कोरोना संकटमा आदर्शको अभियान

दिपकराज सापकोटा
प्रबन्धक

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बागलुङ

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढ्दो अवस्था र लकडाउनको समयमा पनि हामीहरुले हाम्रा सदस्यहरुलाई कोरोनाबाट सुरक्षित रहनका लागि आवश्यक जानकारीका बारेमा सचेत बनाउने, फोन सम्पर्क गरी सदस्यको अवस्था र स्थितिको बारेमा बुझ्ने तथा स्वास्थ्य तथा खाद्यान्नका लागि आवश्यक भएमा सम्पर्क व्यक्ति तोकी सेवा सुविधा दिएका थियौं । कर्मचारीहरुको सुरक्षाको ख्याल गरेर माक्स, सेनिटाइजर, ग्लब्स, लेजरगनको प्रयोग गरी काम गर्नुका साथै सबै कर्मचारीहरु र सञ्चालकहरुको १ लाख बराबरको निःशुल्क कोरोना बीमा तथा सदस्यहरुका लागि ५० प्रतिशत छुटमा कोरोना बीमा गर्नुका साथै लकडाउन अवधिभरमा ब्याजको १५ प्रतिशत छुटको व्यवस्था गरेका थियौं । यस बीचमा हाम्रो सहकारीले धौलागिरी जागरणको दैनिकको १३ औं वार्षिकोत्सवको खर्च जोगाएर म्यागासेसे पुरस्कार बिजेता महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई नगद रु. २१,१११।– सहयोग, अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङमा दराज सहयोग, राष्ट्रिय सहकारी दिवसका अवसरमा यस वर्ष सहकारी दिवस औपचारिक रुपमा मनाउन नपाएपछि संस्थाले दिवसका लागि छुट्टयाएको रकम कोरोना विरुद्धको अभियानमा बागलुङ नगरपालिकालाई ५० हजार र काठेखोला गाउँपालिकालाई ५० हजार सहयोग, त्यस्तै असार २० गते ९८ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा काठेखोला गाउँपालिका ४ तंग्राम फापरखेत ठोट्नेरीमा पहिरोबाट विस्थापित परिवारलाई ३ महिनालाई पुग्ने गरी खाद्यान्न सहयोग गरेका थियौं । साथै आफ्ना शेयर सदस्यहरुलाई निःशुल्क विरुवा प्रदान गरिएको थियो । यस्तै संस्थाद्वारा सञ्चालित आदर्श सञ्चार अनलाइनको प्रथम वार्षिकोत्सवको अवसरमा वार्षिकोत्सवको खर्च कटाएर र सञ्चालक, कर्मचारी तथा सदस्यहरुको तर्फबाट संकलन गरी ढोरपाटन बाढी पीडितलाई आदर्श सञ्चारले १ लाख ७५ हजार रुपैया सहयोग गरेका छौं । यसरी लकडाउनको अवधीमा हामीले सदस्यहरुको सुरक्षा, स्वास्थ्य, खाद्यान्न, विमा सहित सामाजिक कार्यमा निरन्तर ध्यान दिएका छौ ।

सहकारी ऐन २०७४ अनुसार सहकारीहरुले पुस मसान्त भित्रमा साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ र हालसम्म सहकारीहरुलाई सबै भन्दा समस्याको कुरा नै साधारण सभा कसरी सम्पन्न गर्ने भन्ने छ । अहिलेको वर्तमान अवस्थामा बैठक तथा तालिमहरु अनलाईन मार्फत सम्पन्न भएका छन् । सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा साधारणसभाम गर्न संभव नभएपछि यसका विकल्पका बारेमा सञ्चालक समिति र व्यवस्थापनबीच छलफल चलिरहेको छ । संस्थामा २ हजार भन्दा बढी सदस्य भएकाले प्रतिनिधिमुलक साधारणसभा गर्न सकिने अवस्था पनि छ । यद्यपी साधारासभाका बारेमा सञ्चालक समितिले निर्णय गरी सकेको अवस्था छैन । पुस सम्मको समय भएकाले अझै केही समय हेरौ भन्ने नै छ । सहकारी विभागबाट सहकारीको साधारण सभाको विषयमा एउटा निर्देशिका आएको छ । भर्चुअल साधारणसभाको पनि छलफल छ भएको छ तर हाम्रा सदस्य धेरै ग्रामिण वस्तीमा भएका अनलाइनको सेवा सबैको पहुँचमा नभएकाले पनि सोच्नु पर्ने अवस्था छ । कोरोनाको अवस्था, विभागको निर्देशन, सहकारीको साधारणभा गर्ने समयसिमा लगायतलाई ध्यानमा राखेर साधारणसभा सम्पन्न गर्नका लागि हामी यतिबेला छलफलमै छौ ।

आदर्श सञ्चार सहकारी संस्था मुलत सूचना र सञ्चारको प्रवद्र्धनसंगै वित्तीय तथा सामाजिक कार्यमा केन्द्रीत रहेको छ । संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजन समेत सञ्चालनमा सहकार्य गर्दै आइरहेको छ । संस्थाले २०७० सालमा १० वर्षे रणनीतिक योजना बनाएर काम गर्दै आइरहेको छ । सूचना तथा सञ्चार, वित्तीय कारोबार र समुदायको हितमा हुने विभिन्न काम गर्ने संस्थाको अभ्यास निरन्तर नै छ । यद्यपी कोरोनाका कारणले गर्दा हामीहरुले तयारी गरेका विभिन्न योजना तथा कार्यक्रमहरु गर्न पाईरहेका छैनौं । हाम्रो संस्था कोरोना महामारीको अवस्थामा पनि हामीहरु हाम्रो लक्ष्य नजिकै पुगेका छौं र अझै हामीहरु सबै मिलेर धेरै मेहेनत गर्नुपर्ने आवश्यकता छ । हामीहरुले आर्थिक वर्ष २०७६/०७७ मा गरेका कामहरुको मूल्यांकन गरी आ.व. २०७७/०७८ मा गर्ने कार्यक्रमहरुको योजना बनाइरहेका छौं । यस आर्थिक वर्षमा हामीले विभिन्न स्थानीय तह तथा संघ संस्थासँग समन्वय गरी स्वास्थ्य, कृषि, र पर्यटनलाई प्राथमिकतामा राखी कार्यक्रमहरु तयारी गरेका छौं । संस्थामा हाल २ हजार बढी शेयर सदस्य, ४ करोड २५ लाख शेयर रकम, ३० करोड वचत, २६ करोड कर्जा लगानी रहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड ९४ लाख शेयर रकम, ४० करोड निक्षेप, ३८ करोड कर्जा लगानी गर्ने तथा सम्पत्ति ५० करोडको पु¥याउने लक्ष्य रहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो रहन सकेन । यसले गर्दा विशेषतः अर्थतन्त्रमा ठूलो समस्या ल्याएको छ । यस्तो संकटको अवस्थाबाट पनि हामीहरुले केहि सिक्न सकिन्छ । हाम्रो सहकारीमा आवद्ध भएका शेयर सदस्यहरु विभिन्न पेशा तथा व्यवसायमा आवद्ध हुनुहुन्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कोरोनाले असर पारेको समयमा सरकारी पक्षबाट कुनै पनि मानिसहरुलाई सहयोग नगरेको समयमा सहकारीहरुले ठूलो भूमिका निर्वाह गरेको छ । सहकारीको मुख्य काम आफ्ना सदस्यहरुको सेवा हो । सदस्यहरुलाई आयआर्जनतर्फ सक्रिय बनाउने, स्वास्थ्य लगायत खानपानमा हुने फजुल खर्च नियन्त्रण गर्ने, आफ्नो पेशा व्यवसायलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न उत्प्रेरित गर्ने र सदस्यहरुसंगको सहकार्यमा ध्यान दिन सकियो भने व्यक्ति कमाउने र जोगाउने बन्न सक्छ । सदस्यहरु लगायत आम समुदायमा रोग प्रतिरोधि क्षमताको विकासका लागि खानपान र व्यायामका तरिकाहरुका बारेमा सचेतना प्रदान गर्ने लगायतका काम गर्न सकियो भने आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्न सकिन्छ । सहकारीहरुले सदस्यहरुलाई स्वास्थ्यका विषयमा सचेतनासंगै व्यवसायालाई समय अनुसार अगाडि बढाउनका लागि सहयोग र समन्वय गर्न सक्नु पर्छ । सदस्यहरुलाई उत्पादन लगायत व्यवसायिक काममा केन्द्रीत गराउने, स्थानीय पालिका तथा वडाहरुसंग समन्वय गरी जनताले उत्पादन गरेको वस्तुहरुको संकलन र बजारीकरणको व्यवस्थापन गर्न सकियो भने आत्मर्निरतातर्फ अग्रसर हुन सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *