तुलसीराम पाण्डेय
‘हरियो वन, नेपालको धन’ भन्ने उखान पहिले धेरै मात्रामा सुन्न पाइन्थ्यो । अहिले तराइ र पहाडका वनहरु मासिंदै गएपछि वनको जिम्मा समूदायलाई दिने नीति बन्यो । सामुदायिक वनको विकासले मासिएका वनहरु फेरि भरिन थालेका छन् । मानिसहको बाँच्ने आधार पशु र वनलाई मानिएको छ । पहिले–पहिले वनको नजिकै घर हुने र धेरै गाई भैसी र वाख्रा पाल्ने मानिसहरु धनी मानिन्थ्यो । विदेश जाने चलन अलिअलि मात्र थियो । विदेश जानेहरुले समेत धन कमाएर ल्याउन सक्दैनथे । केही मानिसहरुले थोरै मात्रामा कमाएर ल्याए पनि स्थायी स्रोत मानिदैनथ्यो । सवैले लाहुरको धन पाहुरामा जान्छ भन्थे ।
यही बसेर नै सवैले आफ्नो उन्नती गर्ने प्रयास गर्दथे । बेशीमा घर र खेत हुनेहरु सबै भन्दा धनी मानिन्थे । लेकमा बारी र पाखो भए पनि ठिकै मानिन्थ्यो । खेत र बारी थोरै हुनेहरुले त्यस बेलाको चलन अनुसार मेलापात र निमेक गरेर गुजारा चलाउँथे । सके सम्म ऋणबाट जोगिने प्रयास गर्दथे । कहिलेकाही भोकै बसेर ३,४ पटक टालेको लाएर गुजारा चलाउँथे ।
त्यस समयमा धन कमाउनका लागी धेरै मानिसहरुले लेकको नजिकै गोठ बनाएर धेरै गाइ भैसी पाल्ने गर्दथे । छोरो हुर्केमा गोठमा गाइ चराउन राख्दथे । कसैले भैसी पनि गाइ जस्तै चराएर पाल्थे । धेरै छोरा भएमा धनी बन्ने लक्षण मानिन्थ्यो । ‘जसका गाइ उसको वन, जसका छोरा उसको धन’ भन्ने उखान समेत सुनिन्थ्यो । सन्तानलाई जनतन हुर्काएमा आ–आफ्नो भाग्य खाने हो भन्दथे ।
लेकमा गोठ राख्ने मानिसहरुले गाउँ बेशीको पाई हुनेहरुले जेठबाट असोज सम्म वेशीमा र कात्तिकबाट जेठसम्म लेकमा राख्दथे । लेकमा घर हुनेहरुले र धेरै भैसी पाल्नेहरुले बाह्रैमासे जंगलमा छोडिदिन्थे । व्याउने समय भए पछि मात्र घरमा ल्याउँथे । भैसीको घिउ बेचेर लुगाफाटा, तमाखु, नुन, मर मसला र अन्य घरलाई चाहिने सामान ल्याउँथे । धेरै भैसी पाल्नेहरुले ३५/४० वटा र थोरै पाल्नेहरुले ५÷७ वटा सम्म पाल्थे । घरबाट नुन भुटे लैजाने र कम्तीमा १५ दिन र बाढीमा १ महिनामा नुन खवाउने गर्दथे । लेकमा गोठ हुनेहरुले ठुला र साना पाडापाडीलाई गोठमा बाँध्ने, थारा र पाडाहरुलाई सधै छोड्ने गर्दथे । गाइलाई पनि त्यसरी नै सधै छोडी दिएर पाल्दथे । विहानमा गाइ दुहुने र गोठालाले खाने गर्दथे । साँझमा बाच्छाले खान्थे । कोही नयाँ मानिस गोरु भैसी किन्न गएमा चरेको ठाउँमा लगेर टाढैबाट देखाउँथे । गोरुको दाम गरे पछि घरैमा लगिदिन्थे । भैसीलाई गोठमा ल्याएर दुध हेरे पछि दाम गर्थे । एक्कासी नयाँ मानिस देखेमा गाई भैसी चम्केर भाग्थे । कसैले मल समेत जम्मा गरेर बारीमा छर्थे । धेरै मानिसले भैसी दुहेर घिउ जम्मा गरेर राख्थे । मोही परिवारले र माग्नेले लगेर खान्थे । हिउँदमा बटौली लगेर घिउ बेच्थे । कसैले घिउ बेचेके पैसाले जग्गा समेत किन्थे । कसैले पुरानो ऋण तिर्ने, छोरा छोरीको विवाह गरिदिने र लहना लाउने गर्दथे । गोठमा बस्नेहरुले खाली समयमा निगाला र अरु बाँसको डोको, डाला, सेउ, ठुन्से, भकारी बुन्ने र चोया काढ्ने गर्दथे । लेकमा नबस्नेहरुले खाली समयमा निगाला र अरु बाँसको डोको, डाला, सेउ, ठुन्से, भकारी बुन्ने र चोया काढ्ने गर्दथे । लेकमा नबस्नेहरुले हप्तामा १,२ चोटी आफ्ना गाइ भैसीहरु हेर्न जान्थे । कुनै वर्ष हैजा गोटी र अन्य महामारी लागेमा केटाकेटी र पशुहरु लिएर लेकमा गएर बस्थे र सञ्चो भएको जानकारी पाए पछि फर्कन्थे ।
सबै भैसीलाई भेल (घण्टी) बाँधि दिन्थे । घण्टी बजेको सुने पछि चाडै अर्को ठाउँमा पुगेको थाहा पाउँथे । वर्खामा भुइमा चरेर आफै अघाउँथे । हिउँदमा डाले घाँस खसालेर खान दिन्थे । चर्दै टाढा गएको र घण्टीको आवाज समेत नसुनिएमा खुरको डोब हेरेर बाटो पहिल्याउदै जान्थे । पानी खानका लागी बीच बीचमा पोखरी खन्थे । वर्षाको पानी जम्मा भए पछि हिउँद सम्म रहन्थ्यो । भैसीहरुले त्यही पानी खान्थे र त्यसैमा आहाल खेल्थे । भैसीहरु चढ्दै टाढा पुगपछि बेला बेलामा छाप्राहरु सार्थे । वनमा चर्ने गाइ भैसीहरु एक अर्काको मुख हेरेर गोलो आकारमा बास बस्दछन् ।
लेकमा बस्दा हिउँदमा मौरी भेटिएमा मह समेत काढ्थे । गोठालाहरुले घ्यू र मह मिसाएर खान्थे । कसैले सेलरोटी पकाउँदा मह मिसाएर गुलियो बनाउँथे । सवै ठाउँमा चिनी पाउदैनथ्यो । कसैले खुदो मिसाएर पकाउँथे ।
गाइको गोठ धेरैले वेशीमा खेतको नजिकै राख्ने गर्दथे । खेतका लागी मल चाहिने हुनाले एउटा गोठ बनाएर एउटा छोरालाई गाइ गोरु हेर्न पठाउँथे । खर्चैैै सकिएमा अरु परिवारले लगिदिन्थे । भैसी चराउँदा राँगो पनि सँगै चराउँथे । चरुवा भैसी र थोरे पाडी खेदिएको कुरा व्याउने लक्षण चिनिए पछि मात्र थाहा हुन्थ्यो । खेदिएको ७ महिना कटेको अनुमान भए पछि गोठमा बाँधेर पाल्थे । व्याएको २,३ महिना पछि फेरी चराउने गर्दथे । साना पाडापाडीलाई माउ सँग हिँड्न सक्ने भए पछि मात्र चराउन लैजान्थे ।
२५/३० सालसम्म गोठ राख्ने चलन व्यापक मात्रमा थियो । त्यसपछि विस्तारै कम भएर गयो । गाउँ बेशीको पाइ हुनेहरुले समेत धेरै जसोले पाइ मात्र बनाए । थोरै गाइ, गोरु वा भैसी पाल्ने र धेरैवाट हिँडेर घाँस काटेर दिने र दुध दुहेर घर ल्याउने गर्न थाले । विदेशमा लाहुरे हुने चलन आए पछि सवैले घर वरपर मात्र खेती गर्ने र सकेसम्म कम पशु पाल्ने चलन आएको छ ।
२०४० सालसम्म धेरै खेतबारी हुने र गोठमा धेरै भैसी भएका मानिसको विवाह गर्दा खुशी भएर छोरी दिन्थे । २०६० सालमा लेकमा धेरै भैसी पालेका मानिसको छोराको विवाह गर्दा भइसकेको बराउनी समेत भाँचिएछ । उनले पुरानै चलन अनुसार मेरा यति भैसी छन् । लेकमा बसेर यति टीन घ्यू बनाउँछु । सधै दुध घ्यू प्रशस्त भइरहन्छ भनेर कुरा गरेछन् । चलन फेरिइ सकेको हुनाले यस्तो घरमा छोरिको घरजम हुन मुश्किल हन्छ भनेर अरुनै कुरा गरेर पन्छाएछन् ।