फित्ते

शिवशरण ज्ञावली
व्यस्त शहरको चोकमा दोधारे मन लिएर उभिन्छु । अनि पाहुना बन्न नै लाग्छु । कहिल्यै नआउने कोरोनाका बेला आउँदा कतै आफन्तहरु शंकित हुनुभो भने कतै मै खुम्चिएँ । पहिलो हप्ता धुर, कठ्ठा, बिधा, करोड, दुई करोडले मथिंगल राम्रै झङ्कृत र तरङ्गित भयो । बोलीमा आत्मीयताभन्दा स्वार्थको लेस बढी हुन्थ्यो । मान्छेसँग मान्छे भाग्ने जमानामा पनि मानिसहरु नजिक हुन खोज्थे । आत्मीयता कम र ब्रोकरियता बढी थियो ।

पैसाको बोली फितामा नापिन्थयो । कतैकतै औद्योगिकता परिचय पनि भेटें । मन सन्तोष भो । खुलेर प्रशंसा नि गरें । केही आफन्तह युवाहरु विशुद्ध व्यापार व्यवसायमा लागेको पाउँदा खुशी पनि लाग्यो । मनमौजी अंकल नि जागिर छाडेर व्यवसायमा हाम्फाल्नु भएछ । कम्तीमा दश वर्ष एक वर्ष मान्नु भो भने सफलता निश्चित छ ।

भोलिपल्ट म बाटोको छेउमा रोकिन्छु र यात्राको निरन्तरता हेर्न थाल्छु ।कहाँ जाने होलान् यी ? सबैलाई के को हतार होला ? म जस्तै यी पनि वटुवा पो होलान् कि ? कि कुनै कामले हिडेका होलान् ? भीडमा कैयौँ त छोराछोरीको स्कुल फि, पोशाक, शिक्षा अनि उनीहरूको शैक्षिक भविष्यको सुन्दर सपना देखेर हिडेका पनि होलान् ? सोच्दासोच्दै म यातायातका साधनहरुले सिर्जना गरेको गतिको लयमा म पनि मिसिन्छु । कैयौंले मलाई उछिन्छन्, थोरैलाई मैले उछिन्छु । केही दिन मेरो यस्तै गतिसँगै प्रेमालाप हुन्छ । बुझ्छु सक्नेले उछिन कमजोरलाई छाड । यसपालि मैले राम्रै बुझें, मान्छे कुन बेला पछारिन्छ, पत्तै हुँदैन । बलिरहेको जीवनरुपी आगो क्षणभर निभ्न पानी खन्याइरहनु पर्दैन । तापनि मानवीय यात्रा निरन्तर प्रतिष्पर्धामै छ । अनवरत अनवरत !

अरे मामा ! यो पुरानो कोट र गाम्ले दौरासुरुवालमा तपाईं तपाईं लखर लखर कता हिड्नु भको ?’ बीच सडकमा चिलले पखेटा फिजाएजस्तै दुई हात फिजाएर बाटो काट्दै गरेको मामासँग म अचानक ठोक्किन पुग्छु । ’तपाईं कति असभ्य जहाँ मन लाग्यो त्यहीबाट बाटो काट्नुहुन्छ । गाडीले हान्यो भने के हुन्छ ?’ मैले मामालाई के भनेको थिएँ । मामा त जङ्गीन पो थाल्नु भयो, ’ तपाईहरु जस्ता कथित शिक्षित, धनी र शहरिया हो, असभ्य । हामी असभ्य होइनौं । हामी त जीवन, आस्था, स्वाभिमान, स्वतन्त्रता रेसुङ्गाजस्तै अटल रुपमा जोगाएका कृषक हौं । तपाईंहरु आडम्बरी हो । चाकरी चाप्लुसी, टोलेझोलेमा स्वाभिमान खोज्नु हुन्छ । तपाईहरु सबै एकै हो । एक अर्कालाई गाली गर्न माहिर हुनुहुन्छ । एउटा औंला अरुतिर फर्काउँदा अरु चार औंलाहरु आफूतिर फर्किएको तपाईंहरु था पाउनुहुन्न ।’ मामा रोकिनुभएन, ’ शिक्षित तपाईंहरुले धर्म मास्नुभो । अधर्मी हो । आफ्नो पेटको बच्चालाई मार्नु हुन्छ । छोराछोरीमा विभेद गर्नु हुन्छ ।

दुई सन्तान ईश्वरका वरदान होइन अभिशाप हुनेछ तपाईंहरुलाई । नापेजाचे जस्तै एक छोरा र एक छोरी पाउनुहुन्छ । मर्ने बेला तपाईंहरुकको छेउमा बस्न तपाईंहरूका छोराछोरी आउने छैनन् । तपाईंहरुलाई विश्वाश नै पनि छैन । छोराछोरी हाम्रा भोलिका सहारा हुन्छन् भन्नेमा । यिनले गर्दैनन् भन्दै तपाईंहरु आफनै स्वार्थमा लिप्त हुनुहुन्छ । दुई महिनाका छोराछोरी छाडेर धन कमाउन जानुहुन्छ । अनि उनीहरुले तपाईंलाई गर्नु पर्ने के छ ? तपाईंले उनीहरुलाई गर्नु पर्ने बेला नगर्ने अनि उनीहरुले तपाईंलाई गर्नु पर्ने के दायित्व छ ? मैले त तपाईको दाईलाई पनि पढाएँ । म के जान्ने थिएँ र ? दुई कक्षा पढेको मान्छेले पढाएँ त !’

विद्वानहरुलाई चुनौती दिँदै मामा बोल्न छाड्नु भएन । म अक्क न बक्क भएँ । मामालाई नसिकाउनु पर्ने रहेछ जस्तो लागो । मामाले ’लेक्चरर’ को निरन्तरता छाड्नु भएन । ’भान्ज म आग्लो लगाउँछुलाई अङ्ग्रेजीमा भन्नुस् त ?’ मैले स्कुलबाट फर्किएपछि तपाईको दाईलाई सोध्थे । नजाने भोलि सरलाई सोध्न लगाउँथे । त्यसैगरी पढाएँ दाईलाई । दाईको सफलता लोभलाग्दो छ । गर्व छ यसमा मलाई । त्यसैगरी मैले चार छोराछोरीलाई पढाएँ । हरेक दिन दुईघन्टा मैले उनीहरुका लागि छुट्याएँ । हुनतः तपाईं पढेको मान्छे तपाईंलाई नै थाहा होला । तर मेरो बुझाइमा चार कक्षासम्म तपाईंले बच्चाको शैक्षिक भार बोक्नैपर्छ । त्यसपछि त उनीहरु आफै पढिहाल्छन् नि ! यदि तपाईंले चार कक्षासम्म राम्रो पढाउनु भो कहिल्यैं उनीहरुलाई शैक्षिक क्षेत्रमा असफलता भोग्नु पर्दैन ।

त्यसपछि आर्थिक भार बोके पुग्छ । तर तपाईंलाई कहाँ फुर्सद छ र ? पैसा पैसाले सताइनु भको छ । विघा, कठ्ठा, धुरमा मलाई त ठग्न बेर लगाउनुहुन्न । अरुलाई के बाँकी राख्नु होला ? मैले त दुई छोराछोरीलाई स्नातक गराएँ । अर्कोले विज्ञानमा स्नातक गर्दै छ । सानी छोरीले बारको परीक्षा कुरेकी छ । जेठो छोराले स्नातक पढ्दापढ्दै लोकसेवा पास गरेको त तपाईंलाई नै था छ । ’ मामाले मलाई हकारेको स्वरमा भन्नु भयो, ’यो दौड छाडिदिनुहोस्, तपाईको छोरालाई समय दिनुस् । तपाईले समय दिनुभएन भयो भोलि तपाईँलाई उसले समय दिदैन ।’

मामाले मलाई कक्षा राम्रै दिनु भो । आमापछिको मामासँग सरवालजवाफ गर्ने कुरा भएन । मनमनले भने, ’मामा हामी भोलिका लागि होइन आजका लागि मात्रै सोच्छौँ । आज कोराना लागिरहेछ बल्ल हस्पिटल खोज्दैछौँ । हिजो प्रजातन्त्र आएपछि अस्पतालका बारेमा सोचिनुपर्थयो । उतिबेला बनाको अस्पतालले आज बल्ल सेवा दिन सक्थ्यो । तर हाम्लाई भोलिको चिन्ता छैन ।’ झ्ल्याँस बिउँझिएर घडी हेर्छु त साँढे छ भइसकेछ । ओहो मामा कताबाट आइपुग्नु भो आज ! अचम्म लाग्यो ।

अनि अबेर उठेर क्याम्पसतिर लागेँ । बाटोमा जाँदा खल्ती छामेँ । फित्ता भको पक्का भएपछि निर्धक्क क्याम्पस गएँ । क्याम्पसमा गर एकाध कक्षा लिएपछि ताल उही सुरु भो । पार्टीको सम्धी भएपछि डरकर हुने कुरो भएन । चौतारीमा जम्मा भर छलफलको सुरुवात गरियो । उही दलीय छलफल ! बिना निष्कर्षको छलफल ! भेटघाट जारी निष्कर्ष फेरि भेट्ने ! नेताका बोली टिप्ने चर्काचर्का बहस गर्ने क्रम जारी नै छ । त्यही बीचमा कोही आइहाल्यो भने त फित्ताको प्रयोजन सफल भइहाल्यो नि ! त्यसतो बेला राजनीतिक छलफलको महत्व रहँदैन । नभए तिन चार घन्टा त्यसतै छलफलमा बिताएर घर फर्किने म आज पनि त्यही गरें ।

बाटोमा जाँदा मनमनमा लाग्यो,’लाटा र गवार मामाले खुब पढाए मलाई ।’ मनमनमा रिस पनि उठ्यो । मैले बोडिङ पढाएकै छु । पैसा भरेकै छु । पढाउने काम मेरो भए शिक्षकको काम के त ? अब काम नपार छोराछोरी पढाएर बस्छु । घर गएपछि मोबाइल छँदैछ । पढेँ पढ्छन् नपढे पढ्दैनन् । आखिर पढेर पो के हुँदो रच र ? आखिर पैसै कमाउनु त रहेछन् । ती गवाँर मामालाई पो था छैन र के काना पढाउँछन् ! पढाउन् । आ ! कल्ले झन्झट गरोस् । बुढेसकालमा देखा जाला । मोबाइल हेरेर एकछिन उनीहरु खेले हामीलाई पनि सजिलै भो । बुढेसकालमा हामी पनि मोबाइल हेरौंला !

यस्तै सोच्दै म घर पुगे । तर त्यसतो व्यस्त र सुकिलो सहरमा पनि त्यही झुत्रेझाम्रे मामाको भनाइले भने मलाई चिमोटिरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *