । सौतासँग नमिलेर गोठ बारेका छन् ।
जनजातीहरुमा ४५/५० सालसम्म छुट्टिने चलन त्यति थिएन । धरै भाइमा एउटाले साुहको हलो जोत्ने, एउटाले भारी बोक्ने, एउटाले गाइ पाल्ने र खोरीया फाँडेर बस्ने, एउटा वृटिस लाहुरे हुने र एउटा सरकारी जागिरे भए पनि सबैले अर्काको रिस नगर्ने, आफ्नो भाग्य खाने हो, उसको भाग्य त्यस्तै रहेछ भनेर चित्त बुझाउँथे । बाहुनहरुले हामीले घर धनी दिएको हुनाले तैले कमाएको होस् भनेर रिस गर्ने र बाँड्ने गर्दथे । जनजातीहरुमा लोभ नभएको हुनाले घरमा आउँदा सबैलाई कपडा र गहना समेत ल्याइदिन्थे । चेलीबेटी साथीलाई समेत कोशेली ल्याइदिन्थे । प्रत्येक पटक आउँदा कहिले पञ्चवली लाने नाममा र कहिले अन्य नाममा गाउँलेलाई भोज खुवाउने गर्थे । कसैले आफु बसुञ्जेल भोज खुवाउँथे । विस्तारै चेतना बढेको हुनाले आजकाल जनजातीहरु पनि कमाउन बल गर्ने र आफुले कमाए पछि छुट्टिने र अरुले जस्तै आर्थिक प्रगति गर्दछन् । बजारमा पुख्यौली रुपमा व्यापार गर्नेहरुको धेरै जग्गा हुँदैन । नाफा भएमा व्यापार बढाउँदै जान्छन् । छोरो हुर्केमा केही लगानी दिएर अर्काे ठाउँमा व्यापार गर्न पठाउँछन् । धेरै फाइदा भएमा अर्काे घर र घडेरी किन्दछन् । छोराहरु छ्ट्टिएमा धितो मुल्याङ्कन गरेर बाँड्दछन् । पहिले बुढाबुढीको व्यवस्था गरेर धन भए बराबर बाँड्दछन् । ऋण भएमा पनि बाँड्दछन् । बजारमा दाजुभाई र आफ्न्तले अंश लगाइदिन्छन् । त्यसपछि आफ्नो रहरले बस्दछन् । नेपालको परम्परा र कानुन अनुसार बाउको सम्पतिमा छोराको हक लाग्छ । छोराले कमाएको सम्पतिमा बाउ आमाको हक लाग्दैन । छोराले दिएमा मात्र बाउ आमाले तिर्थ वर्त गर्न र अन्य कुरामा खर्च गर्न पाउँछन् । यसमा पुर्नविचा गर्न जरुरी छ ।