सरोजराज पन्त
समाज परिवर्तनको गति अहिले अनौठो तरिकाले हुँदै आएको छ । आजभन्दा चार दशक अगाडीको भन्दा बर्तमान नेपाली समाज अहिले दु्रर्त गतिमा परिवर्तन हुँदै आएको छ । हिजोको समाजमा आगो खोज्नका लागि छिमेकीको घरमा कपडाको झुम्रो बनाई पुतपुताउदै ल्याउनुपर्ने अबस्थाबाट अहिले विभिन्न साधनहरूको विकास भइसकेको छ । जसले गर्दा सहजरुपमा ग्यासचुलोबाट आगो बाल्न सकिने अवस्था छ । साधनहरूको प्रयोगगर्दा अत्याधिक सजिलो भएको छ । यसैगरी गीत समाचार सुन्नको लागि लाहुरेहरूले लिएर आएको क्यासेट प्लेयरको पछि लागेर सुन्न पर्ने समाजबाट अहिले घरघरमा टीभी, मोबाइल लगायतका अनेकौं मनोरञ्जनका साधनहरुको प्रयोग भएको समाजमा रुपान्तरण भएको छ । अहिले विकासको गतिमा तीव्रतामात्र आएको छैन सञ्चार क्षेत्रमा विकासको गति अनौठो गरि प्रस्तुत गरेको छ । गाउँमा घोडा खच्चड पुग्दा गाउँ भरी र मानिस जम्मा भएर हेर्न आउने हाम्रो समाज अहिले गाउँघरमा नै गाडी चढेर घरघरमा पुग्ने अवसर प्राप्त गरेका छन् । यो पनि विकासको अनौठो अभ्यास भएको छ अहिलेको नेपाली समाजमा । त्यसो त गाउँमा गाडी पुग्दा गाउँलेहरु जम्मा भएर फुलमाला अविर जात्रा गरेर गाडीहरुलाई स्वागत गर्ने गरेको उदाहरण पनि समाजमा नभएका होइनन यद्यपि यस्ता सवारी साधनहरूको पहुँच गाउँमा पुग्नु अब नौलो रहेन । यसैगरी घरमा काम गर्दागर्दै कामको चापले परेर पढ्न पाए हुन्थ्यो भन्ने हाम्रा दौतरीहरुको समयको कुरा अहिलेका नानीबाबुलाई सुनाउँदा उनीहरूका आश्चर्य मान्दछन् किनकि पहिला काम सकाएर मात्र पढ्नु पर्दथ्यो तर अहिले अरु कुनै काम नभएर पढ पढ भन्दा बालबालिकाहरुलाई बाक्क मान्ने, झर्किने, जाँगर नदेखाउने गर्नुले पनि नेपाली समाज अति छिटो परिवर्तन भएको छ भन्ने कुरा स्पष्ट देखिन्छ ।
खानपानको हिसाबले पहिला दिनभरि काम गरेर रोटी, मकै, भट्ट। खट्टे, ढिडो,आटो आदि खाने गरेकोमा अहिले गाउँघरमा पनि चाउचाउ बिस्कुट मम छोइला आदि अत्याधुनिक खानाका परिकारहरु चाहिने अवस्था आएको छ । भदौरे मकैको आटो खाएर वाक्क भएका वालवालिकाहरु भत खान हुरुक्क भएर आमा श्राद्ध र तीज कहिले आउँछ भनी सोध्न पुग्दथे । अहिले गाउँघरको उत्पादन मुल्य र अर्थ विहिन हुन पुगेका छन । गाउँमा बसोबास गर्ने मानिसहरुले पनि बजारमा उत्पादन हुने सामग्रीहरू किनेर खानुपर्ने बाध्यतामा हुनुले अहिले नेपाली समाज बढी भड्किलो, खर्चिलो बन्न पुगेको यथार्थ हामीमाझ छिपेको छैन । समाज परिवर्तनशील छ समाज निरन्तररुपमा परिवर्तन भईरहने गर्दछ । चार दशक भित्र नेपाली समाजका हरेक पक्षमा तुलनात्मक रूपमा धेरै परिवर्तनहरु भएका छन् । संस्कृति, सांस्कृतिक मूल्य मान्यता, परम्परा आदिमा अपेक्षित भन्दा बढी परिवर्तन भइसकेको छ । सामाजिक क्षेत्रमा गाउँघरमा मेलापात, अर्मपमर्, स्वैच्छिक सहयोग, अप्ठ्यारो परेकोमा सहयोग, जिउँदाको जन्ती मर्दाको मलामी, सामाजिक एकता सहकार्य आदि सामाजिक विशेषताहरुमा परिवर्तन हुँदै मौलिक पनमा भड्कीलो हुदै गएकोछ । मानिसहरु सामाजिक गतिविधिमा सहकार्यहरु हुन थालेको छ । हामीको भाबना बिस्तारै हराउँदै गएर मपाईत्वको भावना हटदै गएको छ । एउटाले अर्काको अस्तित्व नस्वीकार्र्ने प्रवृत्ति अहिलेको नेपाली समाजमा हाबी हुँदै गएको छ जसले गर्दा सामाजिक एकता सद्भावमा कमि हुँदै आएको छ जसको परिणामस्वरूप द्वन्द्ध, विकृति, विसंगति, हत्याहिंसाहरु जस्ता समस्याहरु राष्ट्र र सामाजमा थपिँदै आएका छन् ।
यसैगरी आर्थिक पक्षको विश्लेषण गर्दा मानिस पैसा बिना केही नगर्ने अवस्थामा पुगेको छ । पहिला विद्या धनम् सर्वधनम प्रधानमं भन्ने गरिन्थ्यो तर अहिले आएर पैसालाई सर्वेसर्वा भन्ने अवस्था सिर्जना भएको छ । यसले गर्दा जीवनका हरेक पलपलमा पैसा बिना मानिसले काम पनि नगर्ने अवस्थामा पुगेको छ । नेपाली समाजमा घटदै आएको सहयोग सद्भाव आपसी एकता मेलमिलापबाट समाज एकता भन्दा विविधतामा टुक्रिएर बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । सास्कृतिक रुपमा हेर्ने हो भने समाजमा हुने सांस्कृतिक क्रियाकलापहरु भड्किला, समूहका मानिसहरू भन्दा फरक पुराना पुस्ताका मानिसलाई मन नपर्ने गित संगितहरु, चलचित्रहरू बन्ने गरेका छन् । नवीन भाषा, साहित्य, संगीतको क्षेत्रमा युवापुस्ताको आकर्षण बढेको त छ तर पुराना पुस्ताका मानिसहरु आफ्नो भाषा कला, संस्कृति रहनसहन परम्परा रीतिरिवाज आदि कुराहरुमा वाक्क लाग्ने अवस्थामा पुगेको अवस्था छ । धार्मिक रूपमा मानिसहरु एकआपसमा अन्तरसम्बन्ध कायम गरेर सामाजिक सम्बन्ध स्थापना गर्दथे तर अहिले धर्मनिरपेक्षताको नाममा धार्मिक विविधताको कारण समाजमा धार्मिक हिंसाहरू बढ्दै गएका छन् जसले गर्दा मानिस सामाजबाट एक्लिएको छ । समन्याय अवस्था समाजमा देखिँदैन धार्मिक हिंसाहरू दिनप्रतिदिन बढ्दै गएका छन् । साम्प्रदायिक घटनाहरु बढ्दै जाँदा समाज एकता भन्दा विकृति विसंगतिहरु थपिँदै गएका छन् जसले गर्दा सामाजिक अन्तर सम्बन्धको जालो दिनप्रतिदिन पातलिन गई थप सकट सिर्जना भएको छ । पहिले समाजमा राजनीतिमा विश्वासको अवस्था राम्रो थियो । मान्छेले मान्छेलाई अति विश्वास गर्ने गर्दथे । अहिले धर्मको नाममा राजनीति हुने गरेको छ । जीवनका हरेक पाइलामा राजनीति छ तर अर्थ बिनाको राजनीतिको काम नहुने, चुनावको बेलामा दवाव सिर्जना गरेर भोट माग्ने, रक्सी, मासु, चन्दा, उपहार आदि सिर्जना गरेर चुनाब जितेर जाने तर जनतालाई नहेर्ने कारण राजनीति प्रर्ति जन विश्वास गुम्दै गएको छ । जनताहरु नेताहरुलाई देख्दा वाक्क मान्न,े राजनीतिप्रति बितृष्णा व्यक्त गर्ने गरेको पाइन्छ । नेपाली समाजमा राजनीतिलाई रणनीतिको रुपमा नलिनु र आफ्नो स्वार्थको लागि राजनीति गर्नुले यो अवस्था सिर्जना भएको पाइन्छ । यस्तै गरी भाषाको क्षेत्रमा अहिले पश्चिमी संस्कृतिको विकास र प्रभाव पर्दै गएको छ । गाउँ घर देखी शहर बजारसम्म बुढाबुढी देखि युवायुवतिहरुले नेपाली भाषाको प्रयोग कम गर्दै गएका छन् । बुढाबुढीहरुले पनि अंग्रेजी भाषा मिसाएर बोल्ने गरेको पाइन्छ जसले गर्दा नेपाली मौलिक भाषाको कम हुँदै जाँदा भोलि भाषिक संकट पनि देखिने अवश्य अवस्थामा आउँदछ । नयाँ पुस्ताले पुरानो पुस्ताको अनुभवलाई आत्मासात नगर्दा पुस्ता हस्तान्तरणको समस्यासंगै अनेकौ समस्या थपिने देखिन्छ । अहिलेका बालबालिकालाई दुध कहाँबाट आउँछ भन्दा डेरीबाट, चामल कामबाट आउँछ भन्दा पसलबाट, गुन्द्रुक कहाँ फल्छ गुन्द्रुकको रुख कत्रो हुन्छ भन्ने प्रश्नहरु गर्नुले नयाँपुस्ताले नेपाली समाजको वास्तविकतालाई बुझ्न नसक्दा थप संकट सिर्जना हुने देखिन्छ । मौलिकपनसँगै स्थानीय उत्पादन, भाषाका कला,सांस्कृति पक्षमा सकट हुने देखिन्छ । बागलुङको सन्दर्भमा भन्नुपर्दा यहाँको बुट्टेनली हराइसकेको छ । बाँसको काइयो हराएको प्रयोग कम हुने गरेको छ ।
धार्मिक र सांस्कृतिक क्रियाकलापमा पश्चिमा उत्पादनहरूको प्रयोग बढ्दै जाँदा स्थानीय उत्पादन हराउँदै गएको छन । अहिले काजकिरिया, विवाह, व्रतबन्ध जस्ता धार्मिक सांस्कृतिक क्रियाकलापहरु पार्टी प्यालेसहरुमा गर्दा मौलिकपन हराउँदै गएको छ र नयाँ पुस्ताले ग्रामीण वास्तविकतालाई नबुझ्दा धर्म संस्कृतिमा आघात पुग्ने देखिन्छ । नेपाली समाजमा अहिले मात्र नभएर पहिले देखिने वर्ग निर्माणको प्रक्रिया अगाडि बढेको छ वर्गीय संरचनासँगै विभिन्न किसिमका समस्याहरु देखिन आएकोले यसबाट सिर्जित समस्याहरूको व्याख्या विश्लेषण गरी समाधानका बिकल्पहरु खोज्नु पर्ने बेला आएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, भौगोलिक आदि क्षेत्रमा वर्गीय समस्याहरु रहेका छन् । यिनै विभिन्न वर्गहरूका कारणले समाजमा असमानताहरु सिर्जना भएका छन् ।
नेपाली समाज अहिले पनि परापूर्वकालदेखि मान्दै आएका विभिन्न विश्वास प्रथा, परम्परा रहनसहन, रीतिरिवाज आदिले भूमिका खेल्दै आएका छन् भने वर्तमान विकास निर्माणका कार्य पनि वर्गीय विभेदको सिर्जना गरेको देखिन्छ । गाउँमा मोटरबाट पुर्याउने तर आम्दानी नभएका मानिसहरु पहिला हिँडेर गाउँबाट सदरमुकाम आवत जावत गर्दा सामान्य खर्चले पुग्ने गरेकोमा अहिले गाउँको सबै पैसा गाडीले खाइदिएको गुनासो पनि सुनिने गरेको पाइन्छ जसले गर्दा ग्रामीण क्षेत्रमा उत्पादन भन्दा उपभोगवादी व्यवस्थाको विकास भएको छ । मानिसहरु आम्दानी गर्नभन्दा खर्च गर्नमा बढी विवश हुनु परेको तथ्यलाई नर्कान सकिदैन र ग्रामिण जन जीवनमा जटिलता दिनहुँ थपिँदै आएको तथ्यलाई ग्रामीण बासीले गर्दैआएका छन् । अहिले स्थानीय उत्पादन कमी भएको छ भने गाउँमा पनि सहरको रासायनिक उत्पादन आउने गरेको छ । गाउँका परम्परागत मूल्य मान्यताहरू, रीतिरिवाज, रहनसहन, परम्परा, धर्म संस्कृति, अर्मपर्म, सामाजिक लेनदेन जस्ता मूल्य मान्यताहरुलाई अहिले क्रमश भुल्नै आएको अवस्था छ जसले गर्दा हाम्रो मौलिक संस्कृति गुम्ने खतरा बढ्दै आएको छ । सामाजिक सम्बन्धमा हुने विभिन्न परिवर्तनहरुलाई सामाजिक परिवर्तनको नियमको रुपमा लिने गरिन्छ । यस्तो नियम परम्परागत समयदेखि अहिलेसम्म चल्दै आएको छ र यस्ता सामाजिक संरचनामा परिवर्तन हुँदै आएको अवस्था छ ।
समाजमा परम्परागत समयदेखि नै हालसम्म परिवार नातासम्बन्ध, आर्थिक संगठन, राजनीतिक सङ्गठन, धार्मिक, उत्पादनका स्रोत साधन जस्ता विभिन्न विषयहरुमा परिवर्तन हुँदै आएको छ । यसरी हुँदै आएको परिवर्तनलाई हामी सामाजिक परिवर्तन भन्दछौं । यो सर्वव्यापी नियम हो र यो निरन्तर रूपमा चलिरहन्छ । यसको सामान्य नियम हो भने यो सामुदायिक परिवर्तनसँग सम्बन्धित रहन्छ । यसले समाजको रुपान्तरणमा योगदान पु¥याएको हुन्छ भने यसको गतिमा एकरूपता नहुन सक्दछ । यो शृंखलाबद्ध परिवर्तनको एउटा प्रक्रिया हो । यसैगरी सांस्कृतिक परिवर्तन पनि हाम्रो समाजमा हुने गरेको छ सामाजिक मूल्य मान्यता परम्परा संस्कार भाषा कला संस्कृति भेषभुषासगै उत्पादनका तौर तरिकाहरुमा र नैतिक पक्ष सोच बिचार दृष्टिकोणमा आज परिवर्तन हुँदै आएको हुन्छ । यसलाई नै हामी सांस्कृतिक परिवर्तनको रुपमा लिने गर्दछ र सांस्कृतिक परिवर्तनले गर्दा पनि समाजमा समाजको रुपान्तरण हुने गरेको पाइन्छ । समाज सूचना तथा प्रबिधिको विकास र अनुशरणलाई आत्मसात गर्दा मौलिकपन जीवन्त हुन नसक्ने अवस्था सिर्जना गरेको छ । प्रविधिलाई आत्मसात गर्नु र प्रविधिसँग भित्रिएका विभिन्न पक्षहरुलाई सकरात्मक रुपमा अंगिकार गर्न सक्यो भने मात्र त्यो समाजका व्यक्ति र राष्ट्र सबल हुन सक्ने हुँदा नयाँ नयाँ प्रविधीले विकासमा पु¥याएका सकरात्मक र नकरात्मक पक्षहरु, सम्भावना र चुनौतीहरुको थप बिश्लेषण हुन जरुरी छ ।
गाउँगाउँमा डोजर लगाएर बाटो खन्ने कुरा, हलोको ठाउँमा मिनिटेलर प्रयोग गर्ने खोज्दै हिँड्ने समाजमा दाउरा छाडी ग्यास चुलो जस्ता विभिन्न प्रविधिहरूको विकास हुँदै जानु समाज रुपान्तरणको गतिमा बिस्तारै परिवर्तन भएको पाइन्छ । यस्ता परिवर्तनहरूसँगै जीवनलाई सरल देखि जटिलतातर्फ पु¥याएको हुँदा नै जटिलताहरु भित्र आफूलाई अनुकूल बनाउन सकेको खण्डमा मात्र मानव सभ्यता र मानव जीवन सफल हुन सक्ने देखिन्छ । हरेक समाजले परिवर्तनको अपेक्षा गरेको हुन्छ र त्यस्ता परिवर्तनहरु हुनको लागि व्यवहारिक शिक्षा, वैज्ञानिक सोच विचार वा प्रविधीको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक तत्वहरुले यसमा महत्वपूर्ण भूमिकाहरु खेलेका हुन्छन् । वर्तमान समयमा स्वास्थ्य सम्बन्धी सचेतता, वातावरणीय संरक्षण, हिंसा हत्या विरुद्धका अभियानहरु छुवाछुत र जातीय विभेद अन्त, मानवअधिकारको संरक्षण, लैङ्गिक समानता, महिला जागरण वृद्धवृद्धाहरूको संरक्षण, अनिवार्य शिक्षा, वृद्धवृद्धाहरूको अनुभवको हस्तान्तरण जस्ता सामूहिक प्रयासहरु हाम्रो समाजमा हुँदै आउन आवस्यक छन् । यसबाट समाज रुपान्तरणको प्रक्रियासँगै समाजलाई दिगो रुपमा विकास गर्ने कुराहरूको पनि खोजी हुँन जरुरी छ । यसरी स्थानीय उत्पादनहरूको प्रयोग आन्तरिक ज्ञान, सीप र तरिकाहरूको संस्थागत प्रर्योग गर्ने सवालमा आज गाउँलाई व्यवस्थित ढंगले सचेत बनाउन सकेको खण्डमा सामाजिक रुपान्तरणले विश्वव्यापी प्रभावहरुलाई रोक्न मद्दत पु¥याउने छ अन्यथा विश्वमा आएका विभिन्न विकृति विसंगतिहरुलाई सहि प्रयोग गर्न नसक्दा समाज रुपान्तरणमा भन्दा अन्तर्राष्ट्रिय संक्रमणबाट परनिर्भरता बढ्दै जाने खतरामा रुमलिन सक्दछ । त्यसैले सामाजिक परिवर्तनका नियमहरुलाई आत्मसात गर्दै योजनगत विकासका प्रयासहरु गर्न सकेमा मात्र सामाजिक, सांस्कृतिक, लेनदेनका सम्भावनाहरुको खोजी गरी त्यसभित्र रहेका विकृति विसंगति र जटिलताहरुलाई हटाएर जान सकिन्छ । जसबाट कालन्तरमा हुने खतराहरुलाई अहिले निराकरण गर्न सकिन्छ र समाजलाई सचेत ढंगले रुपान्तरण गर्न सकिने देखिन्छ । अन्यथा परनिर्भरताको चक्रमा रुमलिन र देशलाई गतिशील बनाउन नसकि पेशागत आत्मसम्मान र आत्मबलको विकास गर्न नसकिने सामाजिक सांस्कृतिक आर्थिक रुपमा अन्य राष्ट्रसँग परनिर्भर हुनुपर्ने अवस्था सिर्जना हुनसक्ने भएको कारणले कृषिमा भएको गुजरा प्रणालीको अन्त्य गरी सकारात्मक रूपमा टेवा पुर्याउन सकेको खण्डमा उत्पादनका स्रोत साधनहरुमा व्यवसायिकता काम गर्न र नगद आर्जन गर्नमा जोड दिएर समाजलाई रुपान्तरण गर्न सकिन्छ समाजलाई सही ढंगले अगाडि बढाउनको लागि विद्यमान सामाजिक सांस्कृतिक व्यवहारमा अनिवार्य परिवर्तन ल्याउनु पर्दछ । पुराना पुस्ताको दृष्टिकोण र व्यवहारमा नयाँ पिँढीको मान्यता र शैलीको सही स्थान पाउनु पर्दछ भने पुराना मूल्यमान्यता र अनुभवलाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्दछ । अन्यथा समाजमा पुस्ता हस्तान्तरणको अभावसँगै पुस्ता ावेशको द्वन्द दमन शोषण र विभेदको चक्रमा समाज पर्न सक्दछन् । एउटा व्यवस्थाको परिवर्तनले अर्को व्यवस्थालाई अंगिकार गर्न नसक्ने हो भने समाजमा आमुल परिवर्तन हुन सक्दैन र समाजले क्रान्तिकारी बाटो लिन र अवलम्बन गर्न सक्दैन । समाजमा विभेद दमन शोषण अत्याचार आदिको अन्त्य गर्न गर्नुपर्दछ । सामाजिक विविधताहरुको विश्लेषण नेपाली समाजले गरी एउटै विकास नीति र विकासका कार्यक्रमहरुलाई अंगीकार गरी समाजलाई समान किसिमले विकास गर्नु पर्दछ ।
समाजको विविधताको विश्लेषण गर्न समाजशास्त्रीय ज्ञानको खाँचो पर्दछ जसले गर्दा धर्म संस्कृति कार्यप्रणाली रहनसहन, भाषा, कला, साहित्य, संगीतमा जनजाति आदिवासी स्थानीय ज्ञानको प्रयोग गरेका तिनीहरूको समुचित प्रयोगसँगै सामयिक पहिचान तिनीहरूको संरक्षण र विकासका लागि मानवशास्त्रीय विकासको खाँचो पर्ने हुँदा समाजशास्त्रिय र मानवशास्त्रिय ज्ञानको प्रयोग गरेर राजनीति ,अर्थतन्त्र सामाजिक व्यवहार समाजको रुपान्तरण गर्न सकिने हुँदा यसतर्फ समयमा नै ध्यान पुर्याउन आवश्यक छ । यसको लागि विकासमा जनसहभागिताको आवश्यकता पर्दछ विकास वास्तवमा हामी सबैको लागि हो यो राज्यको काम मात्र होइन भन्ने भावना जबसम्म समाजमा सचेतना फैलन सक्दैन तबसम्म समाजको विकास सम्भव हुँदैन । यस्तै गरी स्थानीय स्रोतसाधनको परिचालन गर्नको लागि सहयोग जुटाउनको लागि सकल्प पहिला आफूले गर्ने यसमा मेरो जिम्मेवारी के छ भन्ने आत्मबोध गराउन नसकेसम्म समाजको रुपान्तरण सम्भव छैन । योजनाको निर्माण मात्रै भएर हुँदैन योजनाको महत्व पुर्ण र पारदर्शीता तरिकाले कार्यान्वयन गर्न स्थानीय सीप, क्षमता र दक्षताको प्रयोग गरी सफलता हसिल गर्न सक्नु पर्दछ । प्राकृतिक समस्याहरूको समाधान गर्नको लागि सबैभन्दा पहिला आत्मबल, मानवहरु बीचको एकताका कुराहरुलाई अंगिकार गर्न सकेको खण्डमा मात्रै हामी सफल हुन सक्दछौं ।
अब हामीले यसको लागि सामाजिक श्रम, शारीरिक श्रम, नैतिक समर्थन र आर्थिक सहयोग, जनसहभागिता कुराहरुमा सबैभन्दा पहिला जोड दिनुपर्दछ र स्थानीय स्रोत साधनको विकासका लागि जन सहभागिता र भएका स्रोतको संरक्षण र सदुपयोग गर्न सक्नु पर्दछ । प्राचीनकालदेखि अहिलेसम्म भएका विकासका परिवर्तनहरुलाई विश्लेषण गरी विकास केवल जनताहरुको लागि हो यसमा तल देखि माथि माथिदेखि तल दोहोरो सम्बन्ध हुनु पर्दछ र देखावटी रुपमा विकास नभई वास्तविक रुपमा विकासलाई अंगिकार गर्न सक्ने अवस्था सिर्जना हुनु पर्दछ । निर्णय प्रक्रियामा जन सहभागिता नभएसम्म समाज विकासको यथार्थको नियम लागू हुन नसक्ने हुँदा यस तर्फ सबै सम्बद्ध निकायहरु लागेर जिम्बेवार रुपमा काम गर्नुपर्ने देखिन्छ । शतिmको दुरुपयोग, गलत अनुगमन र मूल्यांकन प्रणाली कागजे रुपमै योजना निर्माण असफल कार्यान्वयनले गर्दा अहिले समाजको विकासको गति यथार्थता रुपमा हुन सकेको छैन । त्यसैले कार्यस्थलमा नगई काम गर्ने परिपाटी बन्द गर्दै जन सहभागिता विना कुनैपनि काम नगर्ने परिपाटीको थालनी नभएसम्म समाजमा रहेका यस्ता बिकृतिहरु अपारदर्शिता भ्रष्टाचार मानिस यस्ता समस्याहरु समाधान हुन सक्दैन । यसको लागि समाजको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक। जनसंख्या जस्ता विविध पक्षको अध्ययन अनुसन्धान गरेर मात्रै समाजको रुपान्तरण परिवर्तनका लागि हामी सबै एक हुनु पर्दछ । वर्तमान समाजमा देखिएका गरिबी, अशिक्षा, बेरोजगार सम्बन्धविच्छेद, हत्या, हिसा, बलात्कार, बेश्यवृत्ति, सडक बालक, कमैया प्रथा, हली प्रथा, डकैतीको लगायतका अनेकौं समस्याहरूको अध्ययनअनुसन्धान विना समस्या समाधान हुन नसक्ने हुँदा यसको वास्तविकतामा पुगेर मात्र समस्या समाधान गर्नतर्फ लाग्नु पर्दछ । यसैगरी बिरामी हुँदा धामीझाक्री उपयोग गर्ने , बोक्सीमा विस्वासगर्ने समाजमा न्याय सम्पादन गर्ने अप्ठेरो स्थिति छ भने भोकमरी समस्याबाट पार लगाउनको लागि समाजमा सचेतनाको आवश्यक पर्दछ सचेतनाको लागि हामी एकढिक्का भएर लाग्नुपर्ने देखिन्छ ।